Skip to content
Opens in a new window
Listen to this chapter • 8:20

[1] तब येशू त्यो ठाउँ छोडेर यहूदिया प्रदेशका इलाकाहरूमा र यर्दनपारि जानुभयो। फेरि मानिसहरूका भीड उहाँकहाँ आए, र आफ्नो रीतिअनुसार उहाँले तिनीहरूलाई सिकाउनुभयो।

[2] केही फरिसीहरूले उहाँलाई यसरी सोध्दै जाँच गरे, “के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”

[3] उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?”

[4] तिनीहरूले भने, “मोशाले मानिसलाई एउटा त्यागपत्र लेखेर आफ्नी पत्नीलाई छोड्ने अनुमति दिएका छन्।”

[5] येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई यो व्यवस्था तिमीहरूको हृदयको कठोरताको कारणले गर्दा दिएका हुन्,

[6] तर सृष्‍टिको आरम्भमा परमेश्‍वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’

[7] ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ,

[8] अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्।

[9] यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”

[10] जब उहाँहरू घरभित्र हुनुहुन्थ्यो, तब चेलाहरूले येशूलाई यसबारे फेरि सोधे।

[11] उहाँले जवाफ दिनुभयो, “जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्दछ, त्यसले उसको विरुद्धमा व्यभिचार गर्दछ।

[12] यदि कुनै स्त्रीले आफ्नो पतिसँग विवाह विच्छेद गरेर अर्को मानिससँग विवाह गर्दछे भने त्यसले व्यभिचार गर्दछे।”

[13] मानिसहरूले साना बालबालिकाहरूलाई येशूले तिनीहरूलाई छोइदेऊन् भनेर उहाँकहाँ ल्याउँदैथिए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।

[14] यस्तो देखेर येशू रिसाउँदै तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूका लागि हो।

[15] म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”

[16] अनि उहाँले बालबालिकाहरूलाई काखमा लिएर आफ्ना हात तिनीहरूमाथि राखेर तिनीहरूलाई आशिष् दिनुभयो।

[17] येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, तब एक जना मानिस दगुर्दै आएर उहाँको सामु घुँडा टेक्यो र सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई के गर्नुपर्छ?”

[18] येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्‍वरबाहेक अरू कोही पनि असल छैन।

[19] तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले हत्या नगर्नू, तैँले व्यभिचार नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, तैँले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”

[20] त्यसले भन्यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।”

[21] येशूले त्यसलाई हेरेर प्रेम गरी भन्‍नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएका आफ्ना सबै कुरा बेचेर गरिबहरूलाई देऊ। अनि तिमीलाई स्वर्गमा धनसम्पत्ति प्राप्‍त हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”

[22] यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो; किनकि ऊसँग धेरै सम्पत्ति थियो।

[23] येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!”

[24] उहाँका वचनहरूमा चेलाहरू छक्‍क परे, तर येशूले फेरि भन्‍नुभयो, “हे बालकहरू हो! परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!

[25] कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”

[26] चेलाहरू झन् बढी छक्‍क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”

[27] येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसका लागि यो असम्भव छ, तर परमेश्‍वरका लागि छैन; परमेश्‍वरका लागि सबै कुरा सम्भव छ।”

[28] पत्रुसले उहाँलाई भन्‍न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ।”

[29] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्‍चा अथवा जग्गाजमिन मेरा र सुसमाचारका निम्ति त्याग्नेहरू, जो कोहीले पनि,

[30] सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्‍चाहरू र जग्गाजमिन, र यसकासाथै आउने युगमा अनन्त जीवन पनि प्राप्‍त गर्नेछ।

[31] तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्; र धेरै जो पछिल्‍ला छन्, ती पहिला हुनेछन्।”

[32] उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। येशू तिनीहरूका अगि-अगि हिँड्दैहुनुहुन्थ्यो; र चेलाहरू छक्‍क परेका थिए; अनि अरू पछि-पछि आउनेहरूचाहिँ डराएका थिए। उहाँले फेरि बाह्र जनालाई एकातिर लैजानुभयो र उहाँमाथि के हुनेछ, सो बताउनुभयो।

[33] उहाँले भन्‍नुभयो, “हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्, अनि गैरयहूदीहरूको हातमा सुम्पिदिनेछन्;

[34] जसले उसलाई गिल्‍ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र अन्तमा मार्नेछन्। अनि तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”

[35] तब जब्दीका छोराहरू, याकोब र यूहन्‍ना, उहाँकहाँ आएर भने, “हे गुरु, हामी तपाईंसँग जे माग्छौँ, त्यो तपाईंले हाम्रा निम्ति गर्नुभएको हामी चाहन्छौँ।”

[36] उहाँले सोध्नुभयो, “म तिमीहरूका लागि के गरूँ भनी तिमीहरू चाहन्छौ?”

[37] तिनीहरूले जवाफ दिए, “तपाईं महिमामा आउँदा हामीमध्ये एक जना तपाईंको दाहिनेतिर र अर्कोचाहिँ देब्रेतिर बस्‍न चाहन्छौँ।”

[38] तर येशूले भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउने कष्‍टको कचौरा तिमीहरू पिउन सक्छौ? अथवा जुन कष्‍टको बप्‍तिस्मा म लिनेछु, त्यो तिमीहरूले लिन सक्छौ?”

[39] तिनीहरूले जवाफ दिए, “हामी सक्छौँ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मैले पिउने कचौरा पिउनेछौ र मैले लिने बप्‍तिस्मा लिनेछौ,

[40] तर मेरो दाहिने अथवा देब्रेतिर बस्‍नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू त तिनीहरूका निम्ति हुन्, जसका लागि ती तयार पारिएका छन्।”

[41] जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू याकोब र यूहन्‍नासित रिसाए।

[42] येशूले ती सबैलाई एकसाथ बोलाएर भन्‍नुभयो, “तिमीहरू जान्दछौ कि यस संसारले ठहराइएका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्। अनि तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्।

[43] तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन; बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ।

[44] अनि तिमीहरूमध्ये जो श्रेष्‍ठ हुन चाहन्छ, त्यो सबैको सेवक हुनैपर्छ।

[45] किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”

[46] तब उहाँहरू यरीहोमा आउनुभयो। येशू र उहाँका चेलाहरू एउटा ठूलो भीडको साथमा सहरदेखि बाहिर आउँदैगर्नुहुँदा एक जना दृष्‍टिविहीन मानिस तिमैको छोरा बारतिमै बाटोको छेउमा माग्दै बसिरहेको थियो।

[47] जब उसले नासरतको येशू हुनुहुन्छ भन्‍ने सुन्यो, तब त्यो यसो भन्दै चिच्याउन थाल्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”

[48] धेरैले त्यसलाई हप्काएर चुप लाग् भने, तर त्यो त झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”

[49] येशू अडिनुभयो, र भन्‍नुभयो, “त्यसलाई बोलाओ।” यसकारण तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई भने, “ढाडस गर्! उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।”

[50] आफ्नो वस्त्र एकातिर फ्याँकेर त्यो जुरुक्‍क उठेर आफ्नो खुट्टामा उभियो र येशूकहाँ आयो।

[51] येशूले त्यसलाई सोध्नुभयो, “मैले तिम्रा लागि के गरूँ भनी तिमी चाहन्छौ?” त्यस दृष्‍टिविहीन मानिसले भन्यो, “हे गुरु, म फेरि दृष्‍टि पाउन चाहन्छु!”

[52] येशूले भन्‍नुभयो, “जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, र बाटोभरि येशूको पछि-पछि लाग्यो।

मर्कूस — Chapters