[1] अर्को पटक उहाँ सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो।
[2] तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथ दिनमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए।
[3] येशूले हात सुकेको त्यस मानिसलाई भन्नुभयो, “सबैको सामु खडा होऊ।”
[4] तब येशूले तिनीहरूलाई सोध्नुभयो, “शब्बाथ दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?” तर तिनीहरू मौन रहे।
[5] तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो; अनि त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले सीधा पार्यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
[6] तुरुन्तै फरिसीहरू बाहिर गइहाले, र येशूलाई कसरी मार्ने भनेर राजा हेरोदका समर्थकहरूसँग षड्यन्त्र रच्न थाले।
[7] येशू आफ्ना चेलाहरूसित तालतिर जानुभयो, र गालील प्रदेशबाट एउटा ठूलो भीड उहाँको पछि लाग्यो।
[8] जब उहाँले गरिरहनुभएका सबै कुराहरू तिनीहरूले सुने, तब यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन पारिका क्षेत्रहरू, टायर र सीदोनका छेउछाउबाट अरू धेरै मानिसहरू उहाँकहाँ आए।
[9] भीडको कारण मानिसहरूले उहाँलाई चारैतिरबाट नघेरून् भनी आफ्ना निम्ति उहाँले चेलाहरूलाई एउटा सानो डुङ्गा तयार पार्न लाउनुभयो।
[10] उहाँले धेरैलाई निको पार्नुभएको कारण जति जना बिरामी थिए, तिनीहरू उहाँलाई छुनलाई ठेलमठेल गर्दै अगि बढ्दैथिए।
[11] अशुद्ध आत्माहरूले उहाँलाई देख्नासाथै तिनीहरू उहाँका अगि पछारिन्थे; अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
[12] तर उहाँले ती निको भएकाहरूलाई उहाँ को हुनुहुन्छ भनी कसैलाई नभन्नू भनेर कडा आज्ञा दिनुभयो।
[13] त्यसपछि येशू डाँडातिर जानुभयो, र उहाँले चाहनुभएका मानिसहरूलाई बोलाउनुभयो; अनि तिनीहरू उहाँकहाँ आए।
[14] तिनीहरू आफूसित रहून् र तिनीहरूलाई प्रचार गर्न बाहिर पठाउन सकियोस् भनी उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,
[15] र तिनीहरूलाई भूतहरू धपाउने अधिकार दिनुभयो।
[16] उहाँले नियुक्त गर्नुभएका बाह्र जना यिनीहरू नै हुन्: सिमोन (जसलाई उहाँले पत्रुस भन्ने नाम दिनुभयो),
[17] जब्दीको छोरा याकोब र तिनको भाइ यूहन्ना (तिनीहरूलाई उहाँले बोअनर्गेस भन्ने नाम दिनुभयो, अर्थात् “गर्जनका पुत्रहरू”),
[18] अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसको छोरा याकोब, थेदियस, सिमोन कनानी,
[19] र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।
[20] जब येशू एउटा घरमा पस्नुभयो, फेरि एउटा भीड जम्मा भयो। त्यसैले उहाँ र उहाँका चेलाहरूले खान पनि पाउनुभएन।
[21] जब उहाँका परिवारले यस विषयमा सुने, तिनीहरू उहाँलाई लैजान भनी गए; किनकि तिनीहरूले “उहाँको दिमाग खुस्केको छ” भनी भन्थे।
[22] यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।”
[23] यसकारण येशूले तिनीहरूलाई बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी धपाउन सक्छ?
[24] यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन।
[25] कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन।
[26] यदि शैतानले शैतानलाई विरोध गर्छ र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन; त्यसको अन्त्य आइसकेको छ।
[27] वास्तवमा बलियो मानिसको घरमा पस्नुभन्दा पहिले उसलाई नबाँधि कसैले पनि उसको घरको धनमाल लुट्न सक्दैन। त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
[28] म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्,
[29] तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।”
[30] उहाँले यसो भन्नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए।
[31] तब येशूकी आमा र भाइहरू आइपुगे। तिनीहरू बाहिर उभिएर उहाँलाई बोलाइदिनु भनेर कसैलाई भित्र पठाए।
[32] उहाँको चारैतिर भीड बसिरहेको थियो; अनि तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरूले तपाईंलाई बाहिर खोजिरहेका छन्।”
[33] उहाँले भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”
[34] तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!
[35] जसले परमेश्वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।”