[1] उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागे र बेथानीमा आउनुभयो, तब येशूले आफ्ना चेलाहरूमध्ये दुई जनालाई
[2] यसो भन्दै पठाउनुभयो, “तिमीहरूका पल्लो गाउँमा जाओ, र तिमीहरू त्यहाँ प्रवेश गरेपछि तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
[3] यदि कसैले तिमीहरूलाई ‘तिमीहरू किन यसो गर्दैछौ?’ भनी सोध्यो भने त्यसलाई भन, ‘प्रभुलाई यसको खाँचो छ, र केही बेरमा यसलाई फर्काइदिनुहुनेछ।’ ”
[4] तिनीहरू गए र सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउन लाग्दा,
[5] त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे, “तिमीहरू त्यस बछेडोलाई फुकाएर के गरिरहेका छौ?”
[6] तिनीहरूले येशूले भन्नुभएझैँ जवाफ दिए; अनि ती मानिसहरूले तिनीहरूलाई जान दिए।
[7] जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, तब तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, र उहाँ त्यसमाथि बस्नुभयो।
[8] धेरै मानिसहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए, र अरूहरूले चाहिँ खेतबाट काटेर ल्याएका हाँगाहरू फिँजाइदिए।
[9] ती अगि-अगि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे, “होसन्ना!” “उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!”
[10] “हाम्रा पिता दावीदको आउने राज्य धन्यको हो!” “परमधाममा होसन्ना!”
[11] येशू यरूशलेममा आएर मन्दिरमा जानुभयो। उहाँले चारैतिर सबै कुरा हेर्नुभयो, तर अबेर भइसकेकोले उहाँ बाह्र जनासित बेथानीमा जानुभयो।
[12] भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कँदैगर्दा येशू भोकाउनुभयो।
[13] केही पर पातले भरिएको एउटा अञ्जीरको रूख देखेर त्यसमा केही फल पाउने आशाले उहाँ त्यहाँ जानुभयो। उहाँ त्यसको छेउमा पुग्नुभएपछि पातहरूबाहेक केही पाउनुभएन। किनकि त्यो अञ्जीरको फल फल्ने समय थिएन।
[14] तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अबदेखि तँबाट कसैले फल नखाओस्।” उहाँका चेलाहरूले उहाँले यसो भन्नुभएको सुनेका थिए।
[15] यरूशलेम पुगेपछि येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो; अनि त्यहाँ किनबेच गर्नेहरूलाई धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो।
[16] अनि मन्दिरका चोकहरूबाट व्यापारका सामानहरू यताउता लान दिनुभएन।
[17] उहाँले तिनीहरूलाई सिकाउँदै भन्नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार’ बनाएका छौ।”
[18] जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले यो सुने, तब उहाँलाई मार्ने उपाय खोज्न थाले। किनकि सम्पूर्ण भीड उहाँका शिक्षामा छक्क परेका हुनाले तिनीहरू उहाँदेखि डराउँथे।
[19] साँझ परेपछि येशू र उहाँका चेलाहरू सहरबाहिर जानुभयो।
[20] बिहान उहाँहरू जाँदै गर्दा त्यस अञ्जीरको रूखलाई उहाँहरूले जरैदेखि सुकेको देख्नुभयो!
[21] पत्रुसले सम्झँदै येशूलाई भने “हे गुरु, हेर्नुहोस्! तपाईंले श्राप दिनुभएको अञ्जीरको रूख त सुकेछ!”
[22] येशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
[23] म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्वास गर्यो भने यो उसको लागि गरिनेछ।
[24] यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्वास गर, र ती तिमीहरूको हुनेछ।
[25] अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्।
[26] तर तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन।”
[27] उहाँहरू फेरि यरूशलेममा आइपुग्नुभयो, र येशू मन्दिरका चोकहरूमा हिँडिरहनुभएको बेला मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरू उहाँकहाँ आए।
[28] तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि यी कुराहरू गर्न कसले तिमीलाई यो अधिकार दियो?”
[29] येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई जवाफ देओ, र म तिमीहरूलाई म कसको अधिकारले यी कुराहरू गरिरहेको छु, सो तिमीहरूलाई भन्नेछु।
[30] यूहन्नाको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाट? मलाई भन!”
[31] तब तिनीहरूले आपसमा छलफल गरेर भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौँ भने उनले हामीलाई ‘त्यसो भए तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ?’ भनी भन्नेछन्।
[32] तर यदि हामीले ‘मानिसहरूबाट’ भनौँ भने” (तिनीहरू मानिसहरूदेखि डराउँथे; किनकि हरेकले यूहन्नालाई साँच्चै अगमवक्ता भनी मान्थे।)
[33] त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।” अनि येशूले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।”