Skip to content
Opens in a new window
Listen to this chapter • 5:07

[1] यसकारण ए मानिस तिमी, जो अरूलाई दोष लगाउँछौ, तिमीहरूलाई केही बहाना छैन; किनकि जसरी तिमी अरूको न्याय गर्दछौ, त्यसरी नै आफूलाई पनि दोषी तुल्याइरहेका छौ; किनकि जुन कुराको निम्ति अरूलाई दोषी तुल्याउँछौ, तिमीले पनि त्यही काम गरिरहेका हुन्छौ।

[2] हामी जान्दछौं कि, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्‍वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ।

[3] यसकारण ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने, के तिमी परमेश्‍वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ?

[4] अथवा परमेश्‍वरको दयाले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउँछ भन्‍ने कुराको आभाष नगरी तिमी परमेश्‍वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ?

[5] तर तिमीहरूका आफ्ना हठी स्वभाव र अपश्‍चात्तापी हृदयका कारण परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ।

[6] परमेश्‍वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।”

[7] परमेश्‍वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्।

[8] तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्‍टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछन्।

[9] दुष्‍ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्‍ट आइपर्नेछन्: पहिले यहूदीहरूमाथि, त्यसपछि गैरयहूदीहरू माथि;

[10] तर जसले काम असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीहरूलाई, अनि गैरयहूदीहरूलाई।

[11] किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।

[12] यद्यपि गैरयहूदीहरूसँग परमेश्‍वरको लिखित व्यवस्था कहिल्यै थिएन, जब उनीहरू पाप गर्छन्, उनीहरू नष्‍ट हुनेछन्; र यहूदीहरू, जससँग परमेश्‍वरको व्यवस्था छ, जब उनीहरू यसको पालना गर्न असफल हुन्छन्, यही व्यवस्थाद्वारा उनीहरूको न्याय गरिनेछ।

[13] किनकि व्यवस्था सुन्‍नेहरू परमेश्‍वरका सामुन्‍ने धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्।

[14] वास्तवमा गैरयहूदीहरू व्यवस्थाविना पनि स्वभावैले व्यवस्थाअनुसार चल्दछन्, तब तिनीहरूमा व्यवस्था नभए पनि तिनीहरू आफै व्यवस्था हुन्छन्।

[15] परमेश्‍वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको तिनीहरू देखाउँछन्; किनकि तिनीहरूका आफ्नै विवेक र विचारले कि ता तिनीहरूलाई दोष्याउँछन्, कि ता तिनीहरूले गरेका काम सही छन् भनेर भन्छन्।

[16] अनि यी कुराहरू त्यस दिन हुनेछ, जब मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले मानिसहरूका गोप्य कुराहरूको न्याय गर्नुहुनेछ।

[17] अहिले तिमी आफूलाई यहूदी हुँ भन्छौ भने व्यवस्थामाथि भर पर्दछौ, र परमेश्‍वरसँगको सम्बन्धमा गर्व गर्दछौ,

[18] तिमीहरू उहाँको इच्छा जान्दछौ, उत्तम कुरा के हो तिमीहरूलाई थाहा छ; किनकि तिमीहरूलाई व्यवस्थाबाट सिकाइएको छ।

[19] तिमीमा दृष्‍टिविहीनलाई बाटो देखाउनसक्छु भन्‍ने निश्‍चयता छ, अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ, आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक सम्झन्छौ; किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ।

[21] तिमीहरू, जो अरूलाई सिकाउँछौ, के आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी अरूहरूलाई चोरी गर्नुहुन्‍न भनी प्रचार गर्छौ, तिमी आफूचाहिँ चोरी गर्छौ?

[22] तिमी व्यभिचार नगर्नू भनी भन्छौ, आफैचाहिँ व्यभिचार गर्छौ त? मूर्तिपूजालाई घृणा गर्छौ, के तिमी मन्दिरहरू लुट्छौ त?

[23] तिमी व्यवस्थामा घमण्ड गर्नेहरू, व्यवस्था उलङ्घन गरेर परमेश्‍वरको अनादर गर्छौ?

[24] धर्मशास्त्रमा यसरी लेखिएको छ: “तिमीहरूका कारणले गैरयहूदीहरूबीच परमेश्‍वरको नाउँको निन्दा भएको छ।”

[25] यदि व्यवस्थाको पालन गर्‍यौ भने खतनाको महत्त्व रहन्छ, तर व्यवस्थाको उलङ्घन गर्‍यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ।

[26] खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र?

[27] तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीहरूलाई दोषी ठहराउँछन्।

[28] बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न ता बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो।

[29] बरु साँचो यहूदी ऊचाहिँ हो, जो भित्रबाटै यहूदी हो; अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्‍वरबाट हुन्छ।

रोमी — Chapters