[1] याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर, र उहाँका नियमहरू, उहाँका उर्दीहरू, उहाँका व्यवस्थाहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर।
[2] आज यो कुरा याद राख कि तिमीहरूका छोराछोरीहरूले याहवेह तिमीहरूका परमेश्वरको अनुशासन अनुभव गरेका छैनन्, न त देखेका छन्। उहाँको महानता, उहाँको पराक्रमी वा शक्तिशाली हात, उहाँका फैलिएको पाखुरा;
[3] इजिप्टमा त्यसका राजा फारो र त्यसका सम्पूर्ण देशको माझमा उहाँले देखाउनुभएको अलौकिक चिन्हहरू र गर्नुभएका कामहरू,
[4] उहाँले इजिप्टको सेनाहरूलाई, त्यसका घोडाहरू र रथहरूलाई के गर्नुभयो, र तिनीहरूले तिमीहरूलाई खेदेर आउँदा उहाँले कसरी तिनीहरूलाई लाल समुद्रको पानीको बीचमा डुबाइदिनुभयो। अनि कसरी याहवेहले तिनीहरूलाई सधैँका निम्ति नाश गरिदिनुभयो।
[5] तिमीहरू यहाँ नआएसम्म तिमीहरूका निम्ति उहाँले उजाडस्थानमा के गर्नुभयो, त्यो तिमीहरूका छोराछोरीहरूले देखेका छैनन्।
[6] अनि उहाँले रूबेनी एलिआबका छोराहरू दातान र अबीरामलाई के गर्नुभयो, जब इस्राएलको बीचमा धर्ती फाटेर तिनीहरूका परिवार, तिनीहरूका पालहरू र तिनीहरूका हरेक चीजसहित निलिदिएको कुराहरू देखेकै छैनन्।
[7] तर तिमीहरूले याहवेहले गर्नुभएका यी सबै महान् कामहरू आफ्नै आँखाले देखेका छौ।
[8] यसकारण मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू सबै पालन गर, ताकि तिमीहरूले यर्दन पार गरेर जाने बल प्राप्त गर्न सक। अनि देशभित्र गएर अधिकार प्राप्त गर्न सक।
[9] अनि याहवेहले तिमीहरूका पितापुर्खाहरू र तिनीहरूका सन्तानलाई दिनेछु भनी शपथ खानुभएको त्यो दूध र मह बग्ने देशमा तिमीहरू दीर्घायु भई बाँच्न सक।
[10] तिमीहरूले गएर अधिकार गर्न लागेको देश तिमीहरूले छोडेर आएको इजिप्टजस्तो छैन, जहाँ तिमीहरूले बिउ छरेर करेसाबारीमा खुट्टाको प्रयोगले सिँचाइ गर्नुपर्थ्यो।
[11] तर तिमीहरू यर्दन पार गरेर अधिकार गर्न गइरहेको देशका डाँडा र बेँसीहरूलाई आकाशबाट परेको झरीले भिजाउँछ।
[12] त्यो देश याहवेह तिमीहरूका परमेश्वरले रेखदेख गर्नुहुन्छ; त्यस देशमा याहवेह तिमीहरूका परमेश्वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्मै निरन्तर रहिरहन्छ।
[13] यसकारण यदि आज मैले तिमीहरूलाई दिइरहेका आज्ञाहरू तिमीहरूले इमानदारीतासाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ र आफ्ना सारा हृदय र सारा प्राणले उहाँको सेवा गर्यौ भने,
[14] म तिमीहरूको देशमा शरद र बसन्त दुवै ऋतुमा वर्षा पठाउनेछु, ताकि तिमीहरूले आफ्ना अन्न, नयाँ दाखमद्य र जैतुनको तेल बटुल्न सक।
[15] म तिमीहरूका गाईबस्तुका निम्ति जमिनमा घाँस जुटाइदिनेछु। अनि तिमीहरू खानेछौ र तृप्त हुनेछौ।
[16] होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवी-देवताहरूको सेवा गरौला र आराधना गरौला।
[17] यसो गर्यौ भने याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ; अनि उहाँले पानी नपरोस् भनेर आकाश बन्द गरिदिनुहुनेछ। तब जमिनले उब्जनी दिनेछैन र याहवेहले तिमीहरूलाई दिनुहुने उत्तम देशबाट तिमीहरू चाँडै नष्ट हुनेछौ।
[18] मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा राख; यिनलाई तिमीहरूका आफ्ना हातमा र आफ्ना निधारमा चिन्हको रूपमा बाँधिराख।
[19] आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ।
[20] यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख;
[21] ताकि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमीहरू र तिमीहरूका छोराछोरीहरू पृथ्वीमाथि आकाश रहुन्जेल बाँचिरहून्।
[22] यदि मैले तिमीहरूलाई दिइरहेका सबै आज्ञाहरू तिमीहरूले होसियारीसाथ पालन गर्यौ, याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका सबै मार्गहरूमा आज्ञाकारी भई हिँड्न र उहाँमा लागिरहनका निम्ति सबै आज्ञाहरू पालन गर्यौ भने,
[23] याहवेहले यी सबै जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछ; अनि तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई तिमीहरूले अधीनमा लिनेछौ।
[24] तिमीहरूले आफ्ना खुट्टाले टेकेका हरेक ठाउँ तिमीहरूको हुनेछ: तिमीहरूको प्रान्त उजाडस्थानदेखि लेबनानसम्म र यूफ्रेटिस नदीदेखि भूमध्य सागरसम्म फैलिनेछ।
[25] कुनै पनि मानिस तिमीहरूको विरुद्धमा खडा हुन सक्नेछैन। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू जहाँ गए तापनि सारा देशभरि तिमीहरूको डर र आतङ्क हालिदिनुहुनेछ।
[26] हेर, मैले आज तिमीहरूका सामु आशिष् र श्राप राखिदिएको छु।
[27] मैले आज तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू यदि तिमीहरूले पालन गर्यौ भने आशिष् पाउनेछौ।
[28] तर यदि तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याएर आज मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू तिमीहरूले पालन गरेनौ भने श्राप पाउनेछौ।
[29] जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूले अधिकार गर्न पस्न लागेको देशमा तिमीहरूलाई ल्याउनुहुनेछ, तब तिमीहरूले गीरीज्जीम डाँडामा आशिष् र एबाल डाँडामा श्राप घोषणा गर्नू।
[30] तिमीहरूलाई थाहै छ, यी पर्वतहरू गिलगालको छेउका अराबामा बस्ने कनानीहरूको प्रान्तमा मोरेको फलाँटहरूका छेउमा घाम अस्ताउने दिशापट्टि, बाटोको पश्चिम भागमा यर्दनको पारि छन्।
[31] याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्न र त्यस देशमा अधिकार गर्नलाई यर्दन पार गर्न लागेका छौ। जब तिमीहरूले त्यस देशलाई अधीनमा लिएर त्यसमा बस्नेछौ,
[32] तब मैले आज तिमीहरूका अगि राखिदिएका सबै उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।