[1] यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन,
[2] किनकि जीवन दिनुहुने परमेश्वरको आत्माको व्यवस्थाले ख्रीष्ट येशूद्वारा तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्त्र गरिदिएको छ।
[3] किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो
[4] कि, हामीमा जो पापमय स्वभावअनुसार होइन, तर परमेश्वरको आत्माअनुसार जिउने गर्दछौं। व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्।
[5] पापमय स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्।
[6] किनकि पापमय स्वभावद्वारा शासन गरिएको मन मृत्यु हो, तर परमेश्वरको आत्माद्वारा शासन गरिएको मन जीवन र शान्ति हो।
[7] पापमय स्वभावद्वारा शासन गरिएको मन परमेश्वरको विरुद्धमा हुनु हो; त्यो परमेश्वरको व्यवस्थाको अधीनतामा हुँदैन, न ता हुन नै सक्छ।
[8] पापमय स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्।
[9] यदि वास्तवमा परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा हुन्छौ। यदि कसैसँग ख्रीष्टको आत्मा छैन भने तिनीहरू ख्रीष्टका हुनै सक्दैनन्।
[10] तर यदि तिमीहरूसँग ख्रीष्ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको हुन्छ, तर धार्मिकताले गर्दा तिमीहरूको आत्मा जीवित हुन्छ।
[11] अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूमा वास गर्नुहुन्छ।
[12] यसकारण दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूका पापमय स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ।
[13] किनकि यदि तिमी पापको स्वभावअनुसार जिउँछौ भने तिमी मर्नेछौ; तर यदि आत्माद्वारा तिमीले शरीरका दुष्ट कामलाई मृत तुल्यायौ भने तिमी बाँच्नेछौ।
[14] किनकि तिनीहरू जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान हुन्।
[15] किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई “अब्बा, पिता” भनी पुकार्दछौं।
[16] परमेश्वरका आत्मा आफैले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौं भनी गवाही दिनुहुन्छ।
[17] यदि हामी उहाँका सन्तान हौं भने उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग सह उत्तराधिकारी पनि हौं। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौं भने उहाँको महिमामा पनि सहभागी हुनेछौं।
[18] म विचार गर्दछु, कि हाम्रा वर्तमान कष्टहरू हामीमा पछि प्रकट हुने महिमाको तुलनामा केही पनि होइन।
[19] किनकि सृष्टि बडो उत्सुकतासाथ परमेश्वरका सन्तानहरू प्रकट होस् भनी प्रतीक्षा गरिरहेको छ।
[20] किनकि सृष्टिलाई श्राप पर्यो, यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले यसलाई अधीनतामा राख्नुभयो, यस आशामा
[21] कि, सृष्टि स्वयम् पनि विनाशको दासत्वबाट मुक्त भएर परमेश्वरका सन्तानका महिमित स्वतन्त्रता प्राप्त गर्न सकोस्।
[22] हामी जान्दछौं कि, सारा सृष्टि अहिलेसम्म बच्चा जन्माउने प्रसव पीडामाझैं छटपटिरहेको छ।
[23] त्यति मात्र होइनन्, तर हामी पनि, जोसँग पवित्र आत्माको पहिलो फल छ, धर्मपुत्रका रूपमा ग्रहण गराइन हाम्रो शरीरको उद्धारको निम्ति प्रतीक्षा गर्दै उत्कट इच्छाका साथ भित्रीरूपमा छटपटिरहेका छौं।
[24] यही आशामा हामीले मुक्ति पाएका छौं। तर देखिने आशा, आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र?
[25] तर यदि हामीले जे प्राप्त गरेका छैनौं, त्यस कुराको हामी आशा गर्छौं भने ता, हामी धैर्यतासाथ त्यसको प्रतीक्षा गर्छौं।
[26] यसरी नै पवित्र आत्माले हामीलाई हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो, सो हामी जान्दैनौं, तर पवित्र आत्मा आफैले हाम्रा निम्ति शब्दले व्यक्त गर्न नसकिने सुस्केरामा अन्तर्विन्ती गरिदिनुहुन्छ।
[27] परमेश्वर, जसले हाम्रो हृदयको खोजी गर्नुहुन्छ, उहाँले आत्माका विचार जान्नुहुन्छ, किनभने पवित्र आत्माले परमेश्वरका सन्तहरूका निम्ति परमेश्वरको इच्छाअनुसार विन्ती गरिदिनुहुन्छ।
[28] हामी जान्दछौं कि, परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति, उहाँले हरेक कुरामा भलाइ नै गर्नुहुन्छ।
[29] किनकि परमेश्वरले जसलाई पहिल्यैबाट जान्नुभएको थियो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूपमा हुन पूर्वनियुक्त गर्नुभयो, ताकि धेरै दाजुभाइ-दिदीबहिनीहरूमध्ये उहाँचाहिँ जेठो ठहरिनुभएको होस्।
[30] अनि जसलाई उहाँले पूर्वनियुक्त गर्नुभयो, उनीहरूलाई बोलाउनु पनि भयो; जसलाई उहाँले बोलाउनुभयो, उनीहरूलाई धर्मी पनि ठहराउनुभयो; जसलाई उहाँले धर्मी ठहराउनुभयो, उनीहरूलाई महिमित पनि पार्नुभयो।
[31] अब हामी यी कुराहरूको बारेमा के भन्ने त? यदि परमेश्वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र?
[32] जसले आफ्ना निज पुत्रलाई त बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति मर्नका लागि दिइहाल्नुभयो, के उहाँले आफ्नो पुत्रसहित उदारतासाथ हामीलाई सबै थोकहरू दिनुहुन्न र?
[33] परमेश्वरले जसलाई चुन्नुभएको छ, उनीहरूलाई कसले दोष लगाउन सक्छ र? परमेश्वरले नै उनीहरूलाई धर्मी ठहराउनुहुन्छ।
[34] त्यसो हो भने दोष लाउने को हो त? कोही छैन, ख्रीष्ट येशू जो मर्नुभयो; त्यसभन्दा बढी, उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ जो परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ, र हाम्रो निम्ति अन्तर्विन्ती गरिरहनुभएको छ।
[35] हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःखकष्टले वा कठिनाइले वा सतावटले वा अनिकालले वा नग्नताले वा जोखिमले कि तरवारले?
[36] यस्तो लेखिएको छ: “तपाईंको निम्ति हामीले दिनभरि मृत्युको सामना गर्दछौं; हामी मारिनलाई लागिएका भेडाझैं तुल्याइएका छौं।”
[37] होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा, हामी विजयीहरूभन्दा पनि अझ बढी विजयी छौं।
[38] किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले,
[39] न कुनै उचाइले, न गहिराइले, न सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।