Skip to content
Opens in a new window
Listen to this chapter • 7:12

[1] याहवेहको यो वचन मकहाँ आयो:

[2] “हे मानिसको छोरा, अगमवाणी गरेर भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘विलाप गरेर भन्, “हाय त्यो दिन!”

[3] किनकि त्यो दिन नजिकै छ; याहवेहको दिन नजिकै छ! बादलहरूको दिन, जाति-जातिहरूका निम्ति विनाशको दिन।

[4] इजिप्टको विरुद्धमा एउटा तरवार आउनेछ; अनि कूशमाथि वेदना आउनेछ। जब इजिप्टमा मारिएकाहरूले जमिन ढाक्छन्, तब त्यसका धनसम्पत्ति लगिनेछ, र त्यसका जगहरू पूर्ण रूपमा भत्काइनेछ।

[5] कूश, लिबिया, लूद र सारा अरब, कुब र करारको देशका मानिसहरू इजिप्टसितै तरवारद्वारा ढल्नेछन्।

[6] “ ‘याहवेह यसो भन्‍नुहुन्छ: “ ‘इजिप्टका सहयोगी राष्ट्रहरू ढल्नेछन्, र त्यसको शक्तिको घमण्ड असफल हुनेछ। मिग्दोलदेखि आश्‍वानसम्म तिनीहरू इजिप्ट सहरभित्र तरवारले ढल्नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।

[7] तिनीहरू उजाड देशहरूका बीचमा उजाड हुनेछन्; अनि तिनीहरूका सहरहरू ध्वस्त भएका सहरहरूका बीचमा रहिरहनेछन्।

[8] जब मैले इजिप्टमा आगो लगाएर त्यसका सबै सहयोगीहरू नष्‍ट हुनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।

[9] “ ‘त्यस दिन सुरक्षित भई ढुक्‍क बसेको कूशलाई डर देखाउन मबाट सन्देश वाहकहरू जहाजमा जानेछन्। इजिप्टको विनाशको दिन तिनीहरूलाई वेदनाले छोप्नेछ; किनकि त्यो निश्‍चय आउनेछ।

[10] “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘म बेबिलोनको राजा नबूकदनेसरको हातबाट इजिप्टको सेना दलको अन्त्य गरिदिनेछु।

[11] त्यो र त्यसका सेना, जाति-जातिहरूमा अत्यन्तै निष्‍ठुर छन्, देशलाई नाश गर्नको निम्ति भित्र ल्याइनेछ। तिनीहरूले इजिप्टको विरुद्धमा आफ्ना तरवारहरू निकाल्नेछन्, र मारिएकाहरूले देशलाई ढाकिदिनेछन्।

[12] म नील नदीको पानीलाई सुकाइदिनेछु, र देशलाई दुष्‍ट मानिसहरूकहाँ बेचिदिनेछु; विदेशीहरूका हातद्वारा म देशलाई र त्यसमा भएका सबै कुरालाई उजाड पारिदिनेछु। म याहवेहले नै भनेको हुँ।

[13] “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसमा भएका आकृतिहरूलाई नष्‍ट गरिदिनेछु। इजिप्टमा अब फेरि कुनै राजकुमार रहनेछैन; अनि म इजिप्टभरि डर फैलाइदिनेछु।

[14] म माथिल्‍लो इजिप्टलाई उजाड पार्नेछु, सोअनमा आगो लगाउनेछु, र थेबेस सहरलाई दण्ड दिनेछु।

[15] इजिप्टको किल्‍ला पेलुसियममा म मेरो क्रोध पोखाउनेछु; अनि थेबेस सहरका सेना दलहरूलाई नष्‍ट पार्नेछु।

[16] म इजिप्टमा आगो लगाउनेछु; पेलुसियम वेदनाले छटपटिनेछ। थेबेस सहरलाई आँधीले लैजानेछ; मेम्फिस लगातार कष्‍टमा रहनेछ।

[17] हेलिओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारले ढल्नेछन्; अनि सहरहरू आफैँ कैदमा जानेछन्।

[18] जब तहपनेसको दिन अँध्यारो हुनेछ, तब म इजिप्टको जुवा भाँचिदिन्छु; त्यहाँ त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ। इजिप्ट बादलले छोपिनेछ; अनि त्यसका गाउँहरू कैदमा जानेछन्।

[19] यसरी म इजिप्टमाथि दण्ड ल्याउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ”

[20] एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:

[21] “हे मानिसको छोरा, मैले इजिप्टको राजा फारोको हात भाँचिदिएको छु। यसलाई निको पार्न बाँधिएको छैन, अथवा त्यसमा मलमपट्टी लगाइएको छैन, ताकि त्यो तरवार समाउन सक्ने बलियो बनोस्।

[22] यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म इजिप्टको राजा फारोको विरुद्धमा छु। म त्यसका दुवै पाखुराहरू, अर्थात् राम्रो र भाँचिएका दुवै पाखुराहरू भाँचिदिनेछु; अनि त्यसको हातबाट तरवार खस्‍न लगाउनेछु।

[23] म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु।

[24] म बेबिलोनको राजाका पाखुराहरू बलिया पार्नेछु; अनि मेरो तरवार त्यसको हातमा राखिदिनेछु, तर म फारोका हातहरू भाँचिदिनेछु; अनि नबूकदनेसरको सामु मर्न लागेको घाइते मानिसझैँ त्यसले सुस्केरा हाल्नेछ।

[25] म बेबिलोनको राजाका पाखुराहरू बलिया बनाइदिनेछु, तर फारोका हातहरू लत्रक्‍क झुण्डिनेछन्। जब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्, तब म बेबिलोनको राजाको हातमा मेरो तरवार राखिदिन्छु; अनि त्यसले त्यो इजिप्टको विरुद्धमा चलाउनेछ।

[26] म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”

इजकिएल — Chapters