Skip to content
Opens in a new window
Listen to this chapter • 7:07

[1] अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तेरो अगाडि जे कुरा छ, त्यो खा! यो मुट्ठो खा; त्यसपछि गएर इस्राएलका घरानाहरूलाई भन्।”

[2] यसकारण मैले आफ्नो मुख खोलेँ र उहाँले मलाई त्यो मुट्ठो खान दिनुभयो।

[3] तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, मैले तँलाई दिएको यो मुट्ठो खा, र यसले आफ्नो पेट भर्।” यसकारण मैले मुट्ठो खाएँ, र त्यो मेरो मुखमा महझैँ गुलियो भयो।

[4] तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, अब इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरा वचनहरू भन्।

[5] तँ विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा बोल्ने जातिहरूकहाँ पठाइँदैछैनस्, तर इस्राएलका मानिसहरूकहाँ पठाइँदैछस्—

[6] विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा भएका धेरै जातिहरूकहाँ होइन, जसका कुरा तँ बुझ्न सक्दैनस्। यदि मैले तँलाई तिनीहरूकहाँ पठाएको भए निश्‍चय नै तिनीहरूले तेरो कुरा सुन्‍नेथिए।

[7] तर इस्राएलका मानिसहरूले तेरो कुरा सुन्‍न चाहँदैनन्; किनभने तिनीहरूले मेरो कुरा सुन्‍न इच्छा गर्दैनन्; किनकि इस्राएलीहरू कठोर र जिद्दी भएका छन्।

[8] तर म तँलाई तिनीहरूजस्तै नझुक्ने र कठोर बनाउनेछु।

[9] म तेरो निधारलाई चकमके ढुङ्गाभन्दा कडा बनाइदिनेछु। यद्यपि तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूसँग नडरा अथवा तिनीहरूदेखि त्रसित नहो।”

[10] फेरि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तैँले ध्यानसित सुन्, र मैले तँलाई भनेका मेरा सबै वचन तेरो हृदयमा राख्।

[11] निर्वासनमा लगिएका तेरा देशवासीहरूकहाँ गएर तिनीहरूसँग कुरा गर्। ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ, तिनीहरूले सुनून् वा नसुनून्, तिनीहरूलाई भन्।’ ”

[12] तब आत्माले मलाई माथि उचाल्नुभयो; अनि जब याहवेहको महिमा आफ्नो स्थानबाट उठ्यो, तब मैले मेरो पछाडि एउटा ठूलो गडगडाहटको आवाज सुनेँ।

[13] त्यो आवाज ती जीवित प्राणीहरूका पखेटाहरू एक-अर्कालाई छुँदा निस्केको आवाज र तिनीहरूका छेउका चक्‍काहरू घुमेको आवाज, भुइँचालो गएको जस्तै ठूलो गडगडाहटको आवाज थियो।

[14] त्यसपछि आत्माले मलाई उठाएर माथितिर टाढा लैजानुभयो, तब मेरो मनमा तितो लाग्यो र रिस उठ्यो; अनि याहवेहको बलियो हात ममाथि थियो।

[15] म कबार नदीको छेउमा भएको तेल-अबीबमा बस्‍ने निर्वासनमा लगिएकाहरूकहाँ गएँ। अनि त्यहाँ तिनीहरू बसोबास गरेको ठाउँमा तिनीहरूको बीचमा म सात दिनसम्म अति दुःखी भएर रहेँ।

[16] तेल-अबीबमा बसेको सात दिनको अन्त्यमा याहवेहको वचन मकहाँ आयो:

[17] “हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।

[18] जब म एक जना दुष्‍टलाई भन्छु, ‘तँ निश्‍चय नै मर्नेछस्,’ अनि तैँले त्यसको प्राण बचाउनलाई चेतावनी दिइनस् र त्यसका दुष्‍ट चालहरूबाट फर्कनलाई बताइनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापको निम्ति मर्नेछ; तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु।

[19] तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई चेतावनी दिइस् र त्यो आफ्नो दुष्‍टता अथवा आफ्नो खराब चालबाट फर्केन भने त्यो आफ्नो पापमा नै मर्नेछ; तर तैँलेचाहिँ आफ्नो प्राण बचाउनेछस्।

[20] “तर जब धर्मी मानिसले आफ्नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र मैले त्यसको अगि ठेस लाग्ने ढुङ्गो राखिदिएँ भने त्यो मर्नेछ। तैँले त्यसलाई चेतावनी नदिएको हुनाले त्यो आफ्नै पापको कारण मर्नेछ। त्यसले गरेका धार्मिक कामहरूको सम्झना हुनेछैन; अनि म तँलाई त्यसको रगतको जिम्मेवार ठहराउनेछु।

[21] तर यदि तैँले धर्मी मानिसलाई पाप नगर्नू भनेर चेतावनी दिइस् र त्यसले पाप गरेन भने त्यो निश्‍चय नै बाँच्नेछ; किनकि त्यसले चेतावनी ग्रहण गर्‍यो, र तैँले आफ्नो प्राणलाई बचाउनेछस्।”

[22] तब त्यहाँ याहवेहको हात ममाथि थियो र उहाँले मलाई भन्‍नुभयो, “उठ् र मैदानमा जा; अनि त्यहाँ म तँसँग कुरा गर्नेछु।”

[23] यसकारण म उठेर मैदानमा गएँ; अनि कबार नदीको किनारमा मैले देखेको जस्तै याहवेहको महिमा त्यहाँ प्रकट भएको थियो; अनि म भुइँमा घोप्टो परेर निहुरिएँ।

[24] तब ममा आत्मा आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो। उहाँले मसँग कुरा गर्नुभयो र मलाई भन्‍नुभयो: “तेरो घरमा जा, गएर आफ्नो घरभित्र ढोका बन्द गरेर बस्।

[25] अनि हे मानिसको छोरा, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्; अनि तँ मानिसहरूको बीचमा बाहिर निस्केर जान पाउनेछैनस्।

[26] म तेरो जिब्रोलाई तालुमा टाँसिदिनेछु; अनि तँ बोल्न नसक्ने हुनेछस्, र तैँले तिनीहरूलाई हप्काउन सक्नेछैनस्; किनकि तिनीहरू विद्रोही घरानाका हुन्।

[27] तर जब म तँसित बोल्छु, म तेरो मुख खोलिदिनेछु र तैँले तिनीहरूलाई भन्‍नू: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ।’ जसले सुन्‍न चाहन्छ, ध्यानसित सुनोस्, र सुन्‍न नचाहनेले नसुनोस्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।”

इजकिएल — Chapters