Skip to content
Opens in a new window
Listen to this chapter • 2:12

[1] जब थुमाले सातौँ मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्‍नाटा छायो ।

[2] त्‍यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सात वटा तुरही दिइयो ।

[3] अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्‍वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो ।

[4] विश्‍वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्‍वरको अगाडि पुग्यो ।

[5] स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्‍यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्‌याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो ।

[6] तब सात वटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्‍नलाई तयार भए ।

[7] पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्‍यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्‍यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो ।

[8] दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाड जस्‍तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्‍यो ।

[9] त्‍यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्‍ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्‍ट भए ।

[10] तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँको जस्‍तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो ।

[11] त्‍यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्‍यो तितो भएको पानीबाट धेरै मानिस मरे ।

[12] चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्‍यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्‍द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्‍योति भएन ।

[13] अनि मैले हेरेँ, र आकाशको बीचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्‍दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्‍नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्‍ने मानिसहरूलाई धिक्‍कार, धिक्‍कार, धिक्‍कार ।”

यूहन्‍नालाई भएको प्रकाश — Chapters