[1] तिमीहरूले यर्दन पार गरेर अधिकार गर्ने देशमा पालन गर्नलाई सिकाउनू भनेर याहवेह तिमीहरूका परमेश्वरले मलाई निर्देशन गर्नुभएका विधि-विधानहरू र उर्दीहरू यिनै हुन्,
[2] ताकि तिमीहरू, तिमीहरूका सन्तानहरू र तिनीहरूका छोराछोरीहरूले आफू बाँचुन्जेल मैले तिमीहरूलाई दिएका उहाँका सबै उर्दीहरू र आज्ञाहरू पालन गरून्। अनि याहवेह आफ्ना परमेश्वरको डर राखून् र तिनीहरूले लामो जीवन उपभोग गरून्।
[3] हे इस्राएलीहरू हो, सुन र होसियारीसाथ पालन गर, ताकि तिमीहरूको भलो होस्। याहवेह, तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको वृद्धि होस्।
[4] हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्वर, एक मात्र याहवेह हुनुहुन्छ।
[5] याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर।
[6] आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख।
[7] यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर।
[8] यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख।
[9] यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख।
[10] जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ,
[11] तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्त हुनेछौ,
[12] तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू।
[13] याहवेह तिमीहरूका परमेश्वरको भय मान्नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू।
[14] तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू;
[15] किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ।
[16] तिमीहरूले मस्साहमा गरेझैँ याहवेह तिमीहरूका परमेश्वरको परीक्षा नगर्नू।
[17] याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नीति-नियम र उर्दीहरू होसियारीसाथ पालन गर्नू।
[18] याहवेहको दृष्टिमा जे ठिक र असल छ, त्यही गर्नू; ताकि तिमीहरूलाई भलो होस्, र याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको उत्तम देशमा तिमीहरूले अधिकार गर्न सक।
[19] अनि याहवेहले भन्नुभएझैँ तिमीहरूले आफ्ना सामुबाट तिमीहरूका शत्रुहरूलाई धपाउनेछौ।
[20] भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?”
[21] तब तिनीहरूलाई यसो भन, “हामी इजिप्टमा फारो राजाका दासहरू थियौँ; तर याहवेहका शक्तिशाली हातले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
[22] हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो।
[23] तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो।
[24] याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्वरको डर मान्नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ।
[25] अनि उहाँले आज्ञा गर्नुभएझैँ याहवेह हाम्रा परमेश्वरको सामु यी सबै आज्ञाहरू हामीले होसियारीसाथ पालन गर्यौँ भने त्यो नै हाम्रो धार्मिकता ठहरिनेछ।”