[1] याहवेहको यो वचन मकहाँ आयो:
[2] “हे मानिसको छोरा, टायरको विषयमा एउटा विलाप गीत गा;
[3] समुद्रको प्रवेशद्वारमा रहेको, धेरै किनारहरूमा रहेका टायरका व्यापारी मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘हे टायर, तँ भन्छस्, “म सुन्दरतामा सिद्ध छु।”
[4] तेरा सिमानाहरू समुद्रको बीचमा फैलिएको थियो; तेरा निर्माणकर्ताहरूले तेरो सुन्दरतालाई सिद्ध पारिदिए।
[5] तिनीहरूले तेरा काठका फल्याकहरू सेनीरका सल्लाका रूखहरूबाट बनाए; तेरा निम्ति मस्तुल बनाउनलाई लेबनानबाट देवदारु ल्याए।
[6] तिनीहरूले तेरा पतवारहरू बाशानका फलाँटका रुखहरूबाट बनाए; तिनीहरूले तेरो जहाजको तला साइप्रसका किनारका सिसौका काठहरूले बनाए, र त्यसलाई हस्तीदन्तले सिँगारे।
[7] तेरो जहाजको पाल इजिप्टको मिहिन बुट्टेदार सुतीको कपडाबाट बनिएको थियो, र त्यसले तेरो झण्डाको काम पनि गर्थ्यो; तेरो चँदुवा निलो र बैजनी कपडाको साइप्रसको एलीशाह सहरका किनारबाट ल्याइएको थियो।
[8] सीदोन र अर्वदका मानिसहरू तेरा नाविक थिए; हे टायर, तेरा निपुण मानिसहरू जहाजमै चढेर बसेका चालकहरू थिए।
[9] जहाजमा टालटुल गर्ने कामको निम्ति गबालका अनुभवी र सिपालु कारिगरहरू जहाजमै थिए। समुद्रका सबै जहाजहरू र तिनीहरूका नाविकहरू तेरा मालसामानहरू व्यापार गर्न तँकहाँ आउँथे।
[10] “ ‘परसीयाका मानिसहरू, लूद र पूतका मानिसहरू तेरो सेनामा सेवा गर्ने सिपाहीहरू थिए। तिनीहरूले आफ्ना ढाल र टोपहरू तेरा पर्खालहरूमा झुण्ड्याएर तेरो गौरव बढाए।
[11] अर्वद र हेलेकका मानिसहरू तेरा पर्खालका चारैतिर पहरेदार थिए; गमादका मानिसहरू तेरा धरहराहरूमा थिए। तिनीहरूले आफ्ना ढालहरू तेरा पर्खालका चारैतिर झुण्ड्याउँथे; तेरो सुन्दरता पूर्ण बनाउँथे।
[12] “ ‘तेरा मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण तर्शीशले तँसँग व्यापार गर्थ्यो; तिनीहरूले तेरा व्यापारका सरसमानहरूसँग चाँदी, फलाम, टिन र सिसा साटासाट गरे।
[13] “ ‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गर्थे; तिनीहरूले तेरा मालसामानहरूसित कमाराहरू र काँसाका सामग्रीहरूसँग साटासाट गर्थे।
[14] “ ‘बेथ-तोगर्माका मानिसहरूले रथका घोडाहरू, लडाइँका घोडाहरू र खच्चरहरू तेरा व्यापारका मालसामानहरूसित साटासाट गर्थे।
[15] “ ‘रोडसका मानिसहरूले तँसित व्यापार गरे; अनि समुद्र किनारका धेरै देशहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँलाई हस्तीदन्त र आब्नुस काठ दामको रूपमा तिरे।
[16] “ ‘तेरा धेरै उत्पादित कुराहरूको कारण अरामले तँसित व्यापार गर्यो; तिनीहरूले नीलमणि, बैजनी वस्त्र, बुट्टेदार चीजहरू, मलमल सुती कपडा, मुगा र लालमणि तेरा व्यापारका मालसामानहरूसित साटासाट गरे।
[17] “ ‘यहूदा र इस्राएलले तँसित व्यापार गरे; तिनीहरूले तेरा मालसामानहरूसित मिन्नीतका गहुँ र नेभारा, मह, जैतुन तेल र सुगन्धित लेप साटासाट गरे।
[18] “ ‘तेरा धेरै उत्पादित कुराहरू र मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण दमस्कसले तँसित व्यापार गर्यो। तिनीहरूले हेल्बोनबाट ल्याएको मद्य र जहरबाट ल्याएको सेतो ऊन दिए।
[19] दानवंशीहरू र उजालका ग्रीकहरूले तँसित व्यापार गरे: तिनीहरूले तेरा सामानहरूसित फलाम, तेजपात र बोझो साटे।
[20] “ ‘ददानले तँसित जिनको व्यापार गर्यो।
[21] “ ‘अरब र केदारका सबै राजकुमारहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँसित थुमाहरू, साँढे भेडाहरू र बाख्राहरूको व्यापार गरे।
[22] “ ‘शेबा र रामाहका व्यापारीहरूले तँसित व्यापार गरे; तिनीहरूले सबैभन्दा उत्तम किसिमका मसलाहरू, बहुमूल्य पत्थरहरू र सुनहरू तेरा मालसामानहरूसित साटासाट गरे।
[23] “ ‘हारान, कन्ने, अदन र शेबाका व्यापारीहरू, अश्शूर र किल्मदले तँसित व्यापार गरे।
[24] तिनीहरूले तेरा बजारमा सुन्दर वस्त्रहरू, निलो धागोले बनाएका लुगा, बुट्टेदार कपडाहरू र बटारिएका र कसिएका डोरीहरूसँग बनिएका रङ्गी-बिरङ्गी गलैँचाहरूको व्यापार गरे।
[25] “ ‘तर्शीशका जहाजहरूले तेरा सामानहरू बोकेर व्यापार गर्छन्। तँ समुद्रको बीचमा यात्रा गर्दा तेरो जहाज मालसामानले भरिएको हुन्छ।
[26] तेरा नाविकहरूले तँलाई बीच समुद्रमा लैजान्छन्, तर पूर्वीय बतासले तँलाई समुद्रको बीचमा टुक्रा-टुक्रा पारिदिनेछ।
[27] तेरो धनसम्पत्ति, व्यापारका मालसामानहरू, तेरा नाविकहरू, चालकहरू र टालटुल गर्ने मानिसहरू, तेरा व्यापारीहरू र तेरा सबै सिपाहीहरू; अनि तेरो सर्वनाशको दिन जहाजमा भएका सबै जना समुद्रको बीचमा डुबिजानेछन्।
[28] तेरा नाविकहरूले चीत्कार गर्दा समुद्र किनारका ठाउँहरू काम्नेछन्।
[29] पतवार खियाउनेहरू सबैले तिनीहरूका जहाजहरू त्यागिदिनेछन्; सबै नाविकहरू र चालकहरू समुद्रको किनारमा उभिनेछन्।
[30] तिनीहरूले आफ्ना सोर उचाल्नेछन्, र तेरा निम्ति धुरुधुरु रुनेछन्; तिनीहरूले आफ्ना शिरमाथि धुलो छर्नेछन् र खरानीमा लडीबुडी गर्नेछन्।
[31] तिनीहरूले तेरो कारण आफ्ना शिर खौरनेछन् र भाङ्ग्रा लगाउनेछन्। तेरा निम्ति तिनीहरू आत्मामा विचलित भएर शोकमा परी धुरुधुरु रुनेछन्।
[32] तिनीहरूले तेरो निम्ति विलाप गरिरहँदा, तिनीहरूले तेरो बारेमा यसो भन्दै एउटा विलाप गीत गाउनेछन्: “समुद्रले घेरिएको टायरलाई जस्तै कसैलाई कहिल्यै चुप गराइएको छ?”
[33] तेरो व्यापारिक मालसामानहरू समुद्रपार भएर जाँदा, तैँले धेरै जातिहरूलाई सन्तुष्ट पारिस्; तेरो ठूलो धनसम्पत्ति र तेरा मालसामानहरूले पृथ्वीका राजाहरूलाई तैँले धनी तुल्याइस्।
[34] अहिले तँ पानीको गहिराइमा समुद्रद्वारा चकनाचुर पारिएको छस्; तेरा मालसामानहरू र तेरा सबै साथीहरू तँसितै तल समुद्रको गहिराइमा नष्ट भएका छन्।
[35] समुद्रको किनारमा बस्नेहरू सबै तँलाई देखेर भयभीत भएका छन्; तिनीहरूका राजाहरू त्रासले थरथर काम्छन्, र तिनीहरूका अनुहारहरूमा डर छाएको छ।
[36] जाति-जातिहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्; तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्; अनि तँ अब सदाको निम्ति नष्ट हुनेछस्।’ ”