Skip to content
Opens in a new window
Listen to this chapter • 4:28

[1] मोशा र इस्राएलका प्रधानहरूले मानिसहरूलाई आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञाहरू पालन गर।

[2] जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्छौ, तब केही ठूला-ठूला ढुङ्गाहरू खडा गरेर तिनीहरूलाई कमेरोले पोत्नू।

[3] याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खालाई प्रतिज्ञा गर्नुभएझैँ, जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्‍वरले दिनुहुने दूध र मह बग्ने देशमा प्रवेश गर्नेछौ, तब ती ढुङ्गाहरूमा यस व्यवस्थाका सबै वचनहरू लेख्नू।

[4] अनि जब तिमीहरूले यर्दन पार गरिसक्छौ, तब मैले तिमीहरूलाई आज आज्ञा दिएझैँ यी ढुङ्गाहरूलाई एबाल पर्वतमा खडा गरेर ती ढुङ्गाहरूलाई कमेरोले पोत्नू।

[5] त्यहाँ तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति ढुङ्गाहरूको एउटा वेदी बनाउनू। ती ढुङ्गाहरूमाथि कुनै फलामको औजार प्रयोग नगर्नू।

[6] याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति तिमीहरूले नकाटिएका ढुङ्गाहरूको वेदी बनाउनू। त्यसपछि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका निम्ति होमबलि चढाउनू।

[7] त्यहाँ मेलबलि चढाउनू र याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा ती खानू, र तिमीहरूले रमाइलो मनाउनू।

[8] अनि तिमीहरूले खडा गरेका ती ढुङ्गाहरूमा यस व्यवस्थाका शब्दहरू स्पष्‍टसँग लेख्नू।”

[9] तब मोशा र लेवी पुजारीहरूले सारा इस्राएलीहरूलाई भने, “हे इस्राएल, शान्त भएर सुन! आज तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका जाति भएका छौ।

[10] याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गर्नू। अनि आज मैले तिमीहरूलाई दिने उहाँका आज्ञा र उर्दीहरू पालन गर्नू।”

[11] त्यसै दिन मोशाले मानिसहरूलाई आज्ञा दिए:

[12] जब तिमीहरूले यर्दन पार गर्छौ, यी कुलहरू गीरीज्जीम डाँडामा मानिसहरूलाई आशिष् दिनलाई खडा होऊन्: शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीन

[13] अनि रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍तालीका कुलहरूचाहिँ एबाल डाँडामा श्राप दिनलाई खडा होऊन्।

[14] लेवीहरूले इस्राएलका सारा मानिसहरूका निम्ति चर्को सोरले यसरी भनून्:

[15] “मूर्ति बनाउने जो कोही पनि श्रापित होस्। याहवेहले घृणा गर्नुहुने कुरा खोपेर, ढालेर बनाउने र त्यसलाई गुप्‍तमा स्थापित गर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[16] “आफ्ना आमाबुबालाई आदर नगर्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[17] “आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गा हटाउने मानिसमाथि श्राप परोस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[18] “दृष्‍टिविहीनलाई उल्टो बाटोतिर डोर्‍याउने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[19] “विदेशी, अनाथ र विधवाहरूलाई न्याय नदिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[20] “आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिस श्रापित होस्; किनकि त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गरेको छ।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[21] “पशुसँग यौन सम्पर्क राख्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[22] “आफ्नो बहिनी अथवा आफ्नो आमा वा बुबाकी छोरीसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[23] “आफ्नो सासुसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[24] “आफ्नो छिमेकीलाई गुप्‍तमा मार्ने व्यक्ति श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[25] “कुनै निर्दोष व्यक्तिलाई मार्नका निम्ति घूस लिने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

[26] “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

व्यवस्था — Chapters