[1] प्रत्येक व्यक्ति राज्यका अधिकारीहरूप्रति आज्ञाकारी होओ, किनकि परमेश्वरले नियुक्त गर्नुभएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। वर्तमान अधिकारीहरू सबै परमेश्वरबाटै नियुक्त भएका हुन्छन्।
[2] फलस्वरूप, जसले अधिकारीहरूको विरोध गर्दछ, तिनीहरूले परमेश्वरले स्थापना गर्नुभएको कुराको विरोध गरेको हुन्छ, र यसो गर्नेहरूले आफूमाथि न्याय ल्याउँछन्।
[3] किनकि शासकहरू उचित काम गर्नेको निम्ति होइन, तर अनुचित काम गर्नेको निम्ति डरका कारण हुन्। अधिकारीको डरबाट स्वतन्त्र हुने तिम्रो इच्छा छ? त्यसो भए उचित काम गर, र तिम्रो अधिकारीहरूबाट प्रशंसा हुनेछ।
[4] किनकि अधिकारी तिम्रो भलाइको निम्ति परमेश्वरका सेवक हुन्। तर खराब काम गर्छौ भने डर मान, किनकि शासकहरूले व्यर्थैमा तरवार भिरेका हुँदैनन्। तिनीहरू परमेश्वरका सेवकहरू हुन्, जसले अनुचित काम गर्नेहरूमाथि परमेश्वरको क्रोध ल्याउँछन्।
[5] यसकारण अधिकारीहरूका अधीनतामा बस्नु आवश्यक छ, सजाय पाउने डरको कारणले मात्र होइन, तर विवेकको कारणले पनि अधिकारीहरूको अधीनतामा बस।
[6] यही कारणले पनि तिमीहरू कर तिर्ने गर्छौ, किनकि अधिकारीहरू परमेश्वरका सेवकहरू हुन्, जसले शासनको निम्ति आफ्नो पूरा समय दिन्छन्।
[7] तिमीले जसलाई दिनुपर्ने कुरा छ, चुक्ता गरिहाल: कर तिर्नुपर्दछ भने तिरीहाल, राजस्व दिनुपर्दछ भने देऊ; यदि डर मान्नुपर्ने हो डर मान; यदि इज्जत गर्नुपर्ने हो भने इज्जत गर।
[8] पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ।
[9] किनकि आज्ञाहरूले भन्छ: “व्यभिचार नगर,” “हत्या नगर,” “चोरी नगर,” “लोभ नगर,” र अरू जस्तोसुकै आज्ञाहरू भए तापनि सारांशचाहिँ यही एउटा आज्ञाले समेटिन्छ, “तिम्रो छिमेकीलाई आफैलाई झैं प्रेम गर।”
[10] प्रेमले छिमेकीलाई हानि पुर्याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो।
[11] अनि वर्तमान समयलाई बुझ्दै यसो गर: तिम्रो लागि निद्राबाट जाग्ने समयअघि नै आइसकेको छ; किनकि हामीले पहिला विश्वास गरेको समयभन्दा हाम्रो मुक्ति अझ नजिक आइपुगेको छ।
[12] रात बित्नै लागेको छ; मुक्तिको दिन एकदमै नजिक छ। यसकारण अब हामीले अन्धकारको कामलाई त्यागेर ज्योतिका हातहतियार धारण गरौं।
[13] दिनको उज्यालोमा झैं, हामी असल चालचलनमा जिऔं, मोजमस्तीमा र मतवालापनमा होइन, यौन अनैतिकतामा र भ्रष्ट आचरणमा होइन, झगडामा र डाहमा होइन।
[14] बरु प्रभु येशू ख्रीष्टलाई धारण गरेर जिऔं, र आफ्ना पापमय स्वभावका अभिलाषा पूरा गर्न मन नलगाओ।