Skip to content
Opens in a new window
Listen to this chapter • 4:42

[1] मैले आज तिमीहरूलाई दिइरहेका हरेक आज्ञालाई होसियारीसाथ पालन गर, ताकि तिमीहरू जीवित रहन सक, र वृद्धि हुन सक। अनि याहवेहले तिमीहरूका पितापुर्खाहरूसँग शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्न सक; र त्यस देशमा अधिकार गर्न सक।

[2] तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर तिमीहरूका हृदय जान्‍न, तिमीहरूलाई नम्र बनाउन अनि जाँच्नलाई कसरी याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उजाडस्थानभरि यी चालीस वर्षसम्म डोर्‍याउनुभयो, सो स्मरण गर।

[3] उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्‍न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।

[4] यी चालीस वर्षहरूमा तिमीहरूका लुगा फाटेनन्, र तिमीहरूका खुट्टा पनि सुनिएनन्।

[5] यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख।

[6] याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर। उहाँका आज्ञामा हिँड र उहाँको आदर गर।

[7] किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यस्तो उत्तम देशमा ल्याउनुहुँदैछ, जुन देशमा नदीनालाहरू, पानीका धाराहरू र पानीका मूलहरू पहाड र बेँसीहरूबाट बगेर निस्कन्छन्।

[8] यस्तो देश, जहाँ गहुँ र जौ, अङ्‌गुर र नेभाराका रूखहरू, अनार, जैतुनको तेल र मह उत्पादन हुँदछन्।

[9] यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ।

[10] जब तिमीहरूले खाएर तृप्‍त हुन्छौ, तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तम देश दिनुभएको निम्ति उहाँलाई प्रशंसा गर।

[11] आज मैले तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका व्यवस्थाहरू र उहाँका उर्दीहरू दिइरहेको छु, तिमीहरूले उहाँलाई नभुल

[12] नत्रता तिमीहरू खाएर तृप्‍त हुनेछौ, तब तिमीहरूले राम्रा घरहरू बनाएर बसोबास गर्छौ।

[13] अनि जब तिमीहरूका बथान र बगालहरू वृद्धि हुँदै जानेछन्; तिमीहरूका चाँदी र सुन प्रशस्त हुनेछ। अनि तिमीहरूसँग भएका सबै कुराहरू वृद्धि हुनेछ,

[14] तब तिमीहरूका हृदयमा घमण्ड आउनेछ, र तिमीहरूलाई इजिप्टको दासत्वबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले बिर्सनेछौ।

[15] उहाँले तिमीहरूलाई विशाल र डरलाग्दो उजाडस्थानद्वारा त्यस सुक्खा र पानीविनाको भूमिबाट अनि विषालु सर्पहरू र बिच्छीहरू भएको ठाउँबाट डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्ति त्यस कडा चट्टानबाट पानी निकाल्नुभयो।

[16] अन्त्यमा उहाँले तिमीहरूलाई सबै अशल कुराहरू दिन सक्नुभएको होस् भनेर उहाँले तिमीहरूलाई नम्र बनाउन र जाँच गर्न तिमीहरूका पितापुर्खाहरूले कहिल्यै नजानेका मन्‍न उजाडस्थानमा खानलाई दिनुभयो।

[17] तिमीहरूले आफ्नो मनमा सोचौला, “मेरा आफ्ना हातका शक्ति र मेरा हातका बलले आफ्ना निम्ति यो धन कमाएको हुँ।”

[18] तर याहवेह तिमीहरूका परमेश्‍वरलाई स्मरण गर; किनकि उहाँले नै तिमीहरूलाई धन कमाउने क्षमता दिनुभएको छ। अनि उहाँले तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा गर्नुभएको करार निश्‍चित गर्नुहुन्छ, जसरी आजको दिनसम्म गर्नुभएको छ।

[19] यदि कुनै दिन तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई बिर्सेर अरू देवी-देवताहरूलाई पछ्याएर तिनीहरूलाई पूजा गर्‍यौ र तिनीहरूको सामु निहुर्‍यौ भने म आज तिमीहरूको विरुद्धमा साक्षी दिन्छु; तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ।

[20] तिमीहरूकै सामु याहवेहले जातिहरूलाई नाश गर्नुभएझैँ, तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन नगरेको कारण नष्‍ट हुनेछौ।

व्यवस्था — Chapters