Skip to content
Opens in a new window
Listen to this chapter • 9:08

[1] येशू त्यहाँबाट निस्केर आफ्ना चेलाहरूसित आफू हुर्केको सहरमा जानुभयो।

[2] शब्बाथ दिन आएपछि उहाँले सभाघरमा सिकाउन लाग्नुभयो; अनि उहाँलाई सुन्‍नेहरू धेरै जना छक्‍क परे। तिनीहरूले सोधे, “यस मानिसले यी कुराहरू कहाँबाट पाए? यसलाई दिइएको यो कस्तो बुद्धि हो? यसले गरेका यी अचम्मका कामहरू उल्‍लेखनीय छन्?

[3] के यो सिकर्मी होइन? के यो मरियमको छोरा, र याकोब, योसेफ, यहूदा र सिमोनको दाजु होइन? के यसका बहिनीहरू यहाँ हामीसित छैनन्?” अनि तिनीहरू उहाँसित चिढिए।

[4] तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा, आफ्नै नातेदारहरूको बीचमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन”

[5] उहाँले त्यहाँ केही बिरामीहरूमाथि हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै अचम्मका कामहरू गर्न सक्नुभएन।

[6] उहाँ तिनीहरूका अविश्‍वास देखेर छक्‍क पर्नुभयो। त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँमा जानुभयो।

[7] तब उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो।

[8] उहाँका आदेशहरू यस्ता थिए: “यात्राका लागि एउटा लहुरोबाहेक केही पनि नलिनू; न रोटी, न थैली, न पटुकामा पैसा।

[9] जुत्ता लगाउनू, तर दुईसरो लुगा नबोक्नू।

[10] जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।

[11] अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।”

[12] तिनीहरू गए, र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे।

[13] तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।

[14] राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्‍तिस्मा दिने यूहन्‍ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”

[15] अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।”

[16] जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्‍ना मरेकोबाट जीवित भएको छ।”

[17] किनकि हेरोद आफैँले यूहन्‍नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनभने तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए; जसलाई तिनले विवाह गरेका थिए।

[18] किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नै भाइकी पत्नी राख्नु तपाईंलाई उचित छैन।”

[19] यसकारण हेरोदियासले यूहन्‍नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्।

[20] हेरोद यूहन्‍नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धर्मी र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्‍नाका कुरा सुन्थे, तब तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्‍न मन पराउँथे।

[21] आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका सेनापतिहरू र गालील प्रदेशका प्रमुख व्यक्तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे।

[22] तब हेरोदियासकी छोरी भित्र आएर नाची; अनि उसले हेरोद र तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमी जे चाहन्छ्यौ, सो मसित माग, म तिमीलाई दिनेछु।”

[23] अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे माग्छ्यौ, सो म तिमीलाई दिनेछु, मेरो आधा राज्यसम्म पनि दिनेछु।”

[24] त्यसले गएर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले जवाफ दिइन्, “बप्‍तिस्मा दिने यूहन्‍नाको शिर।”

[25] त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो बिन्ती चढाई: “तपाईंले अहिल्यै बप्‍तिस्मा दिने यूहन्‍नाको शिर मलाई यस थालमा दिनुहोस् भन्‍ने म चाहन्छु।”

[26] राजा अत्यन्तै दुःखित भए; तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्।

[27] यसकारण तिनले तुरुन्तै जल्‍लादलाई यूहन्‍नाको शिर ल्याउनू भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, र झ्यालखानामा यूहन्‍नाको शिर काट्यो,

[28] अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई।

[29] यो सुनेर यूहन्‍नाका चेलाहरू आए; र तिनको लास लगेर चिहानमा राखे।

[30] प्रेरितहरू येशूको वरिपरि भेला भए, र आफूले गरेका र आफूले सिकाएका सबै कुराहरू बताए।

[31] मानिसहरू आवतजावत गरेका कारण उहाँहरूले खानसमेत मौका पाउनुभएको थिएन। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मसित एकान्त ठाउँमा हिँड, र केही बेर विश्राम गर।”

[32] यसकारण उहाँहरू अलग्गै एउटा डुङ्गामा चढेर पर एउटा एकान्त ठाउँमा जानुभयो।

[33] तर धेरैले उहाँहरूलाई जाँदै गर्नुभएको देखेर उहाँहरूलाई चिनिहाले; अनि सबै सहरहरूबाट आएकाहरू पैदलै दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे।

[34] जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। उहाँले तिनीहरूलाई देखेर टिठ्याउनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ थिए। यसकारण उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुभयो।

[35] त्यस बेला दिन ढल्किसकेको थियो। त्यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र समय धेरै ढिलो भइसकेको छ।

[36] यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।”

[37] तर उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले उहाँलाई भने, “त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?”

[38] उहाँले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।” तिनीहरूले पत्ता लगाएर भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।”

[39] तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो।

[40] यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे।

[41] ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो।

[42] तिनीहरू सबैले पेटभरि खाए।

[43] अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए।

[44] ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए।

[45] तुरुन्तै येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढाएर उहाँभन्दा पहिल्यै बेथसेदामा जान लगाउनुभयो। अनि आफूले चाहिँ भीडलाई बिदा दिनुभयो।

[46] तिनीहरूबाट बिदा भएपछि उहाँ प्रार्थना गर्नलाई एउटा पहाडमा जानुभयो।

[47] त्यस बेला रात परिसकेको थियो। डुङ्गा तालको माझमा थियो, र उहाँचाहिँ एकलै किनारमा हुनुहुन्थ्यो।

[48] उहाँले चेलाहरूलाई डुङ्गा खियाउनका लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो; किनकि बतास तिनीहरूको विपरीतबाट चलिरहेको थियो। अनि बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा,

[49] जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए;

[50] किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साहस गर! म नै हुँ; नडराओ।”

[51] तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, र बतास थामियो। तिनीहरू अत्यन्तै छक्‍क परे;

[52] किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थियो।

[53] उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा आइपुग्नुभयो, र डुङ्गा किनारमा लगाउनुभयो।

[54] उहाँहरू डुङ्गाबाट निस्कनसाथ येशूलाई मानिसहरूले चिनिहाले।

[55] तिनीहरू सारा प्रदेशभरि दगुरे, र उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनी सुने, त्यहाँ-त्यहाँ रोगीहरूलाई ओछ्यानमा बोकेर लगे।

[56] अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, सहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई बिन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।

मर्कूस — Chapters