Skip to content
Opens in a new window
Listen to this chapter • 3:24

[1] मन्‍दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्‍वरको क्रोधका सात वटा कचौरा पृथ्वीमा खन्‍याओ ।”

[2] पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्‍याए । त्‍यस पशुको छाप हुने र त्‍यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।

[3] दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । अनि यो मरेको मानिसको रगत जस्‍तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे ।

[4] तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्‍याए, र ती रगत भए ।

[5] पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्‍छ, जो हुनुहुन्‍छ, हुनुहुन्‍थ्यो, र पवित्र जन हुनुहुन्‍छ, किनकि यी कुराहरूलाई तपाईंले न्‍याय गर्नुभयो ।

[6] किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”

[7] वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्‍याय सत्‍य र धार्मिक छन् ।”

[8] चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्‍याए, र त्‍यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो ।

[9] तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्‍ति भएका परमेश्‍वरको नाउँको निन्‍दा गरे । तिनीहरूले पश्‍चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।

[10] पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्‍यस पशुको सिंहासनमा खन्‍याए, र त्‍यसको राज्‍यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्‍टमा आ-आफ्नो जिब्रो चपाए ।

[11] तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्‍वरको नाउँको निन्‍दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्‍चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।

[12] छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्‍याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्‍यो नदीको पानी सुक्यो ।

[13] मैले अजिङ्‌गर, पशु र झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता तिन वटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ ।

[14] किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।

[15] “हेर, म एउटा चोर जस्‍तै गरेर आउनेछु; धन्‍य हो त्‍यो मानिस जो जागा रहन्‍छ, जसले आफ्ना वस्‍त्रहरू राख्तछ, ताकि ऊ नाङ्‌गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्‍न नपरोस् ।”

[16] तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्‌डोन भनिन्‍छ ।

[17] तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्‍याए । त्‍यसपछि सिंहासन र मन्‍दिरबाट यसो भन्‍दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।”

[18] त्‍यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्‍टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन ।

[19] त्‍यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्‍ट भए । अनि परमेश्‍वरले त्‍यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्‍यस सहरलाई दिनुभयो ।

[20] हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् ।

[21] आकाशबाट ठुला-ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्‍वरलाई सरापे, किनकि त्‍यो विपत्ति अति नै डरलाग्दो थियो ।

यूहन्‍नालाई भएको प्रकाश — Chapters