Skip to content
Opens in a new window
Listen to this chapter • 3:56

[1] दाजुभाइ-दिदीबहिनीहरूहो, इस्राएलीहरूका लागि मेरो मनको इच्छा र परमेश्‍वरसँग प्रार्थना यही छ कि, उनीहरूले मुक्‍ति पाऊन्।

[2] किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु, तिनीहरू परमेश्‍वरप्रति जोशिला छन्, तर तिनीहरूका जोश सत्यताको ज्ञानमा आधारित छैन।

[3] किनकि परमेश्‍वरको धार्मिकताको बारेमा नजानेर तिनीहरूले आफ्नै धार्मिकताको स्थापना गर्न खोजे, तिनीहरूले आफैलाई परमेश्‍वरको धार्मिकताको अधीनतामा समर्पित गरेनन्।

[4] विश्‍वास गर्ने हरेक व्यक्‍ति धर्मी ठहरियोस् भनेर ख्रीष्‍ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।

[5] मोशाले व्यवस्थाद्वारा प्राप्‍त हुने धार्मिकताको बारेमा यसरी लेख्छन्: “जुन व्यक्‍तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जीवित रहन्छ।”

[6] तर विश्‍वासद्वारा प्राप्‍त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘को स्वर्गमा उक्लने?’ ” (अर्थात् ख्रीष्‍टलाई ओराल्ने)

[7] “अथवा ‘पातालमा को ओर्लने?’ ” (अर्थात् ख्रीष्‍टलाई मरेकाबाट जीवित पार्ने)

[8] तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ, तिम्रो मुखैमा छ र तिम्रो हृदयमा छ,” अर्थात् त्यही विश्‍वासको वचन जसलाई हामी घोषणा गर्दैछौं।

[9] यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्‍वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्‍वास गर्छौ भने तिम्रो मुक्‍ति हुनेछ।

[10] किनकि तिम्रो हृदयबाट तिमीले विश्‍वास गर्छौ, र धर्मी ठहरिन्छौ, अनि तिम्रो मुखले विश्‍वास स्वीकार गर्छौ, र उद्धार पाउँछौ।

[11] धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्‍वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।”

[12] किनकि यहूदी र गैरयहूदीमा केही भिन्‍नता छैन, उनै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष दिनुहुन्छ,

[13] किनकि, “प्रभुको नाउँ पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”

[14] तिनीहरूले विश्‍वास नै नगरेकोलाई कसरी पुकारा गर्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्‍वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्‍ने त?

[15] र प्रचारकहरूलाई कसैले नपठाएसम्म कसरी प्रचार गर्छन् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर छन्!”

[16] तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, हाम्रो वचनलाई कसले विश्‍वास गरेको छ र?”

[17] यसैले विश्‍वास वचनको सुनुवाइबाट आउँछ तथा सुनुवाइ ख्रीष्‍टको वचन प्रचारद्वारा आउँछ।

[18] तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्‍चय नै तिनीहरूले सुनेका छन्: “तिनीहरूका आवाज सारा पृथ्वीमा पुगेको छ, तिनीहरूका प्रचार संसारको अन्त्यसम्म पुगेको छ।”

[19] म फेरि सोध्न चाहन्छु: के इस्राएलीहरूले यो कुरा बुझेनन् त? सर्वप्रथम, मोशाले भन्दछन्; “जो एक जाति होइन, त्यसद्वारा म तिमीहरूलाई ईर्ष्यालु बनाउँछु; र एउटा अबुझ जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु।”

[20] अनि यशैयाले ठूलो साहससहित भन्दछन्, “जसले मलाई खोजेका थिएनन्, तिनीहरूले मलाई भेट्टाएका छन्; जसले मेरो खोजी नै गरेका थिएनन्, तिनीहरूसँग मैले आफूलाई प्रकट गरेको छु।”

[21] तर इस्राएलको बारेमा परमेश्‍वर भन्‍नुहुन्छ, “दिनभरि मैले मेरो हात अनाज्ञाकारी र हठी मानिसहरूतर्फ बढाएको छु।”

रोमी — Chapters