Skip to content
Opens in a new window
Listen to this chapter • 4:55

[1] वास्तवमा लेवीको पुजारीहरू कुलले इस्राएलसँग कुनै अंश र उत्तराधिकारको भाग पाउनेछैनन्। तिनीहरू याहवेहलाई चढाइएको भेटीद्वारा नै जिउनेछन्। किनकि तिनीहरूले पाउने अंश त्यही हो।

[2] तिनीहरूका इस्राएली दाजुभाइहरूका बीचमा तिनीहरूको कुनै उत्तराधिकार हुनेछैन। याहवेहले प्रतिज्ञा गर्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकारको भाग हुनुहुन्छ।

[3] गोरु अथवा भेडा बलिदान गर्दा मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही हो: काँध, टाउकोको मासु र भित्री भागहरू।

[4] तिमीहरूले तिनीहरूलाई तिमीहरूका अन्‍न, नयाँ दाखमद्य, जैतुन तेलको पहिलो फल, र तिमीहरूका भेडाको कत्रेको ऊनको पहिलो भाग दिनुपर्छ।

[5] किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै कुलहरूबाट लेवीहरूलाई याहवेहको नाममा खडा भई सेवा गर्नलाई सधैँका निम्ति चुन्‍नुभएको छ।

[6] यदि लेवीहरू इस्राएलमा आफू बसेको कुनै पनि सहरबाट सरेर याहवेहले चुन्‍नुहुने ठाउँमा सेवाको भावना लिएर आउँछन् भने,

[7] तिनीहरूले याहवेहको उपस्थितिमा आफ्ना सङ्गी-लेवीहरूले सेवा गरेझैँ याहवेह तिनीहरूका परमेश्‍वरको नाममा सेवा गर्न सक्छन्।

[8] तिनीहरूले आफ्नो परिवारको सम्पत्तिको बिक्रीबाट रकम पाए तापनि तिनीहरूले पुजारीहरूका बराबर थप हिस्सा पाउनुपर्छ।

[9] जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्छौ, तब त्यहाँका जातिहरूका घृणित चालहरूको अनुसरण गर्न नसिक।

[10] तिमीहरूमध्ये कसैले पनि आफ्ना छोरा वा छोरीलाई आगोमा बलिदान गरेको, जोखना हेरेको वा तन्त्रमन्त्र गरेको, जोखना हेर्ने, तन्त्रमन्त्र गर्ने कार्यमा संलग्न रहेको नभेट्टाइयोस्,

[11] अथवा टुनामुना गर्ने, प्रेत-आत्मा जगाउने, तन्त्रमन्त्रको काम गर्ने वा प्रेत-आत्मासँग कुरा गर्ने कोही पनि नभेट्टाइयोस्।

[12] यी कुराहरू गर्ने जोसुकै होस्, याहवेहले घृणा गर्नुहुन्छ। यस्ता घिनलाग्दा कामहरूको कारण नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामुबाट ती जातिहरूलाई धपाउँदैहुनुहुन्छ।

[13] तिमीहरूचाहिँ याहवेह तिमीहरूका परमेश्‍वरको सामु निर्दोष हुनुपर्छ।

[14] तिमीहरूले अधीनमा पार्ने जातिहरूले चाहिँ जोखना हेर्ने र तन्त्रमन्त्र गर्नेहरूका कुरा सुन्छन्। तर तिमीहरूलाई चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरले यसो गर्न निषेध गर्नुभएको छ।

[15] याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नुपर्छ।

[16] किनकि तिमीहरूले सभाको दिन होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्‍वरसँग यसो भनेर बिन्ती गरेका थियौ, “अब उसो याहवेह हाम्रा परमेश्‍वरको सोर हामीले सुन्‍न नपरोस्, न त यस्तो भयङ्ककर आगो नै देख्न परोस्; नत्रता हामी मर्नेछौँ।”

[17] याहवेहले मलाई भन्‍नुभयो: “तिनीहरूले ठिकै भनेका छन्।

[18] म तिनीहरूका निम्ति तिनीहरूकै इस्राएली दाजुभाइहरू बीचबाट तँजस्तै एउटा अगमवक्ता खडा गर्नेछु। अनि म मेरा वचनहरू त्यसका मुखमा हालिदिनेछु। मैले त्यसलाई आज्ञा गरेका हरेक कुरा त्यसले तिनीहरूलाई भन्‍नेछन्।

[19] यदि त्यस अगमवक्ताले मेरो नाममा भनेका मेरा वचनहरू कसैले सुन्दैन भने म आफैँले त्यसको लेखा लिनेछु।

[20] तर कुनै अगमवक्ताले मैले त्यसलाई नभनेका कुराहरू पनि मेरो नाममा बोल्ने साहस गर्छ, अथवा कुनै अगमवक्ताले अरू देवी-देवताहरूका नाममा बोल्छ भने त्यो अगमवक्तालाई मारिनुपर्छ।”

[21] तिमीहरूले यसरी सोचौला, “याहवेहबाट आएको सन्देश हो कि होइन भनी हामीले कसरी जान्‍ने?”

[22] यदि कुनै अगमवक्ताले याहवेहको नाममा घोषणा गरेको कुरा पूरा भएन अथवा सत्य ठहरिएन भने त्यो सन्देश याहवेहबाट आएको होइन। त्यस अगमवक्ताले मनगढन्ते कुरा भनेको हो। यसकारण त्यससँग नडराओ।

व्यवस्था — Chapters