Skip to content
Opens in a new window
Listen to this chapter • 4:59

[1] “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सात वटा तारा लिनुहुने र जो सात वटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।

[2] तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ ।

[3] मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।

[4] तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छः तिमीले आफ्नो पहिलो प्रेमलाई त्‍यागेका छौ ।

[5] यसकारण, तिमी कहाँबाट पतन भयौ सो सम्झ । तिमीले पहिले गरेका कामहरू गर र पश्‍चात्ताप गर । म तिमीकहाँ आउनेछु र तिमीले पश्‍चात्ताप नगरेसम्म म तिम्रो सामदानलाई त्‍यसको ठाउँबाट हटाइदिनेछु ।

[6] तर तिमीमा यो छ । निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु ।

[7] मण्डलीहरूलाई आत्माले के भन्‍नुहुन्‍छ, जसको कान छ त्‍यसले सुनोस् । जसले जित्छ, त्‍यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्‍वरको स्वर्गलोक हो’ ।”

[8] “स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्‍त्‍य हुनुहुन्‍छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।

[9] मलाई तिम्रा कष्‍टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्‍दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् ।

[10] तिमीले भोग्‍नै लागेको कष्‍टको बारेमा नडराऊ । हेर ! शैतानले तिमीहरूमध्‍ये केहीलाई जाँच्‍नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्‍ट भोग्‍नेछौ । मृत्‍युसम्मै विश्‍वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।

[11] आत्माले मण्डलीहरूलाई के भन्‍दै हुनुहुन्‍छ, जसको कान छ त्‍यसले सुनोस् । विजय प्राप्‍त गर्नेलाई दोस्रो मृत्‍युद्वारा चोट पुर्‍याइनेछैन’ ।”

[12] “पर्गाममको मण्डलीका दूतलाई लेखः ‘यो वचन दुई-धारे धारिलो तरवार साथमा हुनुहुनेको हो ।

[13] मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्‍यहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ । अनि शैतान बस्‍ने ठाउँमा मारिएका मेरा विश्‍वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्‍वासलाई इन्कार गरेनौ ।

[14] तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्ः तिमीमध्‍ये कोही-कोहीले इस्राएलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून् भन्‍ने हेतुले ठेस लाग्‍ने ढुङ्‌गा ती छोराछोरीहरूको अगि फ्याँक्‍न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् ।

[15] त्‍यसै गरी, तिमीहरूमध्‍ये कोही-कोही निकोलाइटसका शिक्षाहरूलाई दह्रो गरी पक्रनेहरू पनि छन् ।

[16] त्‍यसैकारण, पश्‍चात्ताप गर ! यदि पश्‍चात्ताप गरेनौ भने, म तिमीकहाँ चाँडै आउनेछु र तिम्रो विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु ।

[17] जसको कान छ, त्‍यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्‍दै हुनुहुन्‍छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्‍न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्‍यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्‍दैन’ ।”

[18] “थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्‍वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् ।

[19] तिम्रो प्रेम, विश्‍वास, सेवा, तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्‍यो पहिले गरेका कामहरू भन्‍दा बढी महत्त्‍वका छन् ।

[20] तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्‍ने स्‍त्री ईजेबेललाई तिमीले सहेका छौ । त्‍यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे ।

[21] मैले त्‍यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्‍यसले आफ्नो अनैतिक पापको पश्‍चात्ताप गर्ने इच्‍छा गरिन ।

[22] हेर ! म त्‍यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्‍यससँग व्यभिचार गर्नेहरूलाई त्‍यसले गरेको कामको निम्ति पश्‍चात्ताप नगरेसम्म ठुलो कष्‍टमा पार्नेछु ।

[23] म त्‍यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्‍नेछन् । म प्रत्‍येकलाई त्‍यसको कामअनुसारको प्रतिफल दिनेछु ।

[24] तर तिमीहरू थिआटीरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन, र कतिपयले शैतानका गहिरा कुराहरू जान्‍दैन, तिमीहरूलाई म भन्‍दछु, कि तिमीहरूमाथि अरू कुनै भार बोकाउनेछैनँ ।

[25] जस्‍तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्री राख ।

[26] जसले जित्छ र अन्‍त्‍यसम्म मैले गरेका काम जसले गर्छ, उसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु ।

[27] कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्राटुक्रा पारे जस्‍तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ ।

[28] मैले मेरा पिताबाट प्राप्‍त गरे जस्‍तै उसलाई म बिहानको तारा दिनेछु ।

[29] जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्‍दै हुनुहुन्‍छ’ ।”

यूहन्‍नालाई भएको प्रकाश — Chapters