Skip to content
Opens in a new window
Listen to this chapter • 4:21

[1] विश्‍वासमा कमजोर भएका अरू विश्‍वासीहरूलाई स्वीकार गर, र उनीहरूका विचारमा विवाद र झगडा नगर।

[2] कसैले हरेक थोक खान हुन्छ भनी विश्‍वास गर्छन्, तर कमजोरहरूले सागसब्जी मात्र खान्छन्।

[3] सबै चीज खाने व्यक्‍तिले नखानेलाई तुच्छ नठानोस्, र सबै नखाने व्यक्‍तिले पनि सबै खानेलाई दोष नलाओस्; किनकि तिनीहरूलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ।

[4] अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ र? त्यस सेवकको स्थिरता वा पतन त्यसको मालिकको हातमा निर्भर हुन्छ। तिनीहरू स्थिर रहनेछन्, किनकि प्रभु तिनीहरूलाई स्थिर गराउन सक्षम् हुनुहुन्छ।

[5] कुनै व्यक्‍तिले कुनै दिनलाई अर्को दिनभन्दा बढ्ता पवित्र ठान्छ भने अर्को व्यक्‍तिले चाहिँ प्रत्येक दिनलाई बराबर ठान्‍न सक्छ। प्रत्येक व्यक्‍ति यसबारे आफ्नो मनमा आफै पूरा निश्‍चिन्त हुनुपर्छ।

[6] जसले एक दिनलाई अरू दिनभन्दा विशेष दिन ठान्छ, त्यसले त्यो प्रभुको निम्ति गर्दछ। जो मांसहारी छ, त्यसले त्यो प्रभुको निम्ति खान्छ, र प्रभुलाई धन्यवाद दिन्छ; र जो शाकहारी छ, त्यसले सो प्रभुको निम्ति खाँदैन र प्रभुलाई धन्यवाद दिन्छ।

[7] किनकि हामी कोही पनि आफ्नो लागि मात्र जिउँदैनौं र हामी कोही पनि आफ्नो मात्र निम्ति मर्दैनौं।

[8] यदि हामी जिउँछौं ता प्रभुको निम्ति जिउँछौं; यदि मर्छौं ता प्रभुको निम्ति मर्छौं। यसकारण हामी चाहे जिऔं वा मरौं, हामी प्रभुकै हौं।

[9] किनकि यही विशेष कारणले ख्रीष्‍ट मर्नुभयो, र फेरि पुनर्जीवित हुनुभयो, ताकि उहाँ जीवित र मृतक दुवैका प्रभु होऊन्।

[10] तब तिमी किन आफ्नो दाजुभाइ वा दिदीबहिनीको न्याय गर्दछौ? अथवा तिनीहरूलाई किन तुच्छ ठान्दछौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको अघि उभिनेछौं।

[11] धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जो जीवित छु, शपथ खान्छु,’ प्रभु भन्‍नुहुन्छ, ‘प्रत्येक घुँडा मेरो सामु टेकिनेछ; प्रत्येक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ।’ ”

[12] यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्‍वरलाई दिनुपर्नेछ।

[13] यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौं। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीका बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौं।

[14] म जान्दछु, र प्रभु येशूमा निश्‍चित छु, कुनै पनि भोजन आफैमा अशुद्ध हुँदैन। तर कसैले त्यो अशुद्ध देख्छ भने त्यसको निम्ति त्यो अशुद्ध हुनेछ।

[15] यदि तिमीले खाएको कुराले तिम्रो दाजुभाइ वा दिदीबहिनीलाई उदास बनाउँछ भने तिमी प्रेममा जिएका छैनौ। तिमीहरूको भोजनको कारणले कसैलाई नाश नगर, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो।

[16] यसकारण तिमीलाई जे असल लाग्छ, त्यसलाई खराबीको रूपमा बोल्न नदेऊ।

[17] किनकि परमेश्‍वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।

[18] किनभने जसले ख्रीष्‍टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ।

[19] हामी हर प्रयास ती कुराहरूमा लागौं, जसले शान्तिमा डोर्‍याउँछ र पारस्परिक उन्‍नति गराउँछ।

[20] परमेश्‍वरको कामलाई भोजनको कारणले नाश नगर। सबै भोजन शुद्ध छन्, तर अर्को व्यक्‍तिलाई ठक्‍करको कारण बन्छ भने, उसले यो खानु गलत हो।

[21] मासु नखानू वा मद्य नपिउनू अथवा तिम्रो दाजुभाइ-दिदीबहिनीलाई पतन हुने कुनै पनि काम नगर्नु उचित हो।

[22] यसकारण यसबारे तिमीहरू जे विश्‍वास गर्छौ, त्यो कुरा तिमी र परमेश्‍वरबीच राख। धन्य हो, त्यो मानिस जसले आफूले स्वीकृत गरेको कुराले आफूमाथि दोष ल्याउँदैन।

[23] तर यदि कसैले शङ्का गरेर खायो भने त्यो दोषी ठहरिन्छ; किनकि तिनीहरूका खुवाई विश्‍वासद्वारा हुँदैन, जे कुरा विश्‍वासद्वारा आउँदैन, त्यो पाप हो।

रोमी — Chapters