Skip to content
Opens in a new window
Listen to this chapter • 6:07

[1] हामी विश्‍वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्‍न तुल्याउने हुनुहुन्‍न।

[2] हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्‍नतिको निम्ति प्रसन्‍न राख्नुपर्छ।

[3] किनकि ख्रीष्‍ट आफैले पनि आफूलाई प्रसन्‍न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।”

[4] किनकि विगतमा जे लेखिएको थियो, त्यो हामीलाई शिक्षा दिनको निम्ति लेखिएको थियो, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्‍त गर्न सकौं।

[5] धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूमा भएको मन जस्तै एक-अर्काप्रति एकताको मन दिऊन्,

[6] ताकि तिमीहरू एकै मन र एकै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरको महिमा गर्न सक।

[7] जसरी ख्रीष्‍टले तिमीहरूलाई परमेश्‍वरको प्रशंसाको निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर।

[8] म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको सत्यताका लागि ख्रीष्‍ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्‍चित हुन सकोस्,

[9] र गैरयहूदीहरूले परमेश्‍वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर, यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूबीच तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नाउँको प्रशंसा गाउनेछु।”

[10] फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द गर।”

[11] अनि फेरि, “प्रभुको स्तुति गर, हे सबै गैरयहूदीहरूहो, र पृथ्वीका सबै जातिहरूहो, उहाँको प्रशंसा गर।”

[12] अनि फेरि, यशैयाले भन्दछन्, “यिशैको वंशज जरा प्रकट हुनुहुनेछ, जो सब राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।”

[13] उहाँमाथि विश्‍वास गरेको कारणले आशाका परमेश्‍वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदिनुभएको होस्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक।

[14] मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, म स्वयम् विश्‍वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका, र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ।

[15] तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु, किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ,

[16] कि म गैरयहूदीहरूका लागि ख्रीष्‍ट येशूको सेवक हुन सकौं। उहाँले मलाई परमेश्‍वरको सुसमाचार घोषणा गर्ने पूजाहारीको काम दिनुभएको छ, ताकि गैरयहूदीहरू पवित्र आत्माद्वारा शुद्ध पारिएका ग्रहणयोग्य भेटी हुन सकून्।

[17] यसकारण मेरा परमेश्‍वरप्रतिको सेवामा म ख्रीष्‍ट येशूमा गर्व गर्छु।

[18] मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्‍वरतर्फ आज्ञाकारी बनाउनलाई ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, सोभन्दा बढी म अरू केही कुरा भन्‍ने आँट गर्दिनँ।

[19] चिन्हहरू र आश्‍चर्यपूर्ण कामहरूद्वारा, परमेश्‍वरका आत्माको शक्‍तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्‍लिरिकमसम्म मैले ख्रीष्‍टको सुसमाचार पूरा रूपमा प्रचार गरेको छु।

[20] सधैं मेरो उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्‍ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्।

[21] बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्, अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।”

[22] यही सेवाकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु।

[23] तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण,

[24] म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि, मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु।

[25] तर अहिले म यरूशलेमतिर त्यहाँका प्रभुका जनहरूका सेवा गर्नलाई जाँदैछु।

[26] किनकि म्यासिडोनिया र अखैयाका विश्‍वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति दान दिएका छन्।

[27] तिनीहरूलाई यसो गर्न खुशी लाग्यो र तिनीहरू यसका निम्ति उनीहरूका ऋणी छन्; किनकि यदि यहूदीहरूका आत्मिक आशिषमा गैरयहूदीहरू पनि सहभागी भएका छन् भने, गैरयहूदीहरूका भौतिक आशिषमा यहूदीहरूलाई पनि सहभागी गराउनुपर्छ।

[28] यो काम गरिसकेपछि र यो दान उनीहरूलाई सुम्पिसकेपछि, म स्पेन जानेछु र यात्रामै हुँदा तिमीहरूकहाँ आउनेछु।

[29] म जान्दछु, कि जब म त्यहाँ आउँछु, ख्रीष्‍टको आशिषको पूर्ण नापसहित आउनेछु।

[30] मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, कि मेरो लागि परमेश्‍वरसँग प्रार्थनाद्वारा मेरो संघर्षमा सहभागी बन।

[31] यहूदियाका अविश्‍वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका योगदान त्यहाँका प्रभुका विश्‍वासीहरूको निम्ति स्वीकार्य होस्,

[32] ताकि म परमेश्‍वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ।

[33] शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहिरहून्। आमेन!

रोमी — Chapters