Skip to content
Opens in a new window
Listen to this chapter • 4:56

[1] “अब हे मानिसको छोरा, एउटा माटोको इँटा लिएर त्यसलाई आफ्नो अगाडि राख् र त्यसमा यरूशलेम सहरको चित्र कोर्।

[2] त्यसपछि त्यसको चारैतिर घेराबन्दी हाल्: त्यसको विरुद्धमा घेरा-मचान बना, र त्यसको विरुद्धमा सैनिक मोर्चा लगा; अनि त्यसको विरुद्धमा छाउनी हाल्। अनि त्यसको चारैतिर पर्खाल भत्काउने ठूला-ठूला मुढाहरू राख्।

[3] त्यसपछि एउटा फलामको थाल लिएर त्यसलाई तेरो र सहरको बीचमा एउटा फलामको पर्खालझैँ खडा गर्, र तेरो अनुहार त्यस सहरपट्टि फर्का। त्यो घेराबन्दीमा रहनेछ र तैँले त्यसलाई घेराबन्दीमा पार्। योचाहिँ इस्राएलका मानिसहरूका निम्ति एउटा चिन्ह हुनेछ।”

[4] तब तँ आफ्नो देब्रेपट्टि पल्टेर सुत्, र इस्राएलका मानिसहरूका पापको दोष आफूमाथि बोक। जति दिनसम्म तँ कोल्टे परेर सुत्छस्, त्यति दिन नै तैँले तिनीहरूका पाप आफूमाथि बोक्नुपर्छ।

[5] मैले तँलाई तिनीहरूका पापका वर्षका संख्याकै बराबर एक वर्षको एक दिन गरेर दिनहरू तोकिदिएको छु। यसकारण तैँले तीन सय नब्बे दिनसम्म इस्राएलको घरानाको पापको दण्ड भोग्नुपर्नेछ।

[6] तैँले त्यसो गरिसकेपछि दाहिनेपट्टि फेरि तँ कोल्टे परेर सुत्, र यहूदाका मानिसहरूका पाप आफूमाथि बोक्। मैले तँलाई एक वर्षको एक दिन गरेर चालीस दिन तोकिदिएको छु।

[7] तेरो आफ्नो अनुहार यरूशलेमको घेराबन्दीतिर फर्काएर राख्, र खाली हातसित यरूशलेमको विरुद्धमा अगमवाणी गर्।

[8] म तँलाई डोरीले बाँधिदिनेछु, र तैँले आफ्नो घेराबन्दीका दिनहरू पूरा नगरेसम्म तँ एकापट्टिबाट अर्कोपट्टि फर्कन सक्नेछैनस्।

[9] गहुँ, जौ, सिमी, दाल, कोदो र कठिया जम्मा गर्; ती एउटा भाँडामा हालेर राख्, र त्यो आफ्नै लागि रोटी बनाउने काममा प्रयोग गर्। तँ तीन सय नब्बे दिनसम्म कोल्टे परेर सुतेको समयमा तैँले त्यो खानू।

[10] तैँले प्रत्येक दिन खानका लागि बीस शेकेल पिठो जोखेर तोकिएको समयहरूमा भोजन खानू।

[11] तैँले एक हिनको छैटौँ भाग पानी पनि नापेर तोकिएको समयहरूमा पिउनू।

[12] तैँले भोजनलाई जौको फुलौरा खाएझैँ खानू; तैँले रोटीलाई मानिसहरूले देख्ने गरी मानिसबाट निस्केको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाएर खानू।

[13] याहवेहले भन्‍नुभयो, “यसरी नै इस्राएलका मानिसहरूले मैले तिनीहरूलाई धपाइदिने अरू जातिहरूको बीचमा अशुद्ध भोजन खानेछन्।”

[14] तब मैले भनेँ, “हे प्रभु याहवेह, यस्तो नहोस्! मैले आफूलाई कहिल्यै अशुद्ध तुल्याएको छैनँ। मेरो युवावस्थादेखि अहिलेसम्म कहिल्यै पनि मरेको अथवा जङ्गली पशुहरूले फहराएको कुनै पनि कुरो मैले खाएको छैनँ। मेरो मुखमा कहिल्यै पनि कुनै अशुद्ध मासु परेको छैनँ।”

[15] उहाँले भन्‍नुभयो, “ठिक छ, म तँलाई मानिसको दिसाको सट्टा गाईको गोबर प्रयोग गरेर आफ्नो निम्ति रोटी पकाउन दिनेछु।”

[16] त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, म यरूशलेममा भोजनको अभाव गराउनेछु। मानिसहरूले तौल अनुसारको भोजन चिन्तित हुँदै खानेछन्, र तौल अनुसारको पानी डराउँदै पिउनेछन्;

[17] किनकि भोजन र पानीको अभाव हुनेछ। तिनीहरू एक-अर्कालाई हेर्दै तर्सनेछन् र आफ्नै पापको कारण नाश हुनेछन्।”

इजकिएल — Chapters