Skip to content
Opens in a new window
Listen to this chapter • 6:22

[1] एकाबिहानै, मुख्य पुजारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू र सम्पूर्ण महासभासँग मिलेर सल्‍लाह गरी तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए।

[2] पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्दै हुनुहुन्छ।”

[3] ती मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए।

[4] यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।”

[5] तर येशूले कुनै जवाफ दिनुभएन। यो देखेर पिलातस छक्‍क परे।

[6] अब चाडको समयमा मानिसहरूले बिन्ती गरेर मागेको एक जना कैदीलाई छोडिदिने चलन थियो।

[7] झ्यालखानामा अरू विद्रोहीहरूसित एक जना बारब्बा नाम भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो।

[8] अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गरिदेऊन् भनी बिन्ती गर्‍यो।

[9] पिलातसले सोधे, “के मैले यहूदीहरूका राजालाई तिमीहरूका निम्ति छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?”

[10] किनकि मुख्य पुजारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्‍ने पिलातसलाई थाहा थियो।

[11] तर पिलातसले बारब्बालाई नै छोडिदेऊन् भनी मुख्य पुजारीहरूले भीडलाई उक्साए।

[12] पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ?”

[13] तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”

[14] पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”

[15] भीडलाई सन्तुष्‍ट पार्ने इच्छाले पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र तिनले येशूलाई कोर्रा लगाउँदै उहाँलाई क्रूसमा झुण्ड्याउन सुम्पिदिए।

[16] सिपाहीहरूले येशूलाई महल भित्र (अर्थात्, प्रेटोरियम) लगे, र सिपाहीहरूका सबै पल्टनलाई बोलाए।

[17] तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए।

[18] अनि तिनीहरूले उहाँलाई “यहूदीहरूका राजाको जय!” भन्दै कराए।

[19] तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामु घुँडा टेकेर झुके।

[20] अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।

[21] अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोन, जो गाउँबाट आइरहेका थिए, तिनीहरूले उनलाई क्रूस बोक्न कर लगाए।

[22] तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए।

[23] तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्‍नुभएन।

[24] अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले कसले के पाउँदोरहेछ भनेर उहाँका वस्त्रहरूका लागि चिट्ठा हालेर ती भाग गरे।

[25] तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो।

[26] उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा।

[27] तिनीहरूले उहाँसित दुई डाँकुहरूलाई पनि क्रूसमा टाँगे—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।

[28] अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”

[29] त्यस ठाउँबाट हिँड्नेहरूले आफ्ना टाउको हल्‍लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने!

[30] क्रूसबाट तल ओर्लेर आइज, र आफूलाई बचा!”

[31] यस्तै किसिमले मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन।

[32] यो ख्रीष्‍ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्‍वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे।

[33] बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।

[34] अनि तीन बजेतिर येशू चर्को सोरले कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”

[35] छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।”

[36] एक जना मानिस दौडेर गयो, र स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ, कहीँ एलिया आएर यिनलाई ओराल्छन् कि।”

[37] तब येशूले चर्को सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो।

[38] त्यसपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो।

[39] अनि जब येशूको अगिल्तिर उभिरहेका सेनापतिले उहाँको सोर सुनेर उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्‍चय नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्!”

[40] केही स्त्रीहरू टाढैबाट हेरिरहेका थिए। तीमध्ये मरियम मग्दलिनी, कान्छो याकोब र योसेफकी आमा मरियम अनि सलोमी थिए।

[41] यी स्त्रीहरूले गालीलमा उहाँको पछि लाग्दै उहाँको खाँचोमा सेवा गरेका थिए। उहाँसित यरूशलेममा आउने अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।

[42] त्यो दिन तयारीको दिन (अर्थात्, शब्बाथ दिनको अगिल्‍लो दिन) थियो। यसकारण जब साँझ हुन थाल्यो,

[43] अरिमथिया निवासी योसेफ, सभाका एक जना प्रमुख सदस्य, जो आफूले परमेश्‍वरको राज्य पर्खिरहेका थिए। तिनी साहससित पिलातसकहाँ गएर येशूको लास मागे।

[44] उहाँ मरिसक्नुभएको सुनेर पिलातस छक्‍क परे। सेनापतिलाई बोलाएर तिनले उसलाई येशू मर्नुभएको हो कि होइन भनेर सोधे।

[45] जब सेनापतिबाट तिनलाई यो कुरा पक्‍का भयो, तिनले उहाँको शरीर योसेफलाई लाने अनुमति दिए।

[46] योसेफले केही मलमलको कपडा किने, र उहाँको लासलाई तल ओरालेर त्यही कपडामा बेह्रे, र उहाँलाई चट्टान खोपेर बनाइएको चिहानमा राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गा गुडाउँदै ल्याएर राखिदिए।

[47] मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखिएको ठाउँ देखे।

मर्कूस — Chapters