Skip to content
Opens in a new window
Listen to this chapter • 5:13

[1] यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्‍वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन।

[2] सबैको गन्तव्य समान हुन्छ—धर्मी र अधर्मी, असल र खराब, औपचारिक रूपमा शुद्ध र अशुद्ध; बलिदान चढाउने र नचढाउने सबैको। जस्तो असल मानिसमाथि जे आइपर्छ, त्यस्तै पापीमाथि पनि त्यही नै आइपर्छ; शपथ खानेहरूमाथि जस्तो हुन्छ; त्यस्तै शपथ खान डराउने मानिसहरूमाथि पनि समान गन्तव्य हुन्छ।

[3] सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्‍टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्।

[4] जो बाँचिरहने मानिसहरूका बीचमा हुन्छ, त्यसका लागि आशा छ—मरेको सिंहभन्दा त जिउँदो कुकुर नै असल हो!

[5] किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्; तर मरेकाहरूले केही जान्दैनन्; न त तिनीहरूले केही प्रतिफल नै पाउनेछन्; र तिनीहरूका नामको सम्झना पनि हराउँछ।

[6] तिनीहरूका प्रेम, घृणा र तिनीहरूका ईर्ष्या धेरै समयअगि नै लोप भएका छन्; सूर्यमुनि जे गरिन्छ त्यसमा, फेरि तिनीहरूको कहिल्यै केही भाग हुनेछैन।

[7] आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्‍वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ।

[8] सधैँ सेता वस्त्र लगाऊ; र सधैँ आफ्नो शिरमा तेल लगाऊ।

[9] आफ्नी पत्नीसँग जीवनको आनन्द लेओ, जसलाई तिमी प्रेम गर्छौ, यस अर्थहीन जीवनका सारा दिनहरू, जुन परमेश्‍वरले तिमीलाई सूर्यमुनि दिनुभएको छ—सबै अर्थहीन दिनहरूमा आनन्द भोग गर। किनकि यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रमको भाग त्यही हो।

[10] तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ।

[11] मैले सूर्यमुनि अर्को एउटा कुरा देखेको छु: न त दौड चाँडो दगुर्नेको निम्ति हुन्छ, अथवा न त युद्ध बलियाका निम्ति नै हुन्छ, न बुद्धिमान्‌ले भोजन पाउँछ; न त प्रतिभाशालीले धनसम्पत्ति; वा ज्ञानी पुरुषले कृपादृष्‍टि नै पाउँछ; तर ती सबै जनाले समय र मौका पाउँदछन्।

[12] यसबाहेक कुनै पनि मानिसले आफ्नो समय कहिले आउनेछ भनी जान्दैन; माछा निर्दयी जालमा परेझैँ, अथवा चराचुरुङ्गीहरू पासोमा फसेझैँ, मानिसहरू दुर्दशाको पासोमा पर्दछन्; ती दुर्दशा नचिताएका बेलामा आइलाग्दछन्।

[13] मैले सूर्यमुनि अर्को बुद्धिको उदाहरण पाएँ, जसले ममाथि ठूलो प्रभाव पार्‍यो:

[14] थोरै जनसंख्या भएको एउटा सानो सहर थियो; अनि एउटा शक्तिशाली राजाले त्यसलाई आक्रमण गर्न आए। तिनले चारैपट्टिबाट त्यसलाई घेरे, र त्यसका विरुद्धमा चारैतिर घेराबन्दी पर्खाल बनाए।

[15] अनि त्यसै सहरमा एक जना गरिब, तर बुद्धिमान् मानिस बास गर्थ्यो; र त्यसले आफ्नो बुद्धिले त्यस सहरलाई बचायो। तर त्यस गरिबलाई कसैले स्मरण गरेनन्।

[16] त्यसैले मैले भनेँ, “बुद्धि बलभन्दा असल हो।” तर गरिबको बुद्धिको अवहेलना हुन्छ, त्यसपछि त्यसका कुरामा कसैले ध्यान दिँदैनन्।

[17] मूर्ख राजाको उच्‍च सोरभन्दा बुद्धिमान्‌का शान्त वचनमा धेरै ध्यान दिनुपर्छ।

[18] युद्धका हातहतियारभन्दा बुद्धि उत्तम हो; तर एक जना पापीले धेरै असल कामलाई नाश पार्दछ।

उपदेशक — Chapters