[1] मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
[2] मैले धेरै पानीको आवाज जस्तै र ठुलो गर्जनको आवाज जस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोर जस्तो थियो ।
[3] धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो ।
[4] यिनीहरू जसले आफैलाई स्त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् ।
[5] तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
[6] तब मैले अर्को स्वर्गदूतलाई आकाशको बीचमा उडिरहेको देखेँ; पृथ्वीमा बस्ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो ।
[7] तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
[8] अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
[9] अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,
[10] उसले पनि परमेश्वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
[11] तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।
[12] पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्वास राख्छन् ।”
[13] मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
[14] मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्नुभएको एक जना मानिसका पुत्र जस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो ।
[15] त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ ।”
[16] तब बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, र पृथ्वीमा कटनी भयो ।
[17] स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो ।
[18] अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।”
[19] ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए ।
[20] सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।