Skip to content
Opens in a new window
Listen to this chapter • 6:42

[1] म सोध्छु: के परमेश्‍वरले आफ्नो जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफै पनि एक इस्राएली हुँ, अब्राहामको वंश, बेन्यामीन कुलबाट हुँ।

[2] परमेश्‍वरले आफ्ना मानिसलाई त्याग्नुभएको छैन, जसलाई उहाँले सुरुबाट नै जान्‍नुहुन्थ्यो। एलियाको बारेमा धर्मशास्त्रमा के लेखिएको छ भन्‍ने कुरा तिमीहरू जान्दैनौ? कसरी एलियाले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग विन्ती गरेका थिए:

[3] “प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरू भत्काएका छन्; म मात्र एक्लो बाँचेको छु, र मलाई पनि तिनीहरूले मार्न खोज्दैछन्।”

[4] अनि उनलाई परमेश्‍वरको जवाफ के थियो? “मैले आफ्नो निम्ति बाल देवतालाई दण्डवत् नगर्ने सात हजार मानिसहरूलाई जोगाएर राखेको छु।”

[5] यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका जनहरूका एक बाँकी भाग छ।

[6] यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन; यदि काममा आधारित हुन्थ्यो भने, अनुग्रह अनुग्रह नै हुनेथिएन।

[7] तब के त? इस्राएलीहरूले उत्सुकतासाथ खोजेको धार्मिकता प्राप्‍त गर्न सकेनन्। उनीहरूमध्ये चुनिएकाहरूले भने प्राप्‍त गर्न सके, तर अरू सबै कठोर पारिए।

[8] यसरी लेखिएको छ: “परमेश्‍वरले तिनीहरूलाई मन्द आत्मा दिनुभयो, आँखाहरू जसले देख्न सकेनन् अनि कानहरू, जसले सुन्‍न सकेनन्, आजसम्मै तिनीहरू यस्तै छन्।”

[9] अनि दाविदले भन्दछन्: “तिनीहरूका भोजन पासो र फन्दा बनोस्, अनि तिनीहरूका लागि ठक्‍कर र बदलाको कारण बनोस्।

[10] तिनीहरूका आँखाहरू अन्धकार होस् र तिनीहरूले देख्न नसकून्, तिनीहरूका ढाड सदालाई कुप्रिएका होस्।”

[11] म फेरि प्रश्न गर्छु: के उनीहरूले उठ्न नसक्ने गरी ठक्‍कर खाएका हुन् त? कदापि होइन! तर, इस्राएलमा पनि मुक्‍तिका लागि डाह पलाऊन् भनेर तिनीहरूका अपराधका कारण गैरयहूदीहरूमा मुक्‍ति आएको छ।

[12] तर यदि तिनीहरूका अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूका पतन गैरयहूदीहरूको निम्ति सम्पत्ति ठहरिन्छ भने, तिनीहरूका पुनर्स्थापनाले कति धेरै वैभव ल्याउला!

[13] म तिमी गैरयहूदीहरूसँग बोल्दैछु। म गैरयहूदीहरूका निम्ति प्रेरित हुँ। म यस सेवामा गर्व गर्छु;

[14] यस आशामा कि, जसरी भए पनि म मेरा आफ्ना मानिसहरूमा डाहा उत्पन्‍न गराउन सकूँ, र तीमध्ये केहीलाई बचाउन सकूँ।

[15] किनकि यदि तिनीहरूको अस्वीकृति संसारको निम्ति परमेश्‍वरसँग मिलापको कारण बन्छ भने के तिनीहरूको स्वीकृति मृत्युबाट पुनर्जीवित हुनुबाहेक अरू के हुन सक्ला र?

[16] यदि मुछेको पीठोको केही भाग प्रथम् भेटीको रूपमा चढाउँदा पवित्र हुन्छ भने पीठोको जम्मै भाग पवित्र हुन्छ; यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।

[17] यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतून हौ, ती रूखमा कलमी गरिएका छौ र जैतुनको रूखको जराबाट प्राप्‍त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने

[18] आफैलाई ती हाँगाहरू भन्दा श्रेष्‍ठ नठान। यदि यसो गर्छौ भने यो बुझ कि, जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थामेको हुन्छ।

[19] त्यसपछि तिमीले भन्‍नेछौ, “हाँगाहरू काटिएका कारणले नै म कलमी हुन पाएँ।”

[20] ठीकै हो, तर ती हाँगाहरू त उनीहरूको अविश्‍वासको कारणले काटिएका हुन्, अनि तिमी विश्‍वासद्वारा अडिएका छौ। घमण्ड नगर, तर भय मान।

[21] किनकि यदि परमेश्‍वरले स्वभाविक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन।

[22] यसकारण परमेश्‍वरको दया र कठोरतामा ध्यान देऊ: पतन भएकाहरूलाई कठोरता, तर तिमीलाई दया यदि तिमीहरू उहाँको दयामा स्थिर बस्यौ भने। नत्र भने तिमीहरू पनि काटिनेछौ।

[23] अनि यदि उनीहरू पनि आफ्नो अविश्‍वासमा निरन्तर रहिरहेनन् भने, उनीहरू कलमी हुनेछन्; किनकि परमेश्‍वर उनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ।

[24] यदि तिमी जैतुनको रूखबाट काटियौ, जुन स्वभाविक रूपमा जङ्गली हो, र प्रकृतिविरुद्ध हुँदाहुँदै पनि रोपिएको जैतूनको रूखमा कलमीद्वारा गाँसियौ भने, झन् यी स्वभाविक जैतुनका हाँगाहरू आफ्नै जैतूनका रूखमा कति सहजै गाँसिएलान्!

[25] दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू यो रहस्यमय सत्य कुरामा अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् नहोऔ: इस्राएलका केही मानिसहरूका हृदय कठोर छ, तर यो गैरयहूदीहरूको पूरा संख्या ख्रीष्‍टमा नआउन्जेलका लागि मात्र हुनेछ।

[26] यसरी सब इस्राएलीहरूको उद्धार हुनेछ, जसरी लेखिएको छ: “उद्धारकर्ता सियोनबाट आउनुहुनेछ; उहाँले याकोबबाट अभक्‍ति दूर गर्नुहुनेछ,

[27] अनि उनीहरूसँग यो मेरो करार हुनेछ जब म उनीहरूका पाप मेटाइदिनेछु।”

[28] सुसमाचारको दृष्‍टिमा, तिनीहरू तिम्रा लागि परमेश्‍वरका दुश्मन हुन्; तर परमेश्‍वरको चुनावको दृष्‍टिबाट, तिनीहरू आफ्ना पुर्खाको कारण अति प्रिय छन्,

[29] किनकि परमेश्‍वरको वरदान र बोलावट अटल छन्।

[30] जसरी तिमीहरू एकपल्ट परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारीताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ,

[31] यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्‍वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्।

[32] किनकि परमेश्‍वरले हरेकलाई अनाज्ञाकारीतामा बन्दी बनाउनुभएको छ ताकि उहाँद्वारा तिनीहरू सबैलाई कृपा मिलोस्।

[33] ओहो! परमेश्‍वरको बुद्धि र ज्ञानको कति अपार धन! उहाँको न्यायहरू कति अथाह, र उहाँका पथहरू कति अगम छन्!

[34] “प्रभुको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्‍लाहकार को भएको छ र?”

[35] “परमेश्‍वरलाई कसले केही दिएको छ, कि परमेश्‍वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?”

[36] किनकि उहाँमार्फत्, उहाँद्वारा र सबै कुरा उहाँकै निम्ति हुन्। उहाँलाई सदा-सर्वदा महिमा भइरहोस्! आमेन!

रोमी — Chapters