[1] यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्ति थियो, र उनको महिमाद्वारा पृथ्वी उज्यालो भएको थियो ।
[2] उनी शक्तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे ।
[3] किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । त्यसको विलासिताको शक्तिको जीवन यापनबाट पृथ्वीका व्यापारीहरू धेरै धनी भएका छन् ।”
[4] त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्नु नपरोस् ।
[5] त्यसका पापहरूको थुप्रो स्वर्ग जस्तै अग्लो भएको छ, र परमेश्वरले त्यसका दुष्ट कामहरूको सम्झना गर्नुभएको छ ।
[6] जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ ।
[7] जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानी जस्तै भएर बसेकी छु , म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’
[8] त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्यायकर्ता हुनुहुन्छ ।”
[9] पृथ्वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ ।
[10] तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्तिशाली सहर बेबिलोन ! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।”
[11] पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्नेछैन ।
[12] सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर,
[13] तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू ।
[14] तेरो सबै शक्तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् ।
[15] यी सामानका व्यापारीहरू जसले व्यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् ।
[16] तिनीहरूले भन्नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् ।
[17] एकै घडीमा सबै सम्पत्ति नष्ट भएका छन् ।” हरेक जहाजको कप्तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए ।
[18] त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “यो जस्तो महान् सहर अरू कुन छ र ?”
[19] तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्कार, महान् सहरलाई धिक्कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्ट पारिएकी छे ।”
[20] स्वर्ग, त्यसमाथि आनन्द गर, विश्वासीहरू, प्रेरितहरू र अगमवक्ताहरू, किनकि परमेश्वरले तिमीहरूमाथिको न्याय त्यसमाथि ल्याउनुभएको छ ।”
[21] एक जना शक्तिशाली स्वर्गदूतले जाँतो जस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महान् सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन ।
[22] वीणाको स्वर, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूको धुन तँमा फेरि कहिल्यै सुनिनेछैन । कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन ।
[23] बत्तीको ज्योति तँमा कहिल्यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्यै सुनिनेछैन, किनभने तेरा व्यापारीहरू पृथ्वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए ।
[24] त्यसैमा अगमवक्ताहरू र विश्वासीहरूको रगत र पृथ्वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”