Skip to content
Opens in a new window
Listen to this chapter • 6:28

[1] एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो:

[2] “हे मानिसको छोरा, इजिप्टको राजा फारो र त्यसका सेनाका दलहरूलाई भन्: “ ‘वैभवमा तेरो तुलना कोसित गर्न सकिन्छ?

[3] अश्शूरलाई विचार गर्, एक समयमा लेबनानको जङ्गलमा सुन्दर र छाया दिने हाँगाहरू भएको देवदारुको रूख थियो। अनि त्यो अति अग्लो बढेर गयो; त्यसका बाक्ला पातहरूभन्दा माथि बादलमा त्यसको टुप्पो थियो।

[4] त्यसलाई पानीले पालनपोषण गर्‍यो; गहिरा झरनाहरूले त्यसलाई अग्लो पारे; त्यसका नदीहरू त्यसको जराको चारैतिर बगे; अनि खेतका सबै रूखहरूकहाँ तिनीहरूका कुलोहरू पठाए।

[5] यसरी त्यो खेतका सबै रूखहरूभन्दा अग्लो भयो; त्यसका हाँगाहरू धेरै भए, र त्यसका हाँगाहरू प्रशस्त पानी भएको कारण फैलिए।

[6] आकाशका सबै पक्षीहरूले त्यसका हाँगाहरूमा गुँड बनाए; त्यसका हाँगाहरूमुनि जङ्गलका सबै पशुहरूले जन्म दिए; सबै महान् जाति-जातिहरू त्यसका हाँगाहरूका छायामा बस्थे।

[7] त्यसका फैलिएका हाँगाहरूसित त्यो सुन्दरतामा शोभायमान थियो; किनकि त्यसका जराहरू प्रशस्त पानी भएकोतिर तल गएका थिए।

[8] परमेश्‍वरको बगैँचामा भएका देवदारुहरूसित त्यसको तुलना गर्न सकिँदैनथ्यो, न त सल्‍लाका रूखहरूले त्यसका हाँगाहरूको तुलना गर्न सकिन्थ्यो, न त धूपीका रूखहरूले त्यसका हाँगाहरूसित तुलना गर्न सकिन्थ्यो; परमेश्‍वरको बगैँचामा भएको कुनै पनि रूखहरू त्यसको सुन्दरतासित तुलना गर्न सकिँदैनथ्यो।

[9] प्रशस्त हाँगाहरूसित मैले त्यसलाई सुन्दर बनाएँ; परमेश्‍वरको बगैँचामा भएका अदनका सबै रूखहरूले त्यसलाई डाह गर्थे।

[10] “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो बाक्लो पातहरूमाथि ठूलो अग्लो टुप्पो भएको कारण र आफ्नो उँचाइमाथि त्यसले घमण्ड गरेको हुनाले,

[11] त्यसको दुष्‍टताअनुसार त्यसमाथि व्यवहार गरिनका लागि मैले त्यसलाई जाति-जातिहरूका शासकको हातमा सुम्पिदिएँ। मैले त्यसलाई एकातिर फ्याँकिदिएँ;

[12] अनि त्यसलाई विदेशी जातिहरूमध्ये अति निर्दयीहरूले काटेर ढालिदिए र छोडिदिए। त्यसका हाँगाहरू पर्वतहरूमा र सबै बेँसीहरूमा खसे; त्यसका हाँगाहरू देशका सबै खोल्साहरूमा भाँचिएर लडिरहे। पृथ्वीका सबै जातिहरू त्यसका छायामुनिबाट निस्के र त्यसलाई छोडिदिए।

[13] आकाशका सबै चराचुरुङ्गीहरू ढलेको रूखमाथि बसोबास गरे; अनि जङ्गलका सबै जनावरहरू हाँगाहरूमा बसे।

[14] यसकारण पानीको छेउमा भएका अरू कुनै पनि रूखहरू घमण्डसाथ आफ्ना बाक्ला पातहरूमाथि उचाइमा कहिल्यै बढ्नेछैनन्। पानी प्रशस्त पुगेका अरू कुनै पनि रूखहरू कहिल्यै यत्रो उचाइसम्म पुग्नेछैनन्; तिनीहरू तल पृथ्वीमा मानिसहरूको बीचमा जानलाई मृत्युको निम्ति तोकिएका छन्, जो तल मरणशील मानिसहरूमाझ चिहानमा जानेछन्।

[15] “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो मृत-लोकमा लगिएको दिन मैले त्यसका निम्ति ठूलो शोकको रूपमा गहिरा झरनाहरूलाई छोपिदिएँ; मैले त्यसका खोलाहरू रोकिदिएँ; अनि त्यसका प्रशस्त पानीका स्रोतहरू रोकिए। यसैकारण मैले लेबनानलाई अन्धकारले छोपिदिएँ र जङ्गलका सबै रूखहरू ओइलाए।

[16] जब मैले त्यसलाई तल खाडलमा जानेहरूसित तल मृत-लोकमा झारेँ, त्यसको पतनमा मैले राष्ट्रहरूलाई थरथर काम्न लगाएँ, तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा असल र अति उत्तम रूखहरू, प्रशस्त पानी पाएर सप्रेका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए।

[17] तिनीहरू पनि महान् देवदारुजस्ता त्यसका छायामा बस्‍ने जाति-जातिहरू, अथवा तरवारले युद्धमा मारिएका सेनाहरूसित नै तल मृत-लोकमा गएका थिए।

[18] “ ‘वैभव र गौरवमा अदनका अरू कुन रूखहरू तँसित तुलना गर्न सकिन्छ? तर पनि तँ अदनका रूखहरूसँगै तल पृथ्वीमुनि मृत-लोकमा खसालिनेछस्; तँ ती खतना नभएकाहरूका बीचमा तरवारले मारिएकाहरूका साथमा सुतिरहनेछस्। “ ‘यो फारो र त्यसका सबै सेना दलहरूको बारेमा हो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”

इजकिएल — Chapters