[1] त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दस वटा सीङ र सात वटा टाउका थिए । त्यसका सीङहरूमाथि दस वटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्वर-निन्दाका नाउँहरू थिए ।
[2] मैले देखेको त्यो पशु चितुवा जस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो ।
[3] त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए ।
[4] तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशु जस्तो अरू को छ र ?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र ?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।
[5] त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो ।
[6] त्यसैले, परमेश्वरको विरुद्ध ईश्वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।
[7] विश्वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्ट्रमाथि पनि अधिकार दिइएको थियो ।
[8] पृथ्वीमा बस्ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् ।
[9] कसैको कान छ भने, त्यसले सुनोस् ।
[10] कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ ।
[11] तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुई वटा सीङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो ।
[12] त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्तिको अभ्यास गर्यो, अनि पृथ्वी र त्यहाँ बस्ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।
[13] त्यसले शक्तिशाली आश्चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्यो ।
[14] शक्तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो ।
[15] त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् ।
[16] अनि त्यसले शक्तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो ।
[17] त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ ।
[18] यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।