[1] याहवेहको वचन मकहाँ आयो:
[2] “इस्राएल देशको बारेमा मानिसहरूले भनेका यस उखानको अर्थ के हो? “ ‘अमिलो अङ्गुर खाने बुबाआमा, र दाँत कुँडिने छोराछोरी’!
[3] “म जीवित भएझैँ, प्रभु याहवेह भन्नुहुन्छ, तिमीहरूले अब उसो इस्राएलमा यो उखान कहिल्यै भन्नेछैनौ।
[4] किनकि हेर, हरेक जीवित प्राणी मेरै हो, बुबाआमा र छोराछोरी—ती दुवै मेरै हुन्। जसले पाप गर्छ, त्यही मर्नेछ।
[5] “उदाहरणको लागि एक जना न्यायसङ्गत र ठिक काम गर्ने धर्मी मानिस छ।
[6] त्यसले पर्वतको देवस्थानहरूमा खाँदैन, अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन, अथवा कुनै स्त्रीको महिनावारीको समयमा त्यस स्त्रीसित यौन सम्पर्क गर्दैन।
[7] त्यसले कसैलाई पनि अत्याचार गर्दैन, तर त्यसले ऋणको निम्ति लिएको बन्धक फर्काइदिन्छ। त्यसले लुटपाट गर्दैन, तर त्यसले भोकाएकाहरूलाई आफ्नो भोजन दिन्छ, र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
[8] त्यसले मानिसहरूलाई व्याजमा ऋण दिँदैन, अथवा तिनीहरूबाट फाइदा लिँदैन। त्यसले आफ्ना हातहरू खराबी गर्नबाट रोक्छ, र त्यसले मानिसहरूको दुई समूहको बीचमा ठिक न्याय गर्छ।
[9] त्यसले मेरा उर्दीहरू पालन गर्छ, र मेरा व्यवस्थाहरू विश्वासयोग्यतासाथ मान्छ। त्यो मानिसचाहिँ धर्मी हो; त्यो निश्चय नै जीवित रहनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
[10] “मानौँ त्यसको एउटा हिंसात्मक छोरा छ, जसले रक्तपात गर्छ; यी कामहरूमध्ये अरू खराबी कुराहरू पनि गर्छ,
[11] (यद्यपि त्यसका बुबाले चाहिँ यी खराब कामहरूमध्ये एउटै पनि गरेनन्): “त्यसले पर्वतका देवस्थानहरूमा खान्छ। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्छ।
[12] त्यसले गरिब र खाँचोमा परेकाहरूलाई अत्याचार गर्छ, त्यसले लुटपाट गर्छ। त्यसले ऋणको निम्ति आफूले बन्धक लिएको कुरो फर्काउँदैन, त्यसले मूर्तिहरूतिर हेर्छ। त्यसले घिनलाग्दा कामहरू गर्छ।
[13] त्यसले रकम ब्याजमा दिन्छ र फाइदा लिन्छ। के यस्तो मानिस जीवित रहला र? त्यो जीवित रहनेछैन! त्यसले यी सबै घिनलाग्दा कामहरू गरेको कारण त्यो निश्चय नै मारिनैपर्छ; त्यसको रगतको दोष त्यसको आफ्नै टाउकोमा हुनेछ।
[14] “अब मानौँ त्यस मानिसको एउटा छोरा छ, जसले आफ्नो बुबाले गरेका सबै पापहरू देख्छ; अनि त्यसले ती देखे तापनि यस्ता कुराहरू गर्दैन:
[15] “त्यसले पर्वतका देवस्थानहरूमा खाँदैन, अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन।
[16] त्यसले कसैलाई पनि अत्याचार गर्दैन, अथवा ऋणको निम्ति बन्धक लिँदैन। त्यसले लुटपाट गर्दैन, तर त्यसले भोकाएकाहरूलाई आफ्ना भोजन दिन्छ, र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
[17] त्यसले गरिबहरूलाई गलत व्यवहार गर्नबाट आफ्ना हात रोक्छ र रकमको ब्याज लिँदैन अथवा फाइदा लिँदैन। त्यसले मेरा आज्ञाहरू पालन गर्छ र मेरा उर्दीहरू मान्छ। त्यो आफ्नो बुबाको पापको कारण मर्नेछैन; त्यो निश्चय नै जीवित रहनेछ।
[18] तर त्यसको बुबा आफ्नै पापको कारण मर्नेछ; किनकि त्यसले जबरजस्तीसँग खराब गरेको छ, र आफ्ना दाजुभाइलाई लुटेको छ; अनि आफ्ना मानिसहरूका बीचमा जुन कुरा खराब थियो, त्यही गरेको छ।
[19] “तापनि तिमीहरू सोध्छौ, ‘त्यो छोरा आफ्नो बुबाको दोषको सहभागी किन भएन?’ त्यो छोराले जे न्यायसङ्गत र ठिक थियो, त्यही गर्यो; अनि मेरा उर्दीहरू होसियारीसाथ पालन गरेको कारण त्यो निश्चय नै जीवित रहनेछ।
[20] जसले पाप गर्छ, त्यही मर्नेछ। छोराछोरीले बुबाआमाको दोषको दण्ड भोग्नेछैनन्, न त बुबाआमाले छोराछोरीको दोषको दण्ड भोग्नेछन्। धर्मीले आफ्नो धार्मिकताको फल, र दुष्टहरूले तिनीहरूको दुष्टताको परिणाम पाउनेछन्।
[21] “तर यदि कुनै दुष्ट मानिस आफूले गरेका सबै पापहरूबाट फर्कन्छ, र त्यसले मेरा सबै उर्दीहरू पालन गर्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यो निश्चय नै जीवित रहनेछ, त्यो मर्नेछैन।
[22] त्यसले गरेका कुनै पनि अपराधको सम्झना त्यसको विरुद्धमा हुनेछैन। त्यसले गरेका धार्मिक कुराहरूको कारण त्यो जीवित रहनेछ।
[23] के म दुष्टको मृत्युमा खुशी हुन्छु र? प्रभु याहवेह घोषणा गर्नुहुन्छ। बरु के तिनीहरू आफ्ना दुष्ट चालबाट फर्कँदा म खुशी हुँदिनँ र?
[24] “तर धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर पाप गर्छ, र दुष्ट मानिसले गर्ने त्यही घिनलाग्दा कामहरू गर्छ भने के त्यो जीवित रहला र? त्यसले गरेको कुनै पनि धार्मिक कामहरूको सम्झना हुनेछैन। त्यसले गरेका अविश्वासयोग्यताको दोषको कारण र त्यसले गरेका पापहरूको कारण त्यो मर्नेछ।
[25] “तापनि तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलीहरू हो, सुन: के मेरो मार्ग न्यायसङ्गत छैन? के तिमीहरूकै चालहरू बेठीक छैनन् र?
[26] यदि कुनै धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्याग्छ, र पाप गर्छ भने त्यसको निम्ति त्यो मर्नेछ; त्यसले गरेको पापको कारण त्यो मर्नेछ।
[27] तर यदि एक जना दुष्ट मानिस आफूले गरेको दुष्टताबाट फर्कन्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसले आफ्नो प्राण बचाउनेछ।
[28] त्यसले आफूले गरेका सबै अपराधहरू विचार गरेर तीबाट फर्केको कारण, त्यो व्यक्ति निश्चय नै जीवित रहनेछ; त्यो व्यक्ति मर्नेछैन।
[29] तापनि इस्राएलीहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलका मानिसहरू हो, के मेरा मार्गहरू न्यायसङ्गत छैनन् र? के तिमीहरूकै मार्गहरू बेठीक छैनन् र?
[30] “यसकारण हे इस्राएलीहरू हो, म हरेकलाई तिमीहरूका आफ्नै चालहरूअनुसार न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। पश्चात्ताप गर! तिमीहरूका सबै अपराधहरूबाट फर्क; तब तिमीहरूको पतनको कारण पाप हुनेछैन।
[31] तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?
[32] किनकि कसैको पनि मृत्युमा म प्रसन्न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्चात्ताप गर, र जीवित रहो!