Skip to content
Opens in a new window
Listen to this chapter • 3:31

[1] म पावल ख्रीष्‍टको नम्रता र भद्रताद्वारा तिमीहरूलाई यो विन्ती गर्दछु, कि तिमीहरूका सामुन्‍ने हुँदा म “भद्र” हुन्छु, तर टाढा हुँदाचाहिँ तिमीहरूप्रति “साहसिलो” हुन्छु।

[2] म तिमीहरूलाई विन्ती गर्छु, कि म त्यहाँ आउँदा हामी यस संसारको नापले जिउँछौं भन्‍ने कति मानिसहरूप्रति म जति साहसिलो छु, त्यस्तै हुन नपरोस्।

[3] किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौं।

[4] हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। यसको विपरीत गढहरू भत्काउनलाई हाम्रा हतियारहरू चाहिँ ईश्‍वरीय शक्‍तिमा हुन्छन्।

[5] हामी परमेश्‍वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू भत्काउँछौं, अनि ख्रीष्‍टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौं।

[6] अनि तिमीहरूको आज्ञाकारीता पूर्ण हुन्छ, हामी अनाज्ञाकारीताको प्रत्येक कामलाई दण्ड दिनेछौं।

[7] तिमीहरूले बाहिरी कुराहरूलाई मात्र हेरिरहेका छौ। यदि कसैलाई “म ख्रीष्‍टको हुँ” भन्‍ने आत्मविश्‍वास छ भने, त्यसले यो पनि ठानोस् कि, हामी पनि ऊ जत्तिकै ख्रीष्‍टका हौं।

[8] प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्‍नेछैनँ, किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक बनाउनलाई दिनुभएको हो।

[9] म तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउन खोजेको जस्तो देखिन चाहन्‍नँ।

[10] किनकि कतिले भन्छन्, “उसका पत्रहरू त गहकिला र प्रभावशाली हुन्छन्, तर व्यक्‍तिगत रूपमा ऊ प्रभावहीन र बोली पनि व्यर्थको छ।”

[11] यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौं, हामी उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौं।

[12] आफ्नै तारीफ गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौं। यदि तिनीहरूले आफैले आफूसित नाप्छन् र आफ्नो तुलना आफैसित गर्छन्, भने तिनीहरू बुद्धिमान् होइनन्।

[13] हामी सीमा नाघेर घमण्ड गर्दैनौं, तर परमेश्‍वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौं, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ।

[14] यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्‍टको सुसमाचार लिएर आयौं।

[15] न ता हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहन्छौं। हाम्रो आशाचाहिँ यही हो, कि जब तिमीहरूको विश्‍वास बढ्दै जान्छ, त्यस्तै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि ज्यादा बढ्नेछ,

[16] जसमा हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौं। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौं।

[17] तर, “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”

[18] किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर त्यही मात्र, जसको प्रशंसा प्रभुले गर्नुहुन्छ।

2 कोरिन्थी — Chapters