[1] याहवेहले इस्राएलीहरूसँग होरेबमा बाँध्नुभएको करारबाहेक उहाँले मोआबमा मोशालाई इस्राएलीहरूसँग बाँध्नुभएको करारका शर्तहरू यिनै हुन्।
[2] मोशाले सारा इस्राएलीहरूलाई भेला गराएर तिनीहरूलाई भने: याहवेहले इजिप्टमा फारो र तिनका भारदारहरूसँग, र तिनका सारा देशसँग गर्नुभएका सबै कुरा तिमीहरूका आँखाले देखेका छन्।
[3] तिमीहरूले आफ्नै आँखाले ती डरलाग्दा सङ्कष्टहरू, अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू देखेका छौ।
[4] तर आजको दिनसम्म याहवेहले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन।
[5] याहवेहले भन्नुहुन्छ, “मैले तिमीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म डोर्याएको समयमा तिमीहरूले लगाएका लुगा र तिमीहरूका जुत्ता फाटेनन्।
[6] तिमीहरूले रोटी खाएनौ र मद्य पिएनौ, वा अरू मादक पदार्थ पिएनौ। तिमीहरूले म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी बुझ्न सक भनेर नै मैले यसो गरेँ।”
[7] जब तिमीहरू यस ठाउँमा आइपुग्यौ, तब हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हामीसँग लडाइँ गर्न आए; तर हामीले तिनीहरूलाई परास्त गर्यौँ।
[8] हामीले तिनीहरूको देशलाई कब्जा गर्यौँ, र त्यस देशलाई उत्तराधिकारको रूपमा रूबेनीहरू, गादीहरू अनि मनश्शेको आधा कुललाई दियौँ।
[9] यस करारका शर्तहरूलाई होसियारीसाथ पालन गर, र तिमीहरूले गरेका हरेक काममा सफल हुनेछौ।
[10] आज तिमीहरू सबै, अर्थात् तिमीहरूका अधिकृतहरू र मुख्य व्यक्तिहरू, तिमीहरूका धर्मगुरुहरू र प्रधानहरू सबै याहवेह तिमीहरूका परमेश्वरको अगि खडा छौ।
[11] अनि तिमीहरूका छोराछोरीहरू र तिमीहरूका पत्नीहरू, र तिमीहरूका निम्ति दाउरा काट्ने र पानी बोक्ने तिमीहरूका छाउनीमा बस्ने विदेशीहरू पनि साथमा छन्।
[12] तिमीहरू यहाँ याहवेह आफ्ना परमेश्वरसँग त्यो करारमा प्रवेश गर्नलाई खडा छौ, जुन आज उहाँले शपथद्वारा छाप लगाउँदै तिमीहरूसँग बाँध्दैहुनुहुन्छ।
[13] उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, र तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएझैँ, तिमीहरू उहाँका मानिसहरू र उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ भनी पक्का हुन सकोस्।
[14] मैले शपथ खाएर यो करार तिमीहरूसँग मात्र बाँधिरहेको छैनँ;
[15] जो आज यहाँ याहवेह आफ्ना परमेश्वरको उपस्थितिमा उभिरहेका छौ, तर आज यहाँ उपस्थिति नहुनेहरूसँग पनि बाँधिरहेको छु।
[16] हामी इजिप्टमा कसरी बस्यौँ, र यहाँ आइपुग्नको लागि हामीले कसरी देशहरू पार गर्यौँ भनी तिमीहरू आफैँले जान्दछौ।
[17] तिनीहरूका बीचमा तिमीहरूले तिनीहरूका घृणित थोकहरू, काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू देख्यौ।
[18] याहवेह हाम्रा परमेश्वरबाट तर्किगएर ती जातिहरूका देवी-देवताहरू पूजा गर्ने हृदय भएको कुनै पनि पुरुष अथवा स्त्रीका कुल वा वंश तिमीहरूको बीचमा छैन भन्ने कुरा पक्का गर। तिमीहरूको बीचमा तितो विष उमार्ने कुनै पनि जरा नहोस् भनी निश्चित गर।
[19] जब यस्ता व्यक्तिले यस शपथका शब्दहरू सुन्छन्; अनि तिनीहरू आफैँले आशिष् पाउन चाहन्छन् र सोच्दछन्, “म आफ्नै तरिकाले चलिरहे तापनि म सुरक्षित नै रहनेछु,” यसले गर्दा तिनीहरूले भिजेको जमिन अथवा ओबानो जमिनमा विपत्ति ल्याउनेछन्।
[20] तिनीहरूलाई याहवेहले कहिल्यै क्षमा दिने मन गर्नुहुनेछैन। उहाँको क्रोध र डाहको जलन तिनीहरूको विरुद्धमा दन्कनेछ। यस व्यवस्थाका पुस्तकमा लेखिएका सबै श्रापहरू तिनीहरूमाथि पर्नेछन्। अनि याहवेहले तिनीहरूको नाम आकाशमुनिबाट मेटिदिनुहुनेछ।
[21] व्यवस्थाको यो पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार याहवेहले तिनीहरूलाई इस्राएलका सबै कुलहरूबाट नाशको निम्ति अलग गर्नुहुनेछ।
[22] तिमीहरूका भावी पुस्ताका छोराछोरीहरू र टाढा देशहरूबाट आउने विदेशीहरूले यस देशमा आइपरेका विपत्तिहरू अनि याहवेहले देशमा पठाउनुभएका रोगहरू देख्नेछन्।
[23] सारा देशलाई नुन र गन्धकले जलाएर बरबाद गर्नेछ—त्यहाँ केही पनि रोपिनेछैन, उम्रनेछैन र कुनै रूखबिरुवा केही पनि उम्रनेछैन। त्यो देश याहवेहले आफ्नो भयानक क्रोधमा नष्ट पार्नुभएको सदोम र गमोरा, अदमा र सबोयीमजस्तै हुनेछ।
[24] सबै जाति-जातिहरूले सोध्नेछन्: “याहवेहले यस देशलाई किन यस्तो गर्नुभयो? किन यस्तो डरलाग्दो र दन्कने रिस गर्नुभयो?”
[25] अनि जवाफचाहिँ यस्तो हुनेछ, “किनकि यस जातिले याहवेह तिनीहरूका पितापुर्खाहरूका परमेश्वरको करार, उहाँले तिनीहरूलाई इजिप्टबाट ल्याउनुहुँदा तिनीहरूसँग गर्नुभएको करारलाई तोडेका छन्।
[26] तिनीहरू तर्केर गएका छन्, र अरू देवी-देवताहरू, तिनीहरूले नजानेका र उहाँले तिनीहरूलाई मनाही गर्नुभएका देवी-देवताहरूलाई दण्डवत् गरेका छन्।
[27] यसकारण यस देशको विरुद्धमा याहवेहको क्रोध दन्कियो। त्यसैले उहाँले यस व्यवस्थाको पुस्तकमा लेखिएका सबै श्रापहरू यस देशमाथि ल्याउनुभयो।
[28] याहवेहले तिनीहरूलाई भयानक रिस र डरलाग्दो क्रोधमा आफ्नो देशबाट उखेलेर अर्को देशमा फालिदिनुभयो; अनि तिनीहरू अहिलेसम्म छँदैछन्।”
[29] गुप्त कुराहरू याहवेह हाम्रा परमेश्वरकै हुन्, तर प्रकट गरिएका कुराहरूचाहिँ हामी र हाम्रा सन्तानहरूका लागि सदाका निम्ति हुन्; ताकि हामीले यस व्यवस्थाका सबै कुराहरू पालन गर्न सकौँ।