Skip to content
Opens in a new window
Listen to this chapter • 4:46

[1] येशू ख्रीष्‍टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्‍वर पितामा प्रिय अनि येशू ख्रीष्‍टको निम्ति राखिएकाहरूलाई,

[2] अनुग्रह, शान्‍ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस् ।

[3] प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्‍न प्रयत्‍न गर्दा, विश्‍वासीहरूलाई सधैँको निम्ति दिइएको विश्‍वासको लागि साँचो रूपमा सङ्‌घर्ष गर्न उपदेश दिनलाई मैले तिमीहरूलाई यो लेख्‍न आवश्यक भयो ।

[4] किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्‍त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए । यी परमेश्‍वरको भय नमान्‍ने मानिसहरू हुन् जसले परमेश्‍वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्‍ट पार्दछन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन् ।

[5] तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भए, तापनि अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्‍छु, कि परमेश्‍वरले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछि विश्‍वास नगर्नेहरूलाई उहाँले नष्‍ट गर्नुभयो ।

[6] आफ्नो अधिकारको प्रतिष्‍ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्‍यागेका स्वर्गदूतहरूलाई परमेश्‍वरले अनन्‍तका साङ्लाहरूमा त्‍यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्‍नुभएको छ ।

[7] यो त सदोम र गमोरा र वरपरका सहरहरू जस्‍तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्‍तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए ।

[8] तर यस्तै प्रकारले, यी सपना देख्‍नेहरूले पनि आ-आफ्ना शरीरहरूलाई दूषित गर्दछन् । तिनीहरूले अधिकारलाई इन्कार गर्दछन्, र महिमितहरूको विरुद्धमा निन्‍दा गर्ने कुराहरू भन्‍दछन् ।

[9] तर प्रधान दूत मिखाएलले पनि दुष्‍टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्‍यससँग विवाद गर्दा, त्‍यसको विरुद्धमा निन्‍दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन् !”

[10] तर यी मानिसहरूले आफूले नबुझ्‍ने कुराहरूको विरुद्धमा निन्‍दा गर्दछन् । र यिनीहरूले बुझ्‍ने कुराहरू जुन विवेकहीन पशुहरूले स्वाभाविक रूपमा जान्‍दछन् यी कुराहरूले नै यिनीहरूलाई नष्‍ट गरेका छन् ।

[11] धिक्‍कार तिनीहरूलाई ! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन् ।

[12] तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्‌कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्‍ज रूपमा भोज खान्‍छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्‍छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।

[13] तिनीहरू समुद्रका भयङ्‌कर छालहरू हुन्, जसले आफ्ना निर्लज्‍जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्‍त अँध्‍यारोको घोर अन्धकार साँचेर राखिएको छ ।

[14] आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर ! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्‍छ ।

[15] उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्‍छ । परमेश्‍वरको भय नमान्‍नेहरूले ईश्‍वरहीन रूपमा गरेका सबै काम, र परमेश्‍वरको भय नमान्‍ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्‍छ ।”

[16] यिनीहरू असन्‍तोषीहरू, गनगन गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्दछन् ।

[17] तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर ।

[18] उनीहरूले तिमीहरूलाई यसो भने, “अन्‍त्‍यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउँछन् ।”

[19] यी फुट ल्याउने मानिसहरू हुन् । तिनीहरू सांसारिक हुन् र तिनीहरूसँग पवित्र आत्मा छैन ।

[20] तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबै भन्‍दा पवित्र विश्‍वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर ।

[21] तिमीहरू आफैँलाई परमेश्‍वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्‍टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्‍त जीवन ल्याउँदछ ।

[22] शङ्‌का गर्नेहरूसँग दयालु होओ ।

[23] अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ । अरूहरूसँग होशियारीसाथ दयालु होओ । शरीरद्वारा कलङ्‌कित भएको वस्‍त्रलाई समेत घृणा गर ।

[24] अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्‍नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्‌क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने,

[25] हाम्रा उद्धारक एक मात्र परमेश्‍वरलाई सारा समय भन्‍दा पहिलेदेखि, अहिले र अनन्‍तसम्म हाम्रा प्रभु येशू ख्रीष्‍टबाट महिमा, गरिमा, प्रभुत्व र शक्‍ति रहिहोस् । आमेन ।