Skip to content
Opens in a new window
Listen to this chapter • 3:24

[1] आफ्नो युवाअवस्थामा नै आफ्नो सृष्‍टिकर्तालाई सम्झ! दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै, “यस समयमा मेरो मन लाग्दैन” भन्‍ने वर्षहरू आउनुभन्दा अगि नै—

[2] सूर्य र प्रकाश, चन्द्रमा र ताराहरू अँध्यारो हुन अगि, वर्षापछि बादल फर्कनुभन्दा अगि नै,

[3] जब घरको हेरचाह गर्नेहरू काम्दछन्, र बलिया मानिसहरू कुप्रो पर्छन्, जाँतोका दाँतहरू झरेर कम भएका कारण जाँतो पिँध्नेहरूले काम बन्द गर्दछन्, र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्;

[4] जब गल्‍लीतिर जाने ढोकाहरू बन्द हुन्छन्, र जाँतोको आवाज कम हुँदैजान्छ, जब चराको चिरबिर आवाजमा मानिसहरू उठ्छन्, तर तिनीहरूका सबै गीत मधुरो हुन्छन्;

[5] जब मानिसहरू अग्लो ठाउँसित र बाटाका खतरासित डराउँछन्, जब हाडे-बदामका बोटमा सेतै फूल फुल्दछन्, र फट्याङ्ग्राले आफैँलाई घिसारेर हिँड्दछ, अनि मनको चाहना अब उसो जाग्दैन; किनकि मानिस आफ्ना अनन्तको घरमा जान्छन्, अनि शोक गर्ने मलामीहरू गल्‍लीमा यताउता लाग्नेछन्।

[6] आफ्नो सृष्‍टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि, र सुनको कचौरा फुट्नुअगि, पँधेरामा गाग्रो फुट्नुअगि र इनारमा चक्‍का भाँचिनुअगि,

[7] धुलो माटैमा फर्केर जानुअगि, र आत्मा परमेश्‍वरकहाँ फर्किजानेछ; जसले त्यो दिनुभयो।

[8] “अर्थहीन! अर्थहीन!” उपदेशक भन्दछन्। “सबै अर्थहीन छन्!”

[9] उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाउँथे। तिनले विचार गरे, खोजी गरेर धेरै हितोपदेशहरू क्रमबद्ध रूपमा राखे।

[10] तिनले ठिक वचनहरू खोजी गरे, र जे लेखिए, ती वास्तविक र सत्य थिए।

[11] बुद्धिमान्‌का वचनहरू गोठालोको लहुराजस्तै छन्। तिनीहरूले सङ्कलन गरेका भनाइहरू ठिकसित ठोकेका किलाझैँ छन्—ती एउटै गोठालोबाट प्राप्‍त भएका हुन्।

[12] हे मेरा छोराछोरीहरू हो, यीबाहेक अरू कुरामा पनि होसियार होओ! किनकि धेरै पुस्तकहरूको लेखाइको अन्त्य छैन; अनि धेरै अध्ययनले शरीरलाई थकाउँछ।

[13] अब जति पनि सुनियो: सबै कुराको निष्कर्ष यही हो: परमेश्‍वरको भय मान र उहाँका आज्ञापालन गर; किनकि समस्त मानव-जातिको कर्तव्य यही हो।

[14] किनकि परमेश्‍वरले हामीले गरेका हरेक कामको न्याय गर्नुहुनेछ, प्रत्येक गुप्‍त कुरासमेत, चाहे त्यो असल होस् वा खराब।

उपदेशक — Chapters