Skip to content
Opens in a new window
Listen to this chapter • 3:26

[1] परमेश्‍वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्‍टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्‍नालाई प्रकट गराउनुभयो ।

[2] परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।

[3] अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्‍छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्‍यो मानिस धन्‍यको हो, किनकि समय नजिक छ ।

[4] यूहन्‍नाबाट एसियामा भएका सात वटा मण्डलीलाईः जो हुनुहुन्‍छ, हुनुहुन्‍थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्‍ति, र उहाँको सिंहासनका सामु भएका सात वटा आत्मा,

[5] अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वासयोग्य गवाही हुनुहुन्‍छ, मृतकहरूमध्‍येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्‍छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्‍छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्‍त्र पार्नुभयो ।

[6] उहाँले हामीलाई एउटा राज्‍य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्‍वरका निम्ति पूजाहारीहरू, जसलाई सदासर्वदा महिमा र शक्‍ति होस् । आमेन ।

[7] हेर, उहाँ बादलमा आउँदै हुनुहुन्‍छ । हरेक आँखाले उहाँलाई देख्‍नेछ, उहाँलाई घोच्‍नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन ।

[8] सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्‍त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ ।

[9] म तिमीहरूका दाजु यूहन्‍ना र जसले राज्‍य र कष्‍टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।

[10] प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्‍तै एउटा आवाज सुने ।

[11] “त्‍यसले भन्‍यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सात वटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”

[12] कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सात वटा सुनका सामदान देखेँ ।

[13] सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्र जस्‍तै त्‍यहाँ एक जना हुनुहुन्‍थ्यो ।

[14] उहाँको शिर र कपाल ऊन अनि हिउँ जस्‍तै सेता र उहाँका आँखा आगोको ज्वाला जस्‍तै थिए ।

[15] उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाज जस्‍तै थियो ।

[16] उहाँको दाहिने हातमा सात वटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।

[17] जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिस जस्‍तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्‍तिम म नै हुँ ।

[18] म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्‍छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन् ।

[19] त्‍यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।

[20] मेरो दाहिने हाततिर तिमीले देखेका सात वटा तारा र सात वटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सात वटा तारा सात वटा मण्डलीका दुतहरू र सात वटा सामदान सात वटा मण्डली हुन् ।”

यूहन्‍नालाई भएको प्रकाश — Chapters