[1] फेरि येशूले तालको किनारमा शिक्षा दिन थाल्नुभयो। उहाँको चारैतिर ठूलो भीड जम्मा भएपछि तालमा भएको एउटा डुङ्गामा चढेर बस्नुभयो। मानिसहरूचाहिँ तालको किनारमा बसेका थिए।
[2] उहाँले तिनीहरूलाई धेरै कुराहरू दृष्टान्तहरूद्वारा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो,
[3] “ध्यान दिएर सुन! एक जना किसान बिउ छर्नलाई निस्क्यो।
[4] उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए।
[5] केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्त नभएकोले ती चाँडै उम्रे।
[6] तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले।
[7] अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढे, र ती बिरुवाहरूलाई निसासिदिए, अनि तिनीहरूले कुनै फल फलाउन सकेनन्।
[8] अरू बिउहरूचाहिँ असल जमिनमा परे। ती उम्रँदै र फस्टाउँदै गएर तीस, साठी र सय गुणासम्म फल फलाए।”
[9] तब येशूले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
[10] जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्टान्तहरूका विषयमा उहाँलाई सोधे।
[11] उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरा दृष्टान्तहरूमा भनिन्छ,
[12] यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरिरहनेछन्, तर कहिल्यै देख्नेछैनन्; सुन्न त सुनिरहनेछन्, तर कहिल्यै बुझ्नेछैनन्; नत्रता तिनीहरूले पश्चात्ताप गर्नेथिए र क्षमा पाउनेथिए।’ ”
[13] तब येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू यो दृष्टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्टान्त कसरी बुझौला?
[14] बिउ छर्नेले वचन छर्दछ।
[15] कति मानिसहरू बाटोतिर परेका बिउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, तब शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ।
[16] अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बिउजस्तै हुन्, तिनीहरूले वचन सुन्नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्;
[17] तर तिनीहरूका जरा नभएकाले ती थोरै समयका लागि मात्र रहन्छन्। अनि जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्।
[18] अझ अरूचाहिँ काँडाहरूमा छरिएका बिउजस्तै हुन्, जसले वचन सुन्छन्,
[19] तर यस जीवनको फिक्री र धनसम्पत्तिको छल, र अरू थोकहरूको मोह आउँछ; र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ।
[20] तर अरूचाहिँ असल माटोमा परेका बिउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्; अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”
[21] येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले बत्ती ल्याएर भाँडोमुनि अथवा खाटमुनि नराखेर त्यसलाई सामदानमाथि राख्दैनौ र?
[22] जे लुकाइन्छ, त्यो प्रकट हुनका लागि हो र जे गुप्तमा राखिन्छ, त्यो प्रकट गरिनको लागि हो।
[23] यदि कसैका सुन्ने कानहरू छन् भने त्यसले सुनोस् र बुझोस्।”
[24] उहाँले अझै भन्नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसलाई होसियारीसाथ विचार गर। जुन नापले तिमीहरू अरूहरूलाई नाप्दछौ, तिमीहरू पनि त्यही नापले अर्थात् अझै बढ्ता गरी नापिनेछौ।
[25] जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यससित भएको पनि खोसिनेछ।”
[26] उहाँले फेरि भन्नुभयो, “परमेश्वरको राज्य यस्तो छ: जब एक जना मानिसले जमिनमा बिउ छर्छ,
[27] राति र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बिउ उम्रन्छ; अनि बढ्छ। यद्यपि, यो कसरी हुन्छ सो उसले जान्दैन।
[28] माटोले आफैँ अन्न फलाउँछ; पहिले बोट, त्यसपछि बाला, त्यसपछि बालामा पूरा दाना लाग्छ।
[29] अन्न पाक्नसाथ उसले त्यसमा हँसिया लगाउँछ; किनकि कटनीको बेला आइपुगेको हुन्छ।”
[30] उहाँले फेरि भन्नुभयो, “हामी परमेश्वरको राज्यको तुलना केसँग गरौँ? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्टान्त प्रयोग गरौँ?
[31] यो एउटा रायोको बिउजस्तो हो, जुन माटोमा रोपिने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।
[32] तैपनि रोपेपछि यो बढेर बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो हुन्छ, जसका हाँगाहरू ठूला हुन्छन्, र चराचुरुङ्गीहरू यसको छहारीमा गुँड बनाएर बस्छन्।”
[33] यस्ता अरू धेरै दृष्टान्तहरूद्वारा येशूले तिनीहरूलाई बुझ्न सक्नेअनुसार वचनहरू सुनाउनुभयो।
[34] उहाँले तिनीहरूसित दृष्टान्तहरू प्रयोग नगरी केही भन्नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो।
[35] त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “हामी पारिपट्टि जाऔँ।”
[36] अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए।
[37] त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो।
[38] येशूचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्न?”
[39] उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।
[40] उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्वास छैन?”
[41] तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”