Skip to content
Opens in a new window
Listen to this chapter • 7:38

[1] याहवेहको यो वचन मकहाँ आयो:

[2] “हे मानिसको छोरा, मागोग देशको गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमारतिर तेरो अनुहार फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्,

[3] र भन्: ‘प्रभु याहवेह भन्‍नुहुन्छ: हे गोग, रोश, मेशेक र तूबलको प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।

[4] म तँलाई पछिल्तिर फर्काएर तेरो बङ्गारामा अङ्कुसे लगाउनेछु, र तेरा सम्पूर्ण सेनाहरूसँग तँलाई बाहिर निकालेर ल्याउनेछु—तेरा घोडाहरू, सारा हातहतियारहरूले सुसज्जित तेरा घोडचढी सेनाहरू र ठूला-साना ढालहरू भिरेका तरवार चलाउन सक्ने ठूलो सेनाहरूसँग बाहिर ल्याउनेछु।

[5] परसीया, कूश र पूत तिनीहरूसँग हुनेछन्; तिनीहरू सबैसँग आफ्ना ढालहरू र टोपहरू हुनेछन्;

[6] साथै गोमेर त्यसका सबै सेना दलहरूसँग र सुदूर उत्तरको बेथ-तोगर्मा त्यसका सबै सेना दलहरूसँग—अनि तँसँग भएका धेरै जातिहरू पनि हुनेछन्।

[7] “ ‘तयार हो; तँ र तेरो चारैतिर भेला भएका सबै सेना दलहरू, तयार हो, र तँ तिनीहरूलाई अगुवाइ गर्।

[8] धेरै दिनपछि तिमीहरूलाई हतियार भिर्नलाई बोलाइनेछ। आउँदा वर्षहरूमा तिमीहरूले युद्धबाट ध्वस्त भएर पुनर्निर्मित भएको एउटा देशमाथि आक्रमण गर्नेछौ, जसका मानिसहरू धेरै जाति-जातिहरूबाट इस्राएलका पर्वतहरूमा भेला गरिएका थिए, जुन धेरै लामो समयसम्म उजाड रहेको थियो। तिनीहरू जाति-जातिहरूबाट बाहिर ल्याइएका थिए; अनि अहिले तिनीहरू सबै सुरक्षित बसोबास गर्दछन्।

[9] तँ र तेरा सबै सेनाका दलहरू, र तँसँग भएका धेरै जातिहरू आँधीझैँ अगि बढ्नेछन्; तँचाहिँ देशलाई ढाक्ने बादलजस्तै हुनेछस्।

[10] “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन तेरो मनमा विचार उत्पन्‍न हुनेछ, र तैँले एउटा दुष्‍ट युक्ति रच्नेछस्।

[11] तैँले भन्‍नेछस्, “म एउटा पर्खाल नभएको बस्तीहरू भएको देशमाथि आक्रमण गर्नेछु; म एउटा शान्त र सुरक्षितसाथ बस्‍ने मानिसहरूमाथि आक्रमण गर्नेछु—तिनीहरू सबै पर्खालहरूविना, मूलढोकाहरू र बारहरूविना बसिरहेका छन्।

[12] म लुटपाट गरेर सखाप पार्नेछु; अनि भर्खर पुनर्बास भएको भग्नावशेष सहर, जाति-जातिहरूबाट भेला भएका पशुहरू र मालसामानहरूले धनी भएको देशमा बस्‍ने मानिसहरूको विरुद्धमा मेरो हात फर्काउनेछु।”

[13] शेबा र ददान, तर्शीशका व्यापारीहरू र त्यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्न आएको होस्? सुनचाँदी लैजान, गाईबस्तु र मालसामानहरू लैजान; अनि धेरै लुटका सामान जम्मा गर्नका निम्ति के तैँले तेरा सेना दलहरूलाई भेला गरेको होस्?” ’

[14] “यसकारण हे मानिसको छोरा, अगमवाणी गरेर गोगलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन जब मेरा इस्राएलका मानिसहरू सुरक्षितसाथ बसिरहेका हुन्छन्, के तँ त्यसमा ध्यान दिनेछैनस्?

[15] तँ र तँसित भएका धेरै जातिहरूसँग सबै जना घोडाहरूमा चढेर ठूलो दल शक्तिशाली सेनासँग तेरा आफ्ना ठाउँ सुदूर उत्तरबाट आउनेछस्।

[16] तँ मेरो प्रजा इस्राएलको विरुद्धमा देश नै ढाक्ने बादलझैँ अगि बढ्नेछस्। आउँदा दिनहरूमा हे गोग, म तँलाई मेरो देशको विरुद्धमा ल्याउनेछु, ताकि जब म तिनीहरूका आँखाको सामु पवित्र प्रमाणित हुनेछु, तब जाति-जातिहरूले मलाई चिनून्।

[17] “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तँ त्यही व्यक्ति होस्, जसको बारेमा मैले अगिका दिनहरूमा मेरा सेवकहरू, इस्राएलका अगमवक्ताहरूद्वारा बोलेको थिएँ। त्यस बेला तिनीहरूले वर्षौंसम्म मेरो अगमवाणी गरे, कि म तँलाई तिनीहरूको विरुद्धमा ल्याउनेछु।

[18] त्यस दिन यस्तो हुनेछ: जब गोगले इस्राएल देशमाथि आक्रमण गर्नेछ, तब मेरो रिसको आगो दन्किनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

[19] म मेरो जोश र प्रचण्ड क्रोधमा घोषणा गर्दछु, कि इस्राएल देशमा त्यस बेला एउटा ठूलो भूकम्प जानेछ।

[20] समुद्रका माछा, आकाशका चराहरू, वनका पशुहरू, जमिनमा हिँड्‍डुल गर्ने हरेक प्रकारका पशुप्राणीहरू, र पृथ्वीको सतहमा भएका सबै मानिसहरू मेरो उपस्थितिमा काम्नेछन्। पहाडहरू पल्टाइनेछन्, भिरालो ठाउँहरू भत्किनेछन् र हरेक पर्खाल जमिनमा ढल्नेछ।

[21] म मेरा सबै पर्वतहरूमा गोगको विरुद्ध तरवार पठाउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हरेक मानिसको तरवार उसको दाजुभाइको विरुद्धमा हुनेछ।

[22] म त्यसको विरुद्धमा रूढी र रक्तपातद्वारा न्याय गर्नेछु; म त्यसमाथि, त्यसका सेना दलहरूमाथि र त्यससँग भएका धेरै जातिहरूमाथि जल्दैगरेको गन्धकसहित मुसलधारे वर्षा र असिना बर्साउनेछु।

[23] यसरी म मेरो महानता र मेरो पवित्रता देखाउनेछु; अनि धेरै जातिहरूको दृष्‍टिमा म आफूलाई चिनाउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’

इजकिएल — Chapters