Skip to content
Opens in a new window
Listen to this chapter • 3:30

[1] मलाई नाप्‍ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्‍वरको मन्‍दिर र वेदी, र जसले त्‍यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो ।

[2] तर मन्‍दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्‍यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् ।

[3] मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्‌ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”

[4] यी साक्षीहरू दुई वटा जैतुनका रुखहरू र दुई वटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्‍वरको अगि उभिएका थिए ।

[5] यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्‍छ भने, तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्‍छ भने, त्‍यसलाई पनि यसरी नै मारिनुपर्छ ।

[6] यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्‍द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्‍ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्‍ने र पृथ्वीलाई विभिन्‍न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्‍छा लागेको बेलामा प्रहार गर्ने शक्‍ति तिनीहरूसित थियो ।

[7] जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्‍याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्‍यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ ।

[8] तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् (जसलाई साङ्‌केतिक रूपमा सदोम र मिश्र भनिन्‍छ) जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो ।

[9] किनकि साँढे तिन दिनसम्म हरेक राष्‍ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् ।

[10] पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्‍युमा आनन्‍दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्‍ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए ।

[11] तर साँढे तिन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछ ।

[12] तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्‍नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् ।

[13] त्‍यसै घडीमा त्‍यहाँ ठुलो भूकम्‍प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्‍यस भूक‍म्‍पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्‍वरलाई महिमा दिनेछन् ।

[14] दोस्रो विपत्ति बितिगयो । हेर, तेस्रो विपत्ति चाँडै आउँदै छ ।

[15] तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्‍य गर्नुहुनेछ ।”

[16] त्‍यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्‍वरको आराधना गरे ।

[17] तिनीहरूले भने, “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौँ, जो हुनुहुन्‍छ र जो हुनुहुन्‍थ्‍यो, किनकि तपाईंले महान् शक्‍ति लिनुभएको छ र राज्‍य गर्न थाल्नुभएको छ ।

[18] संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्‍याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्‍तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”

[19] तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो र मन्‍दिरभित्रै उहाँको करारको सन्‍दूक देखियो । त्‍यहाँ ज्‍योतिका चमकहरू, गर्जनहरू, चट्‌याङको आवाजसाथै भूक‍म्‍प गयो, र ठुला-ठुला असिना परेका थिए ।

यूहन्‍नालाई भएको प्रकाश — Chapters