Skip to content
Opens in a new window
Listen to this chapter • 2:55

[1] त्‍यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखेँ जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए । त्‍यसैले, पृथ्वी, समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् ।

[2] जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने,

[3] “हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”

[4] मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः

[5] यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो,

[6] आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।

[7] शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,

[8] जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्‍यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।

[9] यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।

[10] अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमाको हो ।”

[11] अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्‍नो अनुहार झुकाए । तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको आराधना गरे,

[12] “आमेन । हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, आदर, शक्‍ति र बल सदासर्वदा भइरहोस् । आमेन ।”

[13] त्‍यसपछि एल्डरहरूमध्‍ये एक जनाले मलाई सोधे, “यी सेता वस्‍त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन् ?”

[14] अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्‌कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।

[15] यसैकारणले गर्दा, तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्‍दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।

[16] तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ ।

[17] किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्‍याउनुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”

यूहन्‍नालाई भएको प्रकाश — Chapters