Skip to content
Opens in a new window
Listen to this chapter • 5:08

[1] जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशका जातिहरूलाई नाश गरी सक्नुहुन्छ, र जब तिमीहरूले तिनीहरूलाई धपाएर तिनीहरूका सहरहरू र घरहरूमा बसोबास गर्छौ,

[2] तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू।

[3] याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तीन भागमा विभाजन गर्नू। ती सहरहरूमा पुग्नलाई बाटोहरू बनाउनू, ताकि कुनै पनि ज्यानमारा शरण-नगरमा भागेर जान सकोस्।

[4] यो नियम कुनै व्यक्तिलाई मार्ने कुनै पनि हत्यारा सम्बन्धी हो: जो आफ्नो प्राण बचाउनलाई त्यहाँ भागेर जान्छ; जसले आफ्नो छिमेकीलाई कुनै दुश्मनीको कारणविना अनजानमा मार्दछ।

[5] मानौँ कुनै मानिस आफ्नो छिमेकीसँग दाउरा काट्न वनमा जान्छ, र त्यसले रूख ढाल्नलाई आफ्नो बन्चरो चलाउँदा त्यसको बिँडबाट बन्चरो खुस्केर त्यस छिमेकीलाई लागेर मर्‍यो भने त्यो मानिस यी शरण-नगरहरूमध्ये एउटामा भागेर आफ्नो प्राण बचाउन सक्छ।

[6] नत्रता शरणस्थानको बाटो लामो भएको कारण बदला लिनेले आफ्नो क्रोधमा उसलाई खेदेर भेट्टाउन सक्छ र मार्न सक्छ; जबकि ऊ मृत्युदण्डको योग्य नै थिएन। किनकि उसको मनमा मृतक छिमेकीप्रति कुनै रिस-राग नै थिएन।

[7] यसैकारण मैले तिमीहरूलाई आफ्ना निम्ति तीन वटा सहरहरू अलग गर्नू भन्‍ने आज्ञा दिँदैछु।

[8] यदि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तिमीहरूका इलाका बढाइदिनुभयो, र उहाँले तिनीहरूसँग प्रतिज्ञा गर्नुभएको सम्पूर्ण देश तिमीहरूलाई दिनुभयो भने,

[9] आज मैले तिमीहरूलाई आज्ञा दिएका सबै नियमहरू होसियारीसाथ पालन गर्‍यौ, अर्थात् याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ र उहाँका मार्गमा सधैँ आज्ञाकारी भयौ भने तिमीहरूले अझ तीन वटा सहरहरू थप्नू।

[10] याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने तिमीहरूको देशमा निर्दोषको रगत नबगोस् भनेर तिमीहरूले यसो गर्नू; ताकि तिमीहरू रगतको दोषी हुन नपरोस्।

[11] तर यदि कुनै मानिसले आफ्नो छिमेकीलाई घृणाको भावनाले ढुकेर कुटपिट गरेर मार्‍यो; अनि यी कुनै सहरहरूमा भागेर गयो भने,

[12] त्यस सहरका प्रधानहरूले हत्यारालाई त्यस सहरबाट फर्काएर ल्याउनेछन् र त्यस दोषीलाई रगतको बदला लिनेको हातमा मार्नको लागि सुम्पिदिनेछन्।

[13] त्यस हत्यारालाई दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषको रगत बगाउनेको दोष हटाउनुपर्छ, ताकि तिमीहरूको भलो होस्।

[14] याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्नू भनी दिनुहुने देशमा तिमीहरूले पाएको अधिकारको भागमा तिमीहरूका पुर्खाहरूले लगाएका तिमीहरूका छिमेकीका साँधसिमानाको ढुङ्गा नहटाउनू।

[15] कुनै अपराध वा अभियोग लगाइएको व्यक्तिलाई दोषी ठहराउन एक जना साक्षी मात्र पर्याप्‍त हुँदैन। दुई वा तीन जना व्यक्तिहरूको साक्षीद्वारा मात्र अपराधीलाई दोषी प्रमाणित गर्न सकिन्छ।

[16] यदि कसैलाई अपराधको अभियोग लगाउन कोही झूटो साक्षी खडा भयो भने,

[17] त्यस झगडामा संलग्न रहने ती दुई मानिसहरूलाई त्यस बेलाका पुजारीहरू र न्यायकर्ताहरूको सामु याहवेहको उपस्थितिमा खडा गराउनुपर्छ।

[18] ती न्यायकर्ताहरूले पूरा रूपले जाँच गर्नुपर्छ। यदि त्यस साक्षीले आफ्नो इस्राएली दाजुभाइको विरुद्धमा झूटो साक्षी दिएर दोष लगाएको कुरा प्रमाणित भयो भने,

[19] त्यसलाई दोष लगाएको व्यक्तिले पाउनुपर्ने सजायजस्तै सजाय दिनू। यसरी तिमीहरूका बीचबाट तिमीहरूले दुष्‍टता हटाउनुपर्छ।

[20] बाँकी रहेका मानिसहरूले यस कुरालाई सुन्‍नेछन् र डराउनेछन्। अनि तिमीहरूको बीचमा यस्तो दुष्‍ट कुरा कहिल्यै हुनेछैन।

[21] तिमीहरूले अपराधीलाई दया नदेखाओ: प्राणको सट्टा प्राण, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा हुनुपर्छ।

व्यवस्था — Chapters