[1] उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो।
[2] जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो।
[3] त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो।
[4] किनभने धेरैपल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन।
[5] त्यो दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो; चिच्याउँथ्यो र आफैँलाई ढुङ्गाले काट्ने गर्दथ्यो।
[6] जब त्यसले टाढैबाट येशूलाई देख्यो, तब त्यो दगुरेर उहाँको सामु गई उहाँलाई दण्डवत् गर्यो।
[7] त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”
[8] किनकि येशूले त्यसलाई भन्नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!”
[9] तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।”
[10] अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो।
[11] त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो।
[12] ती भूतआत्माहरूले येशूलाई यसरी बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्न दिनुहोस्।”
[13] उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। करिब दुई हजार सुँगुरको बगाल भिरालो किनारबाट हुरमुरिँदै गएर तालमा खसेर डुबेर मरे।
[14] ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए।
[15] जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए।
[16] जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिसलाई के भएको थियो, र सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए।
[17] तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्नुहोस् भनेर बिन्ती गरे।
[18] येशू डुङ्गामा चढ्न लाग्नुहुँदा त्यो दुष्ट आत्माले सताएको मानिस आएर उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्यो।
[19] तर येशूले मान्नुभएन, बरु यसो भन्नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।”
[20] त्यसपछि त्यो मानिस गइहाल्यो र येशूले उसका लागि के गर्नुभयो, त्यो डेकापोलिसमा भन्न थाल्यो; अनि सबै मानिसहरू छक्क परे।
[21] फेरि येशू डुङ्गामा चढी तालपारि जानुभयो। उहाँ तालको किनारमा हुँदा एउटा ठूलो भीड उहाँका चारैतिर भेला भयो।
[22] तब सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एक जना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे,
[23] अनि उहाँलाई एकदमै बिन्ती गरे, “मेरी सानी छोरी मर्नै लागेकी छे। दया गरेर तपाईंका हात त्यसमाथि राखिदिनुहोस्, र त्यो निको होस्, र त्यो बाँचोस्।”
[24] तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो।
[25] त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिइन्।
[26] तिनले धेरै चिकित्सकहरू लगाएर उपचार गरेकी थिइन्, र भएभरको सबै कुरा खर्च गरिसकेकी थिइन्; तर पनि लाभ हुनुको साटो झन्-झन् खराब अवस्थामा पुगेकी थिइन्।
[27] जब तिनले येशूको विषयमा सुनिन्, तब भीडको पछिल्तिरबाट आइन् र उहाँको वस्त्र छोइन्;
[28] किनकि तिनले सोचेकी थिइन्, “यदि मैले उहाँको वस्त्र छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”
[29] अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्।
[30] येशूलाई आफ्नो शरीरबाट शक्ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “मेरो वस्त्र कसले छोयो?”
[31] उहाँका चेलाहरूले जवाफ दिए, “मानिसहरूका भीडले तपाईंलाई घचेटिरहेका देख्दैहुनुहुन्छ, र पनि सोध्नुहुन्छ, ‘मलाई कसले छोयो?’ ”
[32] तर येशूले आफूलाई कसले छोयो भनी चारैतिर हेर्नुभयो।
[33] तब ती स्त्रीले आफूमा के भएको थियो, सो जानेर आइन् र उहाँको पाउमा घोप्टो परिन्; अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताइन्।
[34] उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ। तिमी आफ्नो कष्टबाट मुक्त भयौ।”
[35] येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?”
[36] उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
[37] उहाँले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्नाबाहेक अरूलाई आउन दिनुभएन।
[38] जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो।
[39] उहाँ भित्र पसेर तिनीहरूलाई भन्नुभयो, “किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर निदाइरहेकी छे।”
[40] तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे। उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो; अनि केटीका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर केटी भएको ठाउँमा जानुभयो।
[41] उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्नुभयो, “तालिता कौम!” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।
[42] तब त्यो केटी तुरुन्तै जुरुक्क ऊठी, र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यो देखेर तिनीहरूले अति अचम्म माने।
[43] उहाँले यसबारे कसैलाई नभन्नू भनेर आज्ञा दिँदै त्यस केटीलाई केही खानेकुरा दिनू भनी तिनीहरूलाई भन्नुभयो।