[1] मोशाले यर्दनको पूर्वको उजाडस्थानमा अर्थात् अराबामा सूपको सामु—पारान एकापट्टि र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाबको बीचमा सबै इस्राएलीहरूलाई भनेका वचनहरू यिनै हुन्।
[2] (सेइर पर्वतको बाटोबाट होरेब पर्वतहुँदै कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)।
[3] चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन याहवेहले इस्राएलीहरूको बारेमा मोशालाई आज्ञा दिनुभएका सबै कुरा तिनले तिनीहरूलाई घोषणा गरे।
[4] योचाहिँ मोशाले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानको राजा ओगलाई एद्रईमा जितेपछिको कुरा हो।
[5] यर्दन नदीको पूर्वपट्टि मोआबको प्रान्तमा मोशाले यही व्यवस्था व्याख्या गर्दै भने:
[6] होरेब पर्वतमा याहवेह हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेको धेरै समय भइसक्यो।
[7] अब तिमीहरूको छाउनी तोडेर एमोरीहरूको पहाडी मुलुकतिर अगि बढ। अराबाका सबै छिमेकी प्रान्तहरूमा, पर्वतहरूमा, पश्चिमका तराईहरूमा, दक्षिणमा र किनारका ठाउँहरूहुँदै, कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ।
[8] हेर, मैले यो देश तिमीहरूलाई दिएको छु। मैले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक, याकोब र तिनीहरूका सन्ततिलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिमीहरू गएर अधिकार गर।”
[9] मोशाले भने, “त्यस समय मैले तिमीहरूलाई भनेको थिएँ, म एकलै तिमीहरूको बोझ उठाउन सक्दिनँ।
[10] याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूको संख्यामा वृद्धि गरिदिनुभएको छ। आज तिमीहरू आकाशका ताराहरूझैँ अनगन्ती भएका छौ।
[11] तिमीहरूका पितापुर्खाहरूका परमेश्वर याहवेहले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूलाई हजार गुणा वृद्धि गरिदेऊन्, र आशिष् देऊन्।
[12] तर म आफैँले मात्र तिमीहरूका समस्याहरू, तिमीहरूका बोझहरू र तिमीहरूका झगडाहरू कसरी झेल्न सक्छु र?
[13] तिमीहरूका कुलहरूबाट केही बुद्धिमान्, समझदार र अनुभवी मानिसहरूलाई रोज। अनि म तिनीहरूलाई तिमीहरूमाथि अगुवा नियुक्त गर्नेछु।”
[14] तिमीहरूले मलाई जवाफ दियौ, “तपाईंले दिनुभएको प्रस्ताव असल छ।”
[15] यसकारण मैले तिमीहरूका कुलहरूबाट मुख्य व्यक्ति, बुद्धिमान् र अनुभवी मानिसहरूलाई लिएर तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचासमाथि र दश-दशमाथि प्रशासकको रूपमा तिमीहरूमाथि अधिकार गर्नलाई नियुक्त गरेँ।
[16] अनि त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर जिम्मा दिएको थिएँ, “तिमीहरूका मानिसहरूका बीचका झगडा सुन। चाहे त्यो मुद्दा इस्राएलीहरूका बीचमा होस् अथवा तिनीहरूमध्ये एक जना इस्राएली र अर्कोचाहिँ तिमीहरूसँग बसोबास गर्ने विदेशीको बीचमा होस्। न्याय उचित रूपले गर।
[17] न्याय गर्दा पक्षपात नगर्नू। ठूला र साना दुवैका कुरा तिमीहरूले समान रूपले सुन्नू। न्याय परमेश्वरबाट भएको हुनाले कुनै मानिससँग नडराउनू। तिमीहरूका निम्ति अति कठिन भएको मुद्दा मकहाँ ल्याउनू। म त्यसको फैसला गर्नेछु।”
[18] अनि मैले त्यस बेला तिमीहरूले गर्नुपर्ने हरेक कुरा तिमीहरूलाई भनेको थिएँ।
[19] त्यसपछि याहवेह हाम्रा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएझैँ, हामी होरेब पर्वतबाट निस्क्यौँ। अनि तिमीहरूले देखेका डरलाग्दो र ठूलो उजाडस्थानबाट भएर हामी एमोरीहरूको पहाडी देशतिर गयौँ। यसरी हामी कादेश-बर्नेमा पुग्यौँ।
[20] तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ, जुन देश याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुनेछ।
[21] हेर, याहवेह तिमीहरूका परमेश्वरले यो देश तिमीहरूलाई दिनुभएको छ। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ त्यस देशमा तिमीहरू उक्लेर जाओ, र अधिकार गर। तिमीहरू नडराओ; हतोत्साहित नहोओ।”
[22] तब तिमीहरू सबै मकहाँ आएर भन्यौ, “हाम्रा निम्ति त्यस देशको जासुस गर्नलाई हामीले जानुपर्ने बाटो र हामी पुग्ने सहरहरूको बारेमा जानकारी ल्याउनलाई हाम्रा अगि जासुसी गर्ने मानिसहरू पठाऔँ।”
[23] यो कुरो मलाई असल लाग्यो; अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जनालाई छानेँ।
[24] तिनीहरू हिँडे, र पहाडी इलाकातिर पुगे। तब तिनीहरू एश्कोलको बेँसीमा आए, र त्यस ठाउँको जासुस गरे।
[25] तिनीहरूले साथमा त्यस देशका केही फलफूल हामीहरूकहाँ ल्याए, र तिनीहरूले जानकारी दिए, “याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देश असल रहेछ।”
[26] तर तिमीहरूले अगि जाने इच्छा गरेनौ; तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञाको विरुद्ध विद्रोह गर्यौ।
[27] तिमीहरूले आफ्ना पालहरूमा गनगन गर्दै भन्यौ, “याहवेहले हामीलाई घृणा गर्नुहुन्छ। यसैकारण उहाँले हामीलाई एमोरीहरूका हातद्वारा नष्ट गर्नलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
[28] हामी कहाँ जाऔँ? हाम्रा दाजुभाइहरूले हामीलाई भयभीत बनाएका छन्। तिनीहरू भन्छन्, ‘ती मानिसहरू हामीभन्दा बलिया र अग्ला छन्। त्यहाँका सहरहरू ठूला आकाशसम्म पुग्ने पर्खाल भएका छन्। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ।’ ”
[29] तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू भयभीत नहोओ; र तिनीहरूसँग नडराओ।
[30] याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका अगि जानुहुनेछ। अनि तिमीहरूका पक्षमा लड्नुहुनेछ; जसरी इजिप्टमा तिमीहरूका निम्ति तिमीहरूकै आँखाको अगि उजाडस्थानमा लड्नुभएको थियो।
[31] अनि तिमीहरू यस ठाउँसम्म नआइपुगुन्जेल याहवेह तिमीहरूका परमेश्वरले आफ्ना छोराछोरीलाई बुबाले बोकेझैँ उहाँले बाटोभरि उजाडस्थानमा तिमीहरूलाई कसरी बोक्नुभयो, त्यो तिमीहरूले देख्यौ।”
[32] तर अझ पनि याहवेह तिमीहरूका परमेश्वरमाथि तिमीहरूले भरोसा गरेनौ।
[33] उहाँ तिमीहरूले छाउनी बनाउने ठाउँहरू खोज्न र तिमीहरूले हिँड्नुपर्ने बाटो देखाउन राति आगोमा र दिउँसो बादलमा भई तिमीहरूलाई बाटो देखाउन अगि-अगि जानुभयो।
[34] जब तिमीहरूको गनगन याहवेहले सुन्नुभयो, तब उहाँ रिसाउनुभयो। अनि उहाँले शपथ लिनुभयो,
[35] “मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको असल देशलाई यस दुष्ट पुस्ताको एउटै मानिसले पनि देख्नेछैन।
[36] यपून्नेको छोरा कालेबचाहिँ अपवाद हो। उसले मात्र त्यो देश देख्नेछ। अनि म त्यसलाई र त्यसका सन्तानलाई त्यसले आफ्नो पाइला टेकेको देश दिनेछु। किनकि त्यसले याहवेहलाई आफ्नो सारा हृदयले पछ्याएको छ।”
[37] तिमीहरूकै कारण याहवेह मसँग पनि रिसाउनुभयो र भन्नुभयो, “तँ पनि त्यो देशमा प्रवेश गर्नेछैनस्।
[38] तर तेरो सहायक नूनका छोरा यहोशूले त्यहाँ प्रवेश गर्नेछ। त्यसलाई उत्साह दे। किनकि त्यसले त्यस देशमा अधिकार गर्नलाई इस्राएलीहरूलाई डोर्याउनेछ।
[39] अनि तिमीहरूका छोराछोरीहरू, जसलाई कैदमा लगिनेछ भनी तिमीहरू भन्छौ, जो असल र खराब अहिले छुट्याउन सक्दैनन्, तिनीहरू त्यस देशमा प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्।
[40] तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोतिर लाग।”
[41] तब तिमीहरूले मलाई भन्यौ, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ। याहवेह हाम्रा परमेश्वरले आज्ञा गर्नुभएझैँ हामी अगि जानेछौँ र लडाइँ गर्नेछौँ।” यसरी तिमीहरू हरेकले त्यस पहाडी मुलुकमा उक्लेर जान सजिलो छ भनेर आफ्ना हातहतियारहरू भिर्यौ।
[42] तर याहवेहले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘तिमीहरू लडाइँ गर्न नजाओ; किनकि म तिमीहरूसँग हुनेछैन। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।’ ”
[43] यसैकारण मैले तिमीहरूलाई भनेँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले याहवेहको आज्ञाको विरोध गर्यौ र तिमीहरूको घमण्डमा त्यस पहाडी मुलुकको टुप्पोमा युद्ध गर्न तिमीहरू मोर्चा बाँधेर उक्लियौ।
[44] तब त्यस पहाडी मुलुकमा बस्ने एमोरीहरू तिमीहरूको विरुद्धमा निस्किआए। तिनीहरूले तिमीहरूलाई मौरीहरूका हूलले झैँ खेदे, र तिमीहरूलाई सेइरदेखि होर्मासम्मै खेदेर तिमीहरूलाई जिते।
[45] तिमीहरू फर्केर आयौ र याहवेहको सामु रोयौ। तर उहाँले तिमीहरूको रुवाइमा ध्यानै दिनुभएन, र तिमीहरूको पुकार सुन्नुभएन।
[46] यसकारण तिमीहरू कादेशमा धेरै दिन बस्यौ—वास्तवमा तिमीहरूले सबै समय त्यहाँ बितायौ।