[1] येशू तिनीहरूसित दृष्टान्तहरूमा बोल्न थाल्नुभयो: “एक जना मानिसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर एउटा पर्खाल लगाए। कोलको लागि एउटा खाडल खने, र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्कामा दिएर यात्रामा निस्के।
[2] कटनीको समयमा तिनले ती मोहीहरूबाट दाखबारीको फलको केही भाग ल्याउन भनेर एउटा सेवकलाई तिनीहरूकहाँ पठाए।
[3] तर तिनीहरूले त्यसलाई पक्रेर पिटे, र त्यसलाई खाली हात फर्काए।
[4] तब तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए; तिनीहरूले त्यस मानिसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे।
[5] तिनले फेरि अर्कोलाई पठाए, तर त्यसलाई चाहिँ तिनीहरूले मारे। तिनले अरू धेरैलाई पठाए; जसमध्ये कतिलाई तिनीहरूले पिटे र कतिलाई चाहिँ मारे।
[6] “अब पठाउनको लागि तिनीसित एउटै मात्र छोरा थियो, जसलाई तिनले प्रेम गर्थे। अन्त्यमा तिनले यसो भन्दै उनलाई पठाए, ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्।’
[7] “तर ती मोहीहरूले आपसमा भने, ‘यो त हकवाला हो; हामी यसलाई मारौँ, र सम्पत्तिको हक हाम्रो हुनेछ।’
[8] यसरी तिनीहरूले त्यसलाई लगेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।
[9] “अब त्यस दाखबारीका मालिकले के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।
[10] के तिमीहरूले धर्मशास्त्रको यो खण्ड पढेका छैनौ? “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य ढुङ्गा भयो;
[11] यो प्रभुबाट भएको हो, र यो हाम्रा दृष्टिमा आश्चर्यको छ।’”
[12] तब तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले; किनकि उहाँले त्यो दृष्टान्त तिनीहरूका विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूले बुझे; तर तिनीहरू भीडसित डराए, र तिनीहरू उहाँलाई छोडेर गइहाले।
[13] केही समयपछि तिनीहरूले येशूलाई उहाँको वचनमा पक्रनको लागि केही फरिसी र हेरोदीहरूलाई उहाँकहाँ पठाए।
[14] तिनीहरूले उहाँकहाँ आएर भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्न; तर तपाईंले साँचो गरी परमेश्वरका मार्ग सिकाउनुहुन्छ। सिजरलाई कर तिर्नु उचित छ कि छैन?
[15] हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूको कपट बुझ्नुभयो, र उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्का ल्याओ, र मलाई त्यो हेर्न देओ।”
[16] तिनीहरूले सिक्का ल्याए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए।
[17] तब येशूले तिनीहरूलाई भन्नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्क परे।
[18] तब पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू एउटा प्रश्न लिएर उहाँकहाँ आए।
[19] तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, यदि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई छोडेर मर्यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्न गरिदिनुपर्छ।
[20] अब कुनै परिवारमा सात भाइ थिए। पहिलोले विवाह गर्यो, र सन्तान नभई मर्यो।
[21] अनि दोस्रोले त्यस विधवासित विवाह गर्यो, तर ऊ पनि सन्तान नभई मर्यो। यस्तै स्थिति तेस्रोको पनि भयो।
[22] वास्तवमा ती सातै जनाको सन्तान भएन। अन्त्यमा त्यो स्त्री पनि मरी।
[23] यसैले अब पुनरुत्थानमा त्यो कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
[24] येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले के तिमीहरू भ्रममा त छैनौ?
[25] जब मुर्दाहरू स्वर्गमा जीवित भई उठ्छन्, तब तिनीहरूले न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।
[26] अब मुर्दाहरू जीवित भई उठ्ने विषयमा के तिमीहरूले मोशाको पुस्तकमा त्यस पोथ्राको विवरणमा कसरी परमेश्वरले तिनलाई ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकोबका परमेश्वर हुँ’ भनेर भन्नुभएको पढेका छैनौ?
[27] उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरू गम्भीर भूलमा परेका छौ!”
[28] व्यवस्थाका शिक्षकहरूमध्ये एक जना आए, र तिनीहरूका वाद-विवाद सुने। येशूले तिनीहरूलाई ठिक जवाफ दिनुभएको देखेर त्यसले उहाँलाई सोध्यो, “सबै आज्ञाहरूमा कुनचाहिँ सबैभन्दा मुख्य हो?”
[29] येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्य आज्ञा यो हो: ‘हे इस्राएल, सुन! परमप्रभु हाम्रा परमेश्वर, एक मात्र परमेश्वर हुनुहुन्छ।
[30] परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण मनले र सम्पूर्ण बलले प्रेम गर।’
[31] दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूला आज्ञा अरू छैनन्।”
[32] त्यस मानिसले जवाफ दियो, “ठिक भन्नुभयो, गुरुज्यू। तपाईंले ठिक कुरा भन्नुभएझैँ, परमेश्वर एक हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन।
[33] उहाँलाई सम्पूर्ण हृदयले, सम्पूर्ण समझले र सम्पूर्ण बलले प्रेम गर्नु, र आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नुचाहिँ सबै होमबलि र बलिदानहरूभन्दा मुख्य कुरा हो।”
[34] जब त्यसले बुद्धिमानीसाथ जवाफ दिएको येशूले देख्नुभयो, उहाँले त्यसलाई भन्नुभयो, “तिमी परमेश्वरको राज्यदेखि धेरै टाढा छैनौ।” अनि त्यस बेलादेखि उसो कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।
[35] मन्दिरका चोकहरूमा येशूले सिकाइरहनुहुँदा सोध्नुभयो, “ख्रीष्ट दावीदका पुत्र हुन् भनी व्यवस्थाका शिक्षकहरूले कसरी भन्दछन्?
[36] दावीद आफैँले पवित्र आत्माद्वारा यसरी घोषणा गरे: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’
[37] दावीद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” ठूलो भीडले उहाँको कुरा आनन्दसाथ सुने।
[38] येशूले सिकाउँदै भन्नुभयो, “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्,
[39] र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
[40] तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”
[41] भेटी चढाउने ठाउँको सामु गएर येशू बस्नुभयो र भीडले मन्दिरको दानपेटीमा पैसा हालिरहेका हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाइरहेका थिए।
[42] तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुई साना सिक्का चढाई।
[43] तब आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले दानपेटीमा अरू सबैले भन्दा बढी चढाएकी छे।
[44] तिनीहरू सबैले आफ्ना प्रशस्त धनबाट चढाएका छन्, तर यस स्त्रीले त आफ्नो गरिबीबाट सबै थोक, आफ्नो जीविका चलाउने खर्चसमेत नै चढाएकी छे।”