[1] तब आत्माले मलाई माथि उठाएर याहवेहको भवनको पूर्वीय मूलढोकामा ल्याउनुभयो। त्यहाँ मूलढोकाको प्रवेशद्वारमा पच्चीस जना मानिसहरू थिए। तिनीहरूमध्ये मैले मानिसहरूका अगुवाहरू अज्जूरका छोरा यजन्याह र बनायाहका छोरा पलत्याहलाई देखेँ।
[2] याहवेहले मलाई भन्नुभयो, “हे मानिसको छोरा, यी ती मानिसहरू हुन्, जसले सहरमा दुष्टता रच्दछन् र दुष्ट सल्लाह दिन्छन्।
[3] तिनीहरू भन्छन्, ‘के हाम्रा घरहरू हालसालै पुनर्निर्माण भएका होइनन् र? यो सहर एउटा कराहीजस्तै हो, र हामीचाहिँ यसमा राखिएको मासु हौँ।’
[4] यसकारण तिनीहरूको विरुद्धमा अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गर्।”
[5] तब याहवेहको आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्न लाउनुभयो: “याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूले यसरी भनिरहेका त छौ, तर तिमीहरूका मनभित्र के सोचिरहेका छौ, सो म जान्दछु।
[6] तिमीहरूले यस सहरभित्र धेरै मानिसहरू मारेका छौ, र सहरका सडकहरू मानिसहरूका लासहरूले भरिदिएका छौ।
[7] “यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले सहरमा फ्याँकिदिएका लासहरू मासु हो, र यो सहरचाहिँ कराही हो; तर म तिमीहरूलाई यहाँबाट धपाइदिनेछु।
[8] तिमीहरू तरवारसँग डराउँछौ, तर म तिमीहरूको विरुद्धमा तरवार नै ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
[9] म तिमीहरूलाई यस सहरबाट बाहिर धपाइदिनेछु; अनि तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूमाथि दण्ड ल्याउनेछु।
[10] तिमीहरू तरवारले मारिनेछौ, र इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।
[11] यो सहर तिमीहरूका निम्ति कराही बन्नेछैन, न त तिमीहरू यसभित्र मासु नै बन्नेछौ; म इस्राएलका सिमानाहरूमा तिमीहरूको न्याय गर्नेछु।
[12] अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ; किनकि तिमीहरूले मेरा उर्दीहरू पालन गरेका छैनौ र आज्ञाहरू मानेका छैनौ; तर तिमीहरू आफ्ना चारैतिरका अन्य जातिहरूकै स्तरमा तिनीहरूका रीतिअनुसार चलेका छौ।”
[13] जब मैले अगमवाणी गरिरहेको थिएँ, बनायाहका छोरा पलत्याहको मृत्यु भयो। तब म भुइँमा घोप्टो परेँ र चर्को सोरले कराएँ, “हाय, प्रभु याहवेह! के तपाईंले इस्राएलको बाँकी रहेका मानिसहरूलाई पनि सम्पूर्ण रूपले नाश गर्नुहुनेछ?”
[14] याहवेहको वचन मकहाँ आयो:
[15] “हे मानिसको छोरा, यरूशलेममा बसोबास गर्ने मानिसहरूले तेरा आफ्नै नातेदार निर्वासित यहूदी दाजुभाइहरू र इस्राएलका सम्पूर्ण घरानाहरूका विषयमा यसो भनेका छन्, ‘तिनीहरू याहवेहदेखि धेरै टाढा छन्; यो इस्राएल देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको हो।’
[16] “यसकारण भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जातिहरूको बीचमा टाढा पठाएँ, र तिनीहरूलाई अन्य देशहरूका बीचमा तितरबितर पारेँ; तर पनि तिनीहरू गएका देशहरूमा म केही समय तिनीहरूका निम्ति पवित्रस्थान बनिरहेँ।’
[17] “यसकारण निर्वासित इस्राएलीहरूलाई भन्: प्रभु याहवेह यसो भन्नुहुन्छ: म तिमीहरूलाई जाति-जातिहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई छरपस्ट पारिएका देशहरूबाट फर्काएर ल्याउनेछु; अनि फेरि म तिमीहरूलाई इस्राएल देश फर्काइदिनेछु।
[18] “तिनीहरू इस्राएलमा फर्कनेछन् र यस देशका सबै घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरू हटाइदिनेछन्।
[19] म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु।
[20] त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
[21] तर जसका हृदय तिनीहरूका घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरूको पछि लाग्छ, म तिनीहरूले गरेका कामहरूको दण्ड तिनीहरूकै शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
[22] तब करूबहरूले तिनीहरूका छेउमा भएका चक्काहरूसहित आफ्ना पखेटा फैलाए, र इस्राएलका परमेश्वरको महिमा तिनीहरूका मास्तिर थियो।
[23] याहवेहको महिमा सहरभित्रबाट माथि गयो र त्यस सहरको पूर्वतिरको पर्वतमाथि गएर अडियो।
[24] फेरि आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिनुभएको दर्शनमा बेबिलोनमा निर्वासित भएकाहरूको बीचमा मलाई ल्याउनुभयो। तब मैले देखेको दर्शन मबाट माथि गइहाल्यो;
[25] याहवेहले मलाई देखाउनुभएको सबै कुरा मैले कैदमा लगिएका मानिसहरूलाई भनिदिएँ।