Skip to content
Opens in a new window
Listen to this chapter • 3:09

[1] के हामी फेरि आफ्नै प्रशंसा गर्न थालेका छौं? अथवा कोही मानिसहरूलाई झैं हामीलाई पनि तिमीहरूलाई वा तिमीहरूबाट सिफारिस पत्रहरूको आवश्यकता पर्छ?

[2] हाम्रा सिफारिस पत्र तिमीहरू आफै नै हौ; जुन हाम्रा हृदयमा लेखिएका छन्, र प्रत्येकले जानेका छन् र पढेका छन्।

[3] तिमीहरूले यो देखाउछौ, कि तिमीहरू ख्रीष्‍टका पत्रहरू हौ, हाम्रा सेवाका प्रतिफलहरू हौ। तिमीहरू मसीले होइन, तर जीवित परमेश्‍वरका आत्माले लेखिएका, जो ढुङ्गाका पाटीमा होइन, तर मानवीय हृदयका पाटीहरूमा लेखिएका छन्।

[4] परमेश्‍वरको अघि ख्रीष्‍टद्वारा हाम्रो यस्तो भरोसा छ।

[5] हामीले आफैमा दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ।

[6] उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभयो। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा, किनकि लिखित नियमले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ।

[7] अब यदि ढुङ्गामा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो, अनि त्यो महिमासाथ आयो, त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार सीधै हेर्न सकेनन्; यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने,

[8] के आत्माको जीवन दिने सेवा अझ महिमामय हुनेछैन र?

[9] मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय छ!

[10] तर एकपटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमासित गर्दा अब त्यसको केही महिमा छैन।

[11] अनि यदि बितेर जाने महिमासाथ आए भने, सधैं रहिरहनेचाहिँको महिमा कति महान् होला!

[12] यसकारण हामीसित यस्तो आशा भएकोले अत्यन्त साहसी भएका छौं।

[13] हामी मोशाजस्ता होइनौं, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे।

[14] तर इस्राएलीहरूको मन मन्द बनाइएको थियो; किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यही घुम्टोले ढाकिरहेकै छ; यो हटाइएकै छैन, किनकि ख्रीष्‍टमा मात्र यो हटाइन्छ।

[15] आज पनि यदि मोशाका पुस्तकहरू पढिन्छ भने तिनीहरूको हृदयलाई एउटा घुम्टोले ढाकेको हुन्छ।

[16] तर जब कोही प्रभुतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ।

[17] अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।

[18] अनि हामी, जसले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौं, प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौं, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।

2 कोरिन्थी — Chapters