Skip to content
Opens in a new window
Listen to this chapter • 3:55

[1] यसकारण प्रिय मित्रहरूहो, हामीहरूसित यी प्रतिज्ञाहरू भएकाले परमेश्‍वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौं।

[2] तिमीहरूका हृदयमा हाम्रो लागि ठाउँ राख। हामीले एउटैको पनि खराबी गरेका छैनौं, एउटैलाई पनि भ्रष्‍ट पारेका छैनौं, अनि एउटैलाई पनि शोषण गरेका छैनौं।

[3] म यो तिमीहरूलाई दोष लगाउनलाई भन्दिनँ; मैले पहिल्यै भनेको छु, हाम्रा हृदयमा तिमीहरूको यस्तो स्थान छ, कि हामी तिमीहरूसितै बाँच्न अथवा मर्न तयार पनि छौं।

[4] तिमीहरूमाथि मेरो ठूलो विश्‍वास छ, मलाई तिमीहरूमाथि गर्व छ। म धेरै उत्साहित भएको छु, अनि हाम्रा सबै सङ्कष्‍टहरूमा मेरो आनन्दको सीमा छैन।

[5] किनकि जब हामी म्यासिडोनियामा आएका थियौं, तब हाम्रो शरीरलाई विश्राम थिएन, तर बाहिर संघर्ष अनि भित्र डर भएकाले चारैतिरबाट पीडित भएका थियौं।

[6] तर हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो,

[7] अनि तिनी आएकाले मात्र होइन, तर तिमीहरूले तिनलाई दिएका सान्त्वनाले पनि हामीलाई सान्त्वना मिल्यो। तिनले मप्रति तिमीहरूको चाहना र गहिरो दुःख र वास्ताबारे बताए, र मेरो आनन्द अझै बढी भयो।

[8] मैले मेरो पत्रद्वारा तिमीहरूलाई दुःख पुर्‍याए तापनि मलाई यसको पछुतो छैन। मैले पछुतो गरे पनि मेरो पत्रले तिमीहरूलाई केही क्षण मात्र चोट पुर्‍याएको देख्छु,

[9] तर तिमीहरू दुःखी भएकोमा होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याएकोमा अब म खुशी छु। किनकि तिमीहरू परमेश्‍वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन।

[10] ईश्‍वरीय दुःखले पश्‍चात्ताप ल्याउँछ, जसले मुक्‍तितिर डोर्‍याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु ल्याउँछ।

[11] हेर, यो ईश्‍वरीय दुःखले तिमीहरूमा के उत्पन्‍न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तृष्णा, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ।

[12] यसकारण मैले तिमीहरूलाई त्यो पत्र लेखे तापनि तिमीहरूले खराबी वा अत्याचार गर्‍यौ भनेर लेखा लिने जस्तो गरी त होइन, न त दोष लगाइएकोलाई झैं, बरु हामीप्रति तिमीहरूको उत्साह कस्तो छ भनी परमेश्‍वरको सामु आफूले देख्न सक भनेर हो।

[13] त्यसैले यी सबैबाट हामी उत्साहित बनेका छौं। हाम्रा आफ्नै उत्साहबाहेक, विशेष गरी तीतस कति आनन्दित थिए, त्यो हेर्न पाउँदा हामी खुशी भयौं, किनकि तिनका आत्मा तिमीहरू सबैद्वारा ताजा भएको थियो।

[14] मैले तिनीसित तिमीहरूको विषयमा गर्व गरेको थिएँ, अनि तिमीहरूले मलाई लाजमा पारेनौ, तर हामीले तिमीहरूलाई भनेका सबै कुरा साँचो हुनाले, हामीले तीतससित तिमीहरूबारे गर्व गरेको पनि साँचो साबित भएको छ।

[15] तिमीहरू सबै आज्ञाकारी थियौ अनि तिमीहरूले तिनलाई डर र कम्पसाथ ग्रहण गर्‍यौ भनी जब तिनले सम्झन्छन्, तब तिमीहरूप्रति तिनको स्‍नेह अझ बढेर जान्छ।

[16] तिमीहरूमाथि सम्पूर्ण रूपले भरोसा राख्न सक्छु भनेर म खुशी छु।

2 कोरिन्थी — Chapters