Skip to content
Opens in a new window
Listen to this chapter • 4:23

[1] अब शरीरअनुसार हाम्रा पुर्खा अब्राहामका बारेमा के भनौं त, उनले यस सम्बन्धमा के बुझे त?

[2] यदि अब्राहाम आफ्ना कामले धर्मी ठहराइएका भए उनले यसको घमण्ड गर्न सक्थे, तर परमेश्‍वरको अघि त होइन।

[3] धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”

[4] काम गर्नेले पाउने ज्याला उसलाई उपहारको रूपमा दिइँदैन, तर हकको रूपमा दिइन्छ।

[5] तथापि जसले काम गर्दैनन्, तर अधर्मीलाई धर्मी ठहराउनुहुने परमेश्‍वरमाथि विश्‍वास गर्छन् भने, तिनीहरूका विश्‍वास धार्मिकता गनिन्छ।

[6] कामविना नै परमेश्‍वरले धर्मी ठहराउनुहुने मानिसका बारेमा दाविदले पनि धन्यको भन्दछन्:

[7] “धन्य हुन् तिनीहरू, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्।

[8] धन्य हो त्यो मानिस, जसको पापको लेखा परमेश्‍वरले कहिल्यै गर्नुहुन्‍न।”

[9] के यो आशिष केवल खतनावालहरूका निम्ति मात्र हो कि खतना नभएकाहरूका निम्ति पनि हो? हामीले भन्दै आएका छौं कि, अब्राहामले परमेश्‍वरमा विश्‍वास गरेका कारण यो उनको निम्ति धार्मिकता गनिएको थियो।

[10] अब्राहामको विश्‍वास कुन आधारमा धार्मिकता ठहरियो? उनले खतना गरेपछि कि खतना हुन अघि धर्मी ठहरिए? तर उनको खतनापछि धर्मी ठहरिएको होइन, तर पहिले नै हो!

[11] उनको खतना नहुँदै विश्‍वासद्वारा पाइने धार्मिकताको छाप खतनाको चिन्हको रूपमा पाएका थिए। त्यसैले उनी खतनाविना नै विश्‍वासद्वारा धर्मी ठहरिएका सबैका आत्मिकी पिता हुन्।

[12] अनि उनी ती खतना भएकाहरूका पनि पिता हुन्, जसको खतना मात्र भएको होइन, तर जो त्यही विश्‍वासका पाइलामा हिँड्दछन्, जुन विश्‍वास खतना हुन अघि नै हाम्रा पिता अब्राहाममा थियो।

[13] अब्राहाम र उनका सन्तानहरूले संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा पाएका थिएनन्, तर विश्‍वासबाट आउने धार्मिकताद्वारा प्राप्‍त गरेका थिए।

[14] किनकि यदि व्यवस्थामा भर पर्नेहरू मात्र उत्तराधिकार हुने हो भने त विश्‍वास अनावश्यक र प्रतिज्ञा व्यर्थ हुन्छ।

[15] किनकि व्यवस्था भङ्ग गर्नाले परमेश्‍वर क्रोध ल्याउँछ। अनि जहाँ व्यवस्था छैन, त्यहाँ अपराध पनि हुँदैन।

[16] यसकारण प्रतिज्ञा विश्‍वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्‍चित होस्, व्यवस्था मान्‍नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्‍वास गर्नेहरूलाई पनि हो, किनकि उनी हामी सबैका पिता हुन्।

[17] यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्‍वरका सामु हाम्रा पिता हुन्, तिनले उनै परमेश्‍वरमाथि विश्‍वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ।

[18] आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्‍वास गरे, र उनलाई भनिएको जस्तै, “तेरो सन्तान पनि यस्तै असंख्य हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।

[19] प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि, विश्‍वासमा कमजोर भएनन्।

[20] परमेश्‍वरको प्रतिज्ञामा अविश्‍वास गरी विचलित भएनन्, तर परमेश्‍वरलाई महिमा दिँदै तिनी आफ्ना विश्‍वासमा झन् बलिया भए।

[21] अब्राहामलाई यो पूरा निश्‍चयता थियो कि, परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ।

[22] अब्राहामको यस्तै विश्‍वासले गर्दा, “यो उनको निम्ति धार्मिकता गनियो।”

[23] “यो उनको निम्ति धार्मिकता गनियो” भन्‍ने वचन उनका निम्ति मात्र लेखिएको थिएन,

[24] तर हाम्रा निम्ति पनि हो; जसले उहाँमाथि विश्‍वास गर्छौं, जसलाई हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुहुने परमेश्‍वरले धर्मी ठहराउनुहुन्छ।

[25] उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो।

रोमी — Chapters