Skip to content
Opens in a new window
Listen to this chapter • 2:47

[1] जब थुमाले सात वटा छापमध्‍ये एउटालाई खोल्‍नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्‍ये एक जनाले गर्जनको आवज जस्‍तोमा “आऊ” भनेको मैले सुनेँ ।

[2] मैले हेरेँ र त्‍यहाँ एउटा सेतो घोडा थियो । त्‍यसमाथि चढ्नेले एउटा वाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो । अनि जित्‍नेले जस्‍तै गरी उनी विजयी गर्नलाई आए ।

[3] जब थुमाले दोस्रो छापलाई खोल्‍नुभयो, तब मैले त्‍यो दोस्रो जीवित प्राणीले “आऊ” भनिरहेको सुनेँ ।

[4] तब अर्को अग्‍निमय रातो घोडा निस्केर आयो । त्‍यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्‍ति लिएर जानलाई अनुमति दिइएको थियो । त्‍यसकारण, ती मानिसहरूले एक-अर्कालाई मार्नेछन् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।

[5] जब थुमाले तेस्रो छापलाई खोल्‍नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनेँ । मैले एउटा कालो घोडालाई देखेँ, र यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए ।

[6] मैले चार जीवित प्राणीका बीचमा एउटा आवाज जस्‍तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्‍यालामा एक किलो गहूँ र एक दिनको ज्‍यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्‍ट नगर्नू ।”

[7] जब थुमाले चौथो छापलाई खोल्‍नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ ।

[8] तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्‍यु थियो, र पातालले त्‍यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्‌गली जनावरलाई मार्न अधिकार दिइएको थियो ।

[9] जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ ।

[10] तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्‍याय गर्नुहुन्‍न ?”

[11] तब तिनीहरू हरेकलाई एउटा सेतो वस्‍त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरू जस्‍तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।

[12] जब थुमाले छैटौँ छापलाई खोल्‍नुभयो, तब त्‍यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडा जस्‍तै कालो र चन्‍द्रमा पुरा रगत जस्‍तै बन्‍यो ।

[13] जसरी अञ्‍जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरे जस्‍तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।

[14] आकाश चर्मपत्रको मुट्ठो जस्‍तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्‍यसको ठाउँदेखि हटेर गए ।

[15] तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बीचमा र गुफाहरूमा लुके ।

[16] तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस ! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।

[17] किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्‍यहाँ को उभिन सक्छ र ? ।”

यूहन्‍नालाई भएको प्रकाश — Chapters