Skip to content
Opens in a new window
Listen to this chapter • 4:58

[1] त्यसो भए यहूदी हुनुमा के फाइदा छ, अथवा खतनामा के महत्त्व छ?

[2] वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम ता परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो।

[3] केही व्यक्‍तिहरू विश्‍वासयोग्य भएनन् ता के भयो? के तिनीहरूका अविश्‍वासयोग्यताले परमेश्‍वरको विश्‍वसनीयतालाई रद्द तुल्याउँछ र?

[4] वास्तवमा होइन! परमेश्‍वर सत्य ठहरिनुभएको होस् र सबै मानिस झूटा साबित होऊन्। यस्तो लेखिएको छ: “तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित हुनुभएको होस्, र न्याय गर्दा विजयी हुनुभएको होस्।”

[5] तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई अझ प्रष्‍ट गराउँछ भने ता हामीले के भन्‍ने? परमेश्‍वरको क्रोध हामीमा पर्दा के उहाँ अन्यायी हुनुहुन्छ र? म मानवीय तर्क प्रयोग गर्न चाहन्छु।

[6] पक्‍कै पनि होइन! यदि त्यस्तो हो भने ता, धर्मी परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?

[7] कसैले तर्क गर्ला, “यदि मेरो झूटद्वारा परमेश्‍वरको सत्यताले उहाँको महिमालाई बढाउँछ भने म किन पापीझैं दोषी ठहरिन्छु त?”

[8] त्यसो भए किन यसो नभन्‍ने त, “हामी खराब काम गरौं, ताकि यसबाट असल आउन सकोस्?” केही मानिसहरूले हामीले यस्तो भन्छौं भन्दै हाम्रो निन्दा गर्छन्। यस्ता कुरा गर्नेहरू दोषी ठहरिन योग्यका हुन्छन्।

[9] त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौं त? कदापि छैनौं! हामीले अघि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्‍तिको अधीनतामा भएको कुरामा प्रमाणित गरिसकेका छौं।

[10] यसरी लेखिएको छ: “धर्मी कोही छैन, एकजना पनि छैन;

[11] बुझ्ने कोही छैन, परमेश्‍वरलाई खोज्ने पनि कोही छैन।

[12] सबै परमेश्‍वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एकजना पनि छैन।”

[13] “तिनीहरूका घाँटी खुल्‍ला चिहानहरू हुन्; तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।” “तिनीहरूका ओठमा विषालु सर्पका विष छ।”

[14] “तिनीहरूका मुख श्राप र तीतोपनाले भरिएका छन्।”

[15] “तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्;

[16] तिनीहरूका मार्गहरू विनाश र दूर्दशाले भरिएका छन्,

[17] तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।”

[18] “तिनीहरूका आँखामा परमेश्‍वरको डरै छैन।”

[19] अब हामी जान्दछौ कि, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनतामा हुनेहरूलाई नै भन्दछ, ताकि सबैका मुख बन्द होस् र सारा संसारलाई परमेश्‍वरको अघि जवाफदेही बनाइयोस्।

[20] यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्‍वरको दृष्‍टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेत चाहिँ गराउँदछ।

[21] तर अब व्यवस्थाविना नै परमेश्‍वरबाट पापको क्षमादान प्रकट भएको छ, जसको गवाही व्यवस्था र अगमवक्‍ताहरूले दिन्छन्।

[22] यो पापको क्षमादान चाहिँ येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैले विश्‍वासद्वारा प्राप्‍त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीच कुनै भिन्‍नता छैन,

[23] किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमाबाट टाढा भएका छन्;

[24] र परमेश्‍वरको अनुग्रहले ख्रीष्‍ट येशूबाट आउने उद्धारद्वारा सबैजना सित्तैंमा धर्मी ठहराइएका छन्।

[25] परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन।

[26] परमेश्‍वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैलाई र येशूमा विश्‍वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्।

[27] अब के कुरामा घमण्ड गर्ने त? किनकि घमण्ड गर्ने ठाउँ नै छैन, कुन नियमको आधारमा घमण्ड गर्ने? कामको व्यवस्थाद्वारा हो? होइन, तर विश्‍वासको सिद्धान्तद्वारा हो।

[28] यसकारण हामी यो मान्छौ कि, मानिस व्यवस्थाविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ।

[29] के परमेश्‍वर यहूदीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका चाहिँ परमेश्‍वर हुनुहुन्‍न र? उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ।

[30] किनभने परमेश्‍वर एउटै हुनुहुन्छ, उहाँले खतना भएकाहरूलाई पनि विश्‍वासद्वारा र खतना नभएकाहरूलाई पनि त्यही विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ।

[31] त्यसो भए के हामी विश्‍वासद्वारा व्यवस्थालाई व्यर्थ तुल्याउँछौ त? कदापि होइन! बरु हामीले ता व्यवस्थालाई समर्थन गर्छौं।

रोमी — Chapters