[1] आबीब महिनालाई पालन गर्नू, र याहवेह तिमीहरूका परमेश्वरको निस्तार चाड उत्सव मान्नू। किनकि उहाँले आबीब महिनामा तिमीहरूलाई इजिप्टबाट राति नै निकालेर ल्याउनुभएको थियो।
[2] अनि तिमीहरूले याहवेह आफ्ना परमेश्वरका निम्ति बथान अथवा बगालबाट एउटा पशु निस्तार चाडको रूपमा त्यस ठाउँमा बलिदान चढाउनू; जुन याहवेहले त्यहाँ आफ्नो नाम राख्नका निम्ति चुन्नुहुनेछ।
[3] त्यसलाई खमिर हालेको रोटीसँग नखानू, तर सात दिनसम्म अखमिरी रोटी, अर्थात् कष्टको रोटी खानू। किनकि तिमीहरूले इजिप्ट देशलाई हतार-हतारमा छाडेर आएका थियौ; ताकि तिमीहरूका जीवनभरि इजिप्टबाट निस्केको समयलाई तिमीहरूले स्मरण गर्न सक।
[4] तिमीहरूका सारा देशभरि सात दिनसम्म तिमीहरूसँग खमिर नभेट्टाइयोस्। तिमीहरूले पहिलो दिनको साँझमा बलिदान चढाएको मासुको कुनै पनि भाग बिहानसम्म नरहोस्।
[5] याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूले निस्तार चाडको बलिदान चढाउनुहुँदैन।
[6] उहाँले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्नुहुने त्यस ठाउँमा मात्र चढाउनुपर्छ। त्यहाँ तिमीहरू इजिप्टबाट निस्केर आएको दिनको सम्झनामा वार्षिक उत्सवको निस्तार चाड साँझपख, घाम अस्ताउन लागेको बेला बलिदान चढाउनू।
[7] याहवेह तिमीहरूका परमेश्वरले चुन्नुहुने त्यही ठाउँमा तिमीहरूले त्यसलाई पोलेर खाओ। त्यसपछि तिमीहरू बिहानपख आफ्ना पालहरूमा फर्कनू।
[8] छ दिनसम्म अखमिरी रोटी खानू; अनि सातौँ दिनमा चाहिँ याहवेह तिमीहरूका परमेश्वरका निम्ति एउटा पवित्र भेला राख्नू; र त्यस दिन केही काम नगर्नू।
[9] तिमीहरूले खेतको अन्नबाली काट्न थालेको दिनदेखि सात हप्ता गन्नू।
[10] त्यसपछि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष् अनुसारको स्वेच्छा-भेटी चढाएर याहवेह तिमीहरूका परमेश्वरका निम्ति साताहरूका चाड मनाउनू।
[11] अनि तिमीहरू आफ्ना छोराछोरीहरू, आफ्ना सेवक वा सेविकाहरू, तिमीहरूका सहरहरूमा भएका लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूसँग बस्ने विधवाहरूले आफ्नो नामको खातिर याहवेह तिमीहरूका परमेश्वरले चुन्नुहुने वासस्थानको ठाउँमा उहाँको सामु आनन्द मनाउनू।
[12] तिमीहरू पनि इजिप्टमा दास थियौ भन्ने कुरा याद राख्नू। अनि यी उर्दीहरू होसियारीसाथ पालन गर्नू।
[13] तिमीहरूले आफ्ना खला र आफ्ना दाखरसको कोलका उब्जनी बाली बटुलिसकेपछि सात दिनसम्म छाप्रोबासको चाड मनाउनू।
[14] तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक र सेविकाहरू, लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूका सहरहरूमा बस्ने विधवाहरू तिमीहरू सबैले छाप्रोबासको चाडमा आनन्द मनाऊन्।
[15] याहवेहले चुन्नुहुने ठाउँमा सात दिनसम्म याहवेह तिमीहरूका परमेश्वरको निम्ति यो चाड मनाउनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका सबै खेतीबाली र तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। अनि तिमीहरूको आनन्द पूरा हुनेछ।
[16] तिमीहरूका सबै पुरुषहरू वर्षमा तीनपल्ट याहवेह तिमीहरूका परमेश्वरले चुन्नुहुने ठाउँमा उहाँको सामु देखा पर्नुपर्छ: अर्थात् अखमिरी रोटीको चाडमा, साताहरूका चाडमा र छाप्रोबासको चाडमा तिमीहरूका सबै पुरुषहरू देखा परून्। याहवेहको सामु कोही पनि रित्तो हात देखा नपरोस्।
[17] याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएअनुसार हरेकले भेटी ल्याउनुपर्छ।
[18] याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने हरेक सहरमा तिमीहरूले प्रत्येक कुलका निम्ति न्यायकर्ताहरू र अधिकृतहरू नियुक्त गर्नू। अनि तिनीहरूले मानिसहरूलाई ठिकसँग न्याय गर्नेछन्।
[19] न्यायमा भ्रष्टता नगर्नू, अर्थात् पक्षपात नगर्नू; न त घूस नै लिनू। किनकि घूसले बुद्धिमान्को आँखा अन्धा तुल्याइदिन्छ र निर्दोषका कुरालाई बङ्ग्याइदिन्छ।
[20] न्याय, केवल न्यायलाई मात्र पालन गर; ताकि तिमीहरू जीवित रहन सक। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले अधिकार गर्न सक्नेछौ।
[21] याहवेह तिमीहरूका परमेश्वरका निम्ति तिमीहरूले बनाएको वेदीको छेउमा काठको अशेरा देवीको कुनै खम्बा खडा नगर्नू।
[22] अनि कुनै चोखो ढुङ्गा खडा नगर्नू; किनकि याहवेह तिमीहरूका परमेश्वरले यी कुराहरूलाई घृणा गर्नुहुन्छ।